काठमाडौँ । निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएपछि जनस्तरबाट सरकार निकै आलोचित भयो । कतिपय सांसदले पनि विरोध जनाए । ६ करोडको तरंग सेलाउन नपाउँदै अब सांसदले कम्तीमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ । संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ । संसद्कै साढे ६ करोड विकास खर्चबाट संसदीय समिति सभापतिहरूका लागि ११ वटा गाडी पनि खरिद गरिँदै छन् ।
तलब, भत्ता र अन्य सुविधा गरी एक सांसदको मासिक कमाइ कम्तीमा ८० हजार पुग्छ । प्रतिनिधिसभाका सभामुखरउपसभामुख, राष्ट्रिय सभाका अध्यक्षरउपाध्यक्ष, विभिन्न संसदीय समिति सभापति र मन्त्री पदमा आसीनको कमाइ झन् बढी हुन्छ । मासिक ८० हजारभन्दा बढी कमाउने जनप्रतिनिधिले एउटा ल्यापटप आफैँ किन्न नसक्ने भन्ने प्रश्न नै रहँदैन । जब कि बजारमा ३० हजारदेखिका ल्यापटप पाइन्छन् ।
तर, संसद् सचिवालय प्रत्येक सांसदका लागि कम्तीमा एक–एक लाख पर्ने ल्यापटप खरिदमा लागेको छ । संसद्को व्यवस्थापन बोर्डले ल्यापटप खरिद निर्णय गरेपछि १९ जेठमा सचिवालयले टेन्डर आह्वानको सूचना प्रकाशित गरिसकेको छ । बोर्डमा सभामुखको अध्यक्षतामा राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, उपाध्यक्षसहित संघीय संसद् सचिवालयका महासचिव र सचिव सदस्य रहन्छन् । चालू आर्थिक वर्षमा पुँजीगततर्फ छुट्याएको बजेटबाट खर्च हुन नसकेको साढे तीन करोडले सांसदलाई ल्यापटप किन्न लागेको संसद् सचिवालयले बतायो ।
‘अर्थ मन्त्रालयको स्वीकृति लिएर १९ जेठमा टेन्डर आह्वानको सूचना प्रकाशित गरिएको छ र १९ असारपछि टेन्डर खुला गरेर कम्पनी छनोट गरी खरिद गरिन्छ । असार मसान्तसम्म ल्यापटप आइसक्छ,’ सचिवालय प्रवक्ता डा। रोजनाथ पाण्डेले भने । प्रतिनिधिसभा र राष्ट्रिय सभामा अहिले कुल सांसद सिट तीन सय ३४ छ ।
२९ पूर्वसभासद्ले संसद्को ल्यापटप फिर्ता गरेनन्
संसद्को सदस्य छँदा लिएका भौतिक सुविधा कार्यकाल सकिएको सात दिनभित्र बुझाउनुपर्ने नियम छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा यो व्यवस्था छ । तर, दुई संविधानसभामा प्रतिनिधित्व गरेका २९ सभासद्ले अहिलेसम्म सुविधाको ल्यापटप फिर्ता गरेका छैनन् । त्यतिवेला संसद् सचिवालयले युएनडिपीको सहयोगमा चीनबाट ल्यापटप खरिद गरेको थियो । सचिवालयका अनुसार संविधानसभा छँदा अध्यक्ष तथा अन्य पदाधिकारी, दलका प्रमुख सचेतक र सचेतकसम्मलाई ल्यापटप बाँडिएको थियो । ‘पहिलो र दोस्रो संविधानसभाका कुल २९ पूर्वमाननीयले अझै ल्यापटप बुझाउनुभएको छैन । तर, नाम सार्वजनिक गर्न मिल्दैन,’ सचिवालय स्रोतले भन्यो ।
संसद्मा अहिले डेढ सय ल्यापटप उपसचिवसम्मले चलाउँछन्
संघीय संसद्मा हाल डेढ सयभन्दा बढी ल्यापटप छन् । ६५ वटा चालू अवस्थामा रहे पनि अधिकांश बिग्रिएको संसद् सचिवालय स्रोतले बतायो । जसमध्ये सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षले मात्रै चारवटा ल्यापटप चलाएका छन् । बाँकी सबै संसद्का सचिवदेखि उपसचिवसम्मले प्रयोग गर्दै आएका छन् । ‘६५ वटाजति ल्यापटप सञ्चालनमा छन् । अरू बिग्रिएका समेत गर्दा डेढ सयवटा जति होलान्,’ सचिवालय स्रोत भन्छ, ‘हाल चारवटा ल्यापटप संसद्का पदाधिकारीले चलाएका छन् । अरू सचिवदेखि उपसचिवसम्मले चलाएका छन् ।’ यो समाचार आजको नया पत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ३२ जेठ २०७६, ०६ : ४०
लेखकबाट थप