सुरक्षागार्डले बनाउँछन् लालपुर्जा

पत्रपत्रिकाबाट

बुधबार, २९ जेठ २०७६, ०८ : ०५
सुरक्षागार्डले बनाउँछन् लालपुर्जा

काभ्रे । कर्मचारी अभावका कारण देखाउँदै जिल्ला मालपोत कार्यालय काभ्रेमा सुरक्षागार्डले लालपुर्जा बनाउने गरेका छन् । कार्यालय सहयोगीले भने मोठ स्रेस्ता भिडाउँछन् । सेवाग्राहीबाट ‘खाजा खर्च’ पाउने भएकाले उनीहरूबीच कामका लागि तँछाडमछाडसमेत हुने गरेको छ । 
प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइरालाले ‘सिद्धान्त र विधि’ ले गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भए पनि कर्मचारी अभावका कारण बाध्य भएको तर्क गरे ।

‘काम गराउन त नमिल्ने हो तर सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर परिचालन गरेका हौँ,’ उनले भने, ‘उनीहरूले काम पनि जान्दछन् ।’ ४५ जनाको दरबन्दी भएको मालपोत कार्यालयमा २९ जना मात्रै कार्यरत छन् । तल्लो तहका कर्मचारीले सेवाग्राहीलाई सहयोग गर्ने नाममा उनीहरूबाट ‘लाभ’ लिने गरेका छन् ।

लेखापढी व्यवसायीको पहुँच प्रत्येक कागजपत्र र फाँटमा हुने गरेको छ । कर्मचारीसँग समेत आर्थिक लेनदेन हुने भएकाले लेखनदासले लगेका फाइललाई कर्मचारीले प्राथमिकता दिने गरेको स्रोतले जनाएको छ ।

कर्मचारी अभावका कारण देखाउँदै मालपोत कार्यालय काभ्रेले राजस्व दाखिलामा ढिलाइ गरेको छ । काजमा रहेका लेखापाल चतुर्भुज तिमल्सिना शुक्रबार कोष तथा लेखा नियन्त्रण कार्यालय काभ्रेमा फिर्ता भएपछि आइतबार संकलन भएको ३४ लाख ८९ हजार ५० रुपैयाँ बैंक दाखिला भएन । आइतबार र सोमबार गरी जम्मा भएको १ करोड २६ लाख ४४ हजार २ सय मंगलबार एकमुष्ट जम्मा भएको प्रमुख मालपोत अधिकृत कोइरालाले जानकारी दिए ।

मालपोत कार्यालय परिसरमै राष्ट्रिय वाणिज्य बैंकको काउन्टर राख्न २०७१ सालमा तयारी भए पनि काम भएको छैन । ‘हामीले बैंकलाई अनुरोध गरेका छौं, बैंकले पनि राष्ट्र बैंक र सम्बन्धित निकायबाट स्वीकृति लिँदैछु भन्ने जवाफ दिएको छ,’ प्रमुख मालपोत अधिकृत कोइरालाले भने, ‘तत्काल राख्न पहल गर्छौं ।’ भौचरमार्फत कारोबार गर्दा कर्मचारीले तोकिएकोभन्दा बढी शुल्क लाभग्राहीसँग लिन नमिल्ने भएकाले बैंकको काउन्टर राख्न आलटाल हुँदै आएको छ ।

सडक बिक्रीमा छानबिन
कालोपत्रे भएको मूल बाटो बिक्री प्रकरणमा मालपोत कार्यालय र नगरपालिकाका कर्मचारीको पनि संलग्नता देखिएपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले छानबिन थालेको छ । शाखा अधिकृत टीकाराम निरौला र एकनारायण अर्यालको टोलीले जिल्ला मालपोत कार्यालय आएर कागजपत्र अध्ययन गरेको हो । ‘सम्बन्धितसँग बुझेर कागजपत्र अध्ययन गरेका छौँ, त्यहीअनुसार विभागमा जानकारी गराउछौँ,’ अधिकृत निरौलाले भने ।

गत साता लगत कट्टा नभएकै आधारमा कालोपत्रे भएको काठमाडौं विश्वविद्यालय जाने मूल सडक जग्गा दलाली गर्ने एक समूहले बिक्री गरेको थियो । यसैबीच, मालपोत कार्यालय काभ्रेका ८ कर्मचारी भूमि व्यवस्थापन तथा अभिलेख विभागको छडेमा परेका छन् । कार्यालय समयमा भन्दा ३० मिनेट ढिलासम्म पनि उनीहरू उपस्थित नभएका हुन् ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस