अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०७६, १५ : ४७
अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द

चितवन । अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले ३ दिन विद्यालय बन्द गरेको छ । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गरी असार २ गतेबाट ४ गतेसम्म विद्यालय बन्द गरेको हो ।

केही दिनदेखि अत्याधिक गर्मी भई पठनपाठनमा समस्या आएपछि पठनपाठन हुने कुल दिनमा नघट्ने गरी विद्यालय बन्द गरेको हो । गर्मी बढेर गरिएको तीन दिन बिदा वर्से बिदाबाट कट्टा हुने महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । 

गैंडाकोट नगरपालिकाले पनि अत्याधिक गर्मी बढेका कारण असार २ गतेबाट ३ दिनको लागि विद्यालय बन्द गरेको छ । नगरपालिकाले सूचना जारी गरी वर्से बिदाबाट कट्टा हुने गरी गर्मीका कारण विद्यालय बन्द गरेको जनाएको छ । नगर शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईंले गर्मीका कारण विद्यार्थीहरु नै बिरामी पर्न थालेपछि तीन दिन बिद्यालयहरु बन्द गरेको बताउनुभयो ।

यस्तै राप्ती नगरपालिकाको शिक्षा समितिको बैठकले पनि अत्याधिक गर्मीका कारण तीन दिनसम्म विद्यालय बन्द गरेको जनाएको छ । शिक्षा विकास समन्वय समितिका प्रमुख भूमिलाल सुवेदीले चितवनका केही स्थानीय तहले अत्याधिक गर्मीका कारण ३ दिनसम्म विद्यालय बन्द गरेका केही स्थानीय तहले बन्द गर्नको लागि छलफल गरिरहेका जानकारी दिनुभयो । चितवनको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ । 

प्रतिक्रिया दिनुहोस