‘लेजर स्पिड गन’बाट  पाँच दिनमा ४९२ माथि कारबाही : अभियान सुरु गरेपछि ठूला र साना दुर्घटना घटे

पत्रपत्रिकाबाट

आइतबार, ०१ असार २०७६, ०८ : ३९
‘लेजर स्पिड गन’बाट  पाँच दिनमा ४९२ माथि कारबाही : अभियान सुरु गरेपछि ठूला र साना दुर्घटना घटे

काठमाडौँ । ट्राफिक प्रहरीले ‘लेजर स्पिड गन’ प्रयोगमा ल्याएपछि कोटेश्वर–कलंकी सडकखण्डमा ४९२ सवारीसाधनलाई कारबाही गरेको छ । कारबाहीमा पर्ने अधिकांश मोटरसाइकलचालक छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २८ जेठदेखि कोटेश्वर–कलंकी सडकखण्डमा ‘लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्दै आएको थियो । ट्राफिक प्रहरीले तीन सिफ्टमा ‘लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ ।

महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले ‘लेजर स्पिड गन’बाट पाँच दिनमा झन्डै पाँच सयजनालाई कारबाही गरिएको बताए । ‘लेजर स्पिड गन लागू गरिएयता झन्डै पाँच सयलाई कारबाही भएको छ । धेरैजसो कोटेश्वर–कलंकी सडकमा कारबाहीमा परेका छन्, यो क्रम अब निरन्तर चल्नेछ,’ उनले भने ।

निर्धारित गतिभन्दा बढी चलाउनेलाई एक हजार जरिवाना
ट्राफिक महाशाखाले नियमअनुसार तोकिएभन्दा तीव्र गतिका सवारीसाधनलाई एक हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ । तर, पहिलो चरणमा प्रहरीले पाँच सय रुपैयाँ मात्रै जरिवाना गर्दै आएको छ । महाशाखाले सडकको मुख्य लेनमा प्रतिघन्टा ५० किमि र सर्भिस ट्र्याकमा प्रतिघन्टा २० किमि गति निर्धारण गरेको छ । ‘पहिलो चरण भएकाले हामीले कारबाहीस्वरूप पाँच सय रुपैयाँ मात्रै लिएका छौँ । नियमअनुसार भने एक हजार रुपैयाँ लिनुपर्ने व्यवस्था छ । अब कारबाहीलाई अझ कडा पारिनेछ,’ महाशाखा एसएसपी प्रमुख पन्तले भने ।

महाशाखाका अनुसार ‘लेजर स्पिड गन’ सुरु भएयता कोटेश्वर–कलंकी सडकमा ठूला दुर्घटना भएका छैनन् । साना दुर्घटना घटेका छन् भने दुर्घटनामा मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । ट्राफिक प्रहरीले २१ जेठबाट लेजर स्पिड गन अभियान सुरु गरेको हो । 

२७ जेठसम्म चेतना जगाउने र २८ जेठबाट कारबाही सुरु गरेको हो । ‘लेजर स्पिड गन सुरु भएपछि ठूला दुर्घटना भएका छैनन् । साना पनि कम भएका छन् । दुर्घटनामा मृत्यु हुनेको संख्या त झन् शून्यमा झरेको छ । यसले प्रहरीको अभियान सफल भएको देखाएको छ,’ एसएसपी पन्तले भने । महाशाखाको तथ्यांकअनुसार गएको ११ महिनायता विस्तारित कलंकी–कोटेश्वर सडकखण्डमा भएको सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका थिए । जसमा तीनजना गम्भीर र २२६ जना समान्य घाइते भएका छन् । सडकमा १७० सवारी दुर्घटना भए, जसमा ३१० सवारीसाधन संलग्न थिए । यो समाचार आजको नया पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस