काठमाडौँ । निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन् । विद्यालय बन्दको विरोध गर्ने निजी विद्यालयको छाता संगठन प्याब्सन तथा एनप्याब्सन आफैँले भने कुनै आचारसंहिता निर्माण नगरी बिदा दिँदै आएका छन् । उनीहरूले काठमाडौं एनप्याब्सनका सहसचिव तथा गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष बालकुमार गुरुङको निधनमा १ असार आइतबारका दिन काठमाडौंका सबै निजी विद्यालय बिदा गर्ने निर्णय गरेका छन् । आफूखुसी बिदा दिने प्याब्सन र एनप्याब्सनको निर्णयको अभिभावक महासंघले विरोध गरेको छ ।
जोरपाटीको कान्तिपुर एकेडेमीका सञ्चालक गुरुङको ३० असारमा निधन भएको थियो । काठमाडौँ प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन अध्यक्ष विष्णुप्रसाद पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै आइतबार अन्य शिक्षालयहरूमा समेत शोक विदा दिन आव्हान गरेका छन् ।
तर, उनको निधनप्रति विद्यालय बन्द गरेर भन्दा अन्य तरिकाले शोक व्यक्त गरेको भए राम्रो हुने प्रतिक्रिया कतिपयले दिएका छन् । काठमाडौंका एक हजार भन्दा बढी निजी विद्यालयमा करिब दुई लाख विद्यार्थी अध्ययनरत छन् ।
प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले शोक मनाउन दिएको बिदा आन्तरिक बिदामा मिलाउने बताए । निजी विद्यालयमा बिदाको विषयमा एकरुपता ल्याउन आचारसंहिता बनाउने विषयमा छलफल भएको बताए । शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले शोक मनाउने चलन रहेपनि बिदा दिएको पढाइको दिनको क्षतिपूर्ति हुनुपर्ने बताए । संस्थागत निर्णय गरेर बिदा दिनु नयाँ अभ्यास नभएको बताए ।
बिदाको निर्णय गर्नु अवैधानिक : अभिभावक महासंघ
राष्ट्रिय अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारीले निधन भएका व्यक्तिको नाममा बिदा दिने प्याब्सन र एनप्याब्सनको निर्णय अवैधानिक भएको बताए । शोक मनाउन सकिने धेरै तरिका भए पनि विद्यालय मालिकहरूको संगठनले जे गरे पनि हुन्छ भन्ने मानसिकताबाट बिदाको निर्णय गरेको बताए । ‘सरकारले दिएको सार्वजनिक बिदाका दिनमा स्कुल चलाउनेले आफूखुसी बिदा दिनुहुँदैन,’ उनले भने, ‘कुनै व्यक्तिको निधन हुनु दुखद हो, तर विद्यालय बन्द गर्नुको सट्टा मौनधारण गरेर, उनको असल कृति तथा कर्मबारे चर्चा गरेर बाँकी समय पढाउनुपथ्र्यो ।’ यो समाचार आजको नया पत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०१ असार २०७६, ०६ : ४५
लेखकबाट थप