Safal Khabar - कहिलेकाहीँ सगरमाथा पनि रिसायो कि जस्तो लाग्छ  !
बुधबार, २७ कार्तिक २०७६ (Wednesday, 13 November, 2019)
कामीरिताको सगरमाथा आरोहण अनुभव

कहिलेकाहीँ सगरमाथा पनि रिसायो कि जस्तो लाग्छ  !
शनिबार, ३२ जेठ २०७६, १७ : १९
कहिलेकाहीँ सगरमाथा पनि रिसायो कि जस्तो लाग्छ  !

२४ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीतिमान बनाएका कामीरिता शेर्पा केही दिनअघि देशकै गर्मीको सहरमध्ये एक प्रमुख सहर नारायणगढ आउनुभएको थियो । 
चितवनका विभिन्न संघसंस्थाले उहाँलाई सम्मान गरेका थिए । कामीरिता अर्को साल २५ पटक चढेर आरोहणको कामबाट सन्यास लिने सोचमा हुनुभएको छ, तर सोच परिवर्नत पनि हुन सक्छ । उहाँ चितवन आउनुभएको क्रममा उहाँसँग सगरमाथा र उहाँको आरोहणको भोगाइसँग गरिएको कुराकानी उहाँकै शव्दमा :

म खुशी छु । मेरो शेर्पा समुदाय र नेपालको नाम राख्न पाउँदा निकै खुशी छु । मलाई त खुशी लागिराखेको छ । आफ्नो रेकर्डलाई आफैंले ब्रेक गर्ने भन्ने मेरो उद्देश्य होइन । अझै नेपालमा यस्ता व्यक्तिहरु पाउँदो रहेछ भन्ने विश्वलाई थाहा होस् भनेर हिमाल चढेको हुँ । एकपटक अझै आरोहण गर्ने सोच बनाएको छु । त्यसपछि सन्यास लिन्छु होला । २५ पटक सगरमाथा आरोहण गरेर आफ्नो भोगाइको एउटा पुस्तक निकाल्ने सोच बनाएको छु । २५ पटक आरोहण गरेपछि सन्यास लिने सोच बनाएको छु । हेरौँ, के कस्तो हुन्छ, समयले मान्छेलाई कहाँकहाँ लैजान्छ । 

२४ औं पटक आरोहण गर्दा पहिला त मेरो टोलीका आरोहीहरू सम्झिएँ । उनीहरूको अनुहारको खुसी सम्झिएँ । म आफ्नो जिम्मेवारीमा अडिग मान्छे हो । विदेशीलाई कसरी सफल आरोहण गराएर फर्काउने भन्ने ध्येय मात्र हुन्छ । विदेशीले नेपाल भनेर नै राम्ररी नचिन्ने रहेछन् । नेपाल चिनाउनलाई पनि सगरमाथा र शेर्पाको नाम जोड्नुपर्छ । कि त हामी शेर्पा हो, कि त हामी सगरमाथाको देशबाट आएको हो भन्नुपर्छ । एकजना विदेशीलाई सगरमाथाको चुचुरोमा लैजान सकेँ भने अर्कोपटक आउँदा उसले अरू ५–१० जना साथी लिएर आउँछ । त्यसले हामीलाई फाइदा हुने हो । रिक्सा ड्राइभर, ट्याक्सी ड्राइभर, होटेल, ट्राभल एजेन्सीलगायतले लाभ लिन्छन् । 
म के भन्न चाहन्छु भने सगरमाथाको देवीलाई हामी मिहोलोम्सोहङमा भन्छौँ । त्यो देवीले एकदम साथ दिएको र भाग्यमानी भएकोले पनि म यतिको पटक सगरमाथा चढ्न सफल भएको हुँ । यत्रो पटक चढ्दा पनि मलाई सानो चोटपटकसमेत नलागेकोमा मिहोलोम्सोहङमा देवीको साथ छ । त्यतिमात्र होइन । मलाई सबैले दाजुभाई दिदी बहिनीले दिनुभएको आशीवार्दका कारण पनि यो सम्भव भएको हो । सबैलाई धन्यवाद दिन चाहन्छु ।

म दुई वर्षदेखि ‘सेभेन समिट ट्रेक्स’ कम्पनीमा काम गर्छु । यहाँ मलाई वर्षको ३० हजार डलर तलब दिइएको छ । यो कम्पनीले मलाई राम्रो तलब दिएर काम गर्न अनुरोध ग¥यो । म यो कम्पनीको लिडर गाइड हुँ । यसअघि अर्कै कम्पनीमा थिएँ । अहिलेको कम्पनीले राम्रो पैसा र सम्मान दिएको छ ।

सरकारले भने केही गरेको छैन । खासमा सरकारलाई मजस्ता जोखिम मोल्नेको खासै चासो छैन । म मुख ताकेर पनि बसेको छैन । सरकारले सगरमाथा आरोहण गर्नेलाई खासै हेरेको छैन । कुनै सहयोग गरेको छैन । सरकारले आरोहीलाई हेर्नुपर्छ जस्तो लाग्छ, तर सरकार मतलव गर्दैन । सगरमाथालाई शेर्पाले ‘हाम्रो हिमाल हो, हामीले जोगाउनुपर्छ’। काठमाडौंमा कसैले पनि ‘सगरमाथाले गर्दा नै हामी सबै बाँचेका छौँ’ भन्ने सोच्दैनन् । सरकारले त झनै सोच्दैन । 

पहिलो पटक पुग्ने र धेरैचोटी पुग्नेका अनुभव फरक÷फरक होलान, मेरा पनि केही त्यस्ता अनुभव छन्, जसले मलाई हरेक वर्ष शिखरको बाटोमा बोलाइरहन्छ । हिउसँग मेरो राम्रै मित्रता छ, तर पछिल्ला वर्षमा हिउँमा कालो कालो धब्बा देखिन थालेको छ, कञ्चन मेरा हिमालको हिउँमा कसले कालो थोपरिदिएको छ, मलाई पटक्कै चित्त बुझ्दैन । सगरमाथा फोहोर हुँदै गएको छ, हिउँ कम छ, ज्यादै चित्त दुख्छ । फोहोरका कारण कहिलेकाहीँ सगरमाथा पनि रिसाउँछ कि जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस