नेपाली कार्गो रेल कोलकता र हल्दियासम्म पुग्ने

पत्रपत्रिकाबाट

मंगलबार, २८ जेठ २०७६, ०६ : ५५
नेपाली कार्गो रेल कोलकता र हल्दियासम्म पुग्ने

काठमाडौँ । अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाली रेल कोलकाता÷हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति दिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकबारे सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ ।” उक्त बैठक जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा बसेको थियो । 
नेपाल–भारत रेलसेवा सम्झौताको म्याद सम्झौताको धारा १।४ अनुसार स्वतः पाँच वर्षका लागि नवीकरण भएको जानकारी समेत सचिव अधिकारीले जानकारी दिनुभयो । 
बैठकमाबारे जानकारी दिँदै सचिव अधिकारीले तेस्रो मुलुकबाट पारवहन ढुवानीका लागि भारतका धाम्रा र मुन्द्रा पोर्ट नेपाल–भारत पारवहन सन्धिमा थप भएको बताउनुभयो । नेपाल–भारत पारवहन सन्धिमा थप भएसँगै रेलसेवा सम्झौतामा समेत ती पोर्टहरु थप गर्ने सहमति भएको जानकारी उहाँले दिनुभयो । त्यसैगरी, रक्सौलको सुख्खा बन्दरगहासम्म विद्युतीय रेलवे लाइन विस्तार गर्नका लागि समेत भारत सहमत भएको हो । 
उहाँका अनुसार, पारवहन सन्धिमा सहमति भएसँगै विराटनगर र भैरहवा नाकाबाट समेत रेलमार्फत बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने र विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था÷इनर्वा–जयनगर रुटमा रेल सेवा सञ्चालनमा आएपछि उक्त रुटहरुमा कार्गो ढुवानी गर्न पाउने गरी नेपाल–भारत रेल सेवा सम्झौतामा थप गरिने सहमति भएको हो ।
त्यसैगरी, नेपाल–भारत रेल सेवा सम्झौतामा संशोधनका लागि नेपालका तर्फबाट १८ अप्रिल २०१८ मा प्रस्ताव गरिएको ‘लेटर अफ एक्सचेञ्ज’ सहित बैठकमा छलफल भएका विषयहरु समेत समेटी पारवहन र ढुवानी सहज बनाउन नेपालका तर्फबाट ‘लेटर अफ एक्सचेञ्ज’ को मस्यौदा पठाउने र उक्त मस्यौदा चाँडो टुङ्ग्याई रेल सेवा सम्झौतामा संशोधन गर्न भारतीय पक्षबाट प्रतिबद्धता प्राप्त भएको जानकारी समेत सचिव अधिकारीले दिनुभयो ।
भारतीय रेल मन्त्रालयबाट प्राप्त अन्य आधिकारिक कार्गो रेल सञ्चालकहरुलाई समेत नेपाली कार्गो ढुवानी गर्न अनुमति दिन नेपालले गरेको प्रस्तावलाई अनुमति दिने सम्बन्धमा सरोकारवाला पक्षहरुसँग छलफल गर्ने भारतीय पक्षले सहमति जनाएको हो ।
त्यसैगरी, नेपाली बैङ्किङ च्यानलमार्फत रेल भाडा ढुवानी गर्ने, डिटेन्सन÷ड्युमरेज दस्तुर न्यून गर्ने, आधिकारिक कार्गो रेल सञ्चालकको दायित्व किटान गर्ने विषयमा छलफल भई उक्त विषयहरु समाधान हुने विषयमा भारतीय पक्षद्वारा आश्वस्त पारिएको जानकारी उहाँले दिनुभयो ।
तेस्रो मुलुकसँग आयात÷निर्यात गर्नका लागि नेपाल र भारतका सुख्खा बन्दरगाहबीच रेलमार्फत ढुवानी गर्न नेपाली पक्षले गरेको प्रस्तावमा नेपाल–भारत पारवहन सन्धिमा आवश्यक संशोधन भएमा रेल सेवा सम्झौतामा यस्तो प्रावधान राख्न भारतीय पक्ष सहमत भएको हो ।
रेल सेवा सम्झौताको चौथो बैठक ६ महिनाभित्र नेपालमा गर्ने र बैठकको मिति दुई पक्षको अनुकूलतामा कूटनीतिक माध्यमबाट तय गरिने सहमति भएको जानकारी सचिव अधिकारीले दिनुभयो । 
बैठकमा नेपाली वार्ता टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतीय वार्ता टोलीको नेतृत्व भारत सरकारको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले गर्नु भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस