भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्ने देखिएकाले केही प्रतिक्रियावादी तत्वहरू अत्ताल्लिएको बताउनुभएको छ । उहाँले केही तत्वहरू जनतालाई भड्काउने र अल्मल्याउने काम गर्दैछन् र त्यस्ता तत्वहरू सफल नहुने समेत उहाँले स्पष्ट पार्नुभयो ।
भक्तपुरको चारवटै नगरपालिकामा शुक्रबार एकै पटक प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकारले स्थानीय स्तरमा नै युवालाई रोजगार दिनका लागि ल्याएको यस कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिका वडा नं। ५ स्थित सुवर्णचोकदेखि तीनधारा जाने सडक निर्माण कार्यको प्रारम्भ पनि गर्नुभयो ।
“पछिल्लो समयमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् धेरै बेरोजगार युवालाई स्थानीय स्तरमा नै रोजगारीको सिर्जना हुँदैछ” प्रधानमन्त्री ओलीले थप्नुभयो “ विदेशमा भौँतारिएका युवालाई स्वदेशमा नै रोजगार दिने काममा सरकार लागि परेको छ, सरकारले बेरोजगार समस्यालाई हेरेर बसेको छैन ।”
उहाँले २०७२ सालको भूकम्पछि आफ्नो पहलमा पुनःनिर्माण अभियान सञ्चालन गरिएको चर्चा गर्दै भूकम्पबाट विस्थापित भएका पीडितलाई आवास निर्माण गरी हस्तान्तरण गरिएको स्मरण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले थप्नुभयो, “सरकारले हरेक दिन नयाँ नयाँ कार्यक्रम र योजना ल्याएको छ यस्ता योजना सार्थक बन्दै गएको छन् ।”
नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएकाले अब नेपाल गरिब बन्न नसक्ने बताउँदै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अब युवालाई स्वदेशमै रोजगारी सिर्जना हुने बाटो खुलेको छ भन्नुभयो ।
बाटो बिराएका र हिंसा चाहानेहरू पुनः नेपाललाई अन्धाकारतर्फ लैजान खोजकोमा त्यसप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब त्यस्ता तत्वहरू कहिल्यै पनि सफल नहुने बताउनुभयो ।
“देश दैनिक विकासतर्फ अगाडि बढिरहेका बेला केही व्यक्तिहरू फरि पनि राणा शासनको कल्पना गरी नेपाललाई गरिबी बनाएर राजतन्त्र फर्काउने प्रयास गर्दैछन्” उहाँले थप्नुभयो “जन्मदेखि नै शासक हुनुपर्छ भन्ने मान्यताको पछाडि आफूलाई बुद्धिजीवी भन्ने व्यक्तिहरू नै लागि रहेका छन्,त्यो सम्भव छैन ।” अब नेपाल निरक्षर र गरिबीको देश भएर रहन नसक्ने भन्दै प्रधानमन्त्री रोजागर कार्यक्रमले देश र जनतालाई समृद्धितर्फ लैजाने स्पष्ट गर्नुभयो ।
स्थानीय स्त्तरमा नै रोजगारी दिनका लागि काठमाडौँ महानगरपालिकाले हालै ५४० जना युवालाई तालिम दिएर नयाँ नयाँ योजना ल्याइरहेको चर्चा गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम यस्तै कार्यक्रमको उदाहरण भएको ओलीको भनाइ छ । नेपाललाई सभ्य र विकसित हामीले नै गर्नुपर्ने भन्दै उहाँले यस्ता कार्यमा सरकार दैनिक सफल बन्दै गएको दाबी गर्नुभयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले वार्षिक पाँच लाख युवालाई रोजगारी दिने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको भन्दै यस कार्यमा सरकार सफल हुने बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् ७५३ वटै स्थानीय तहमा बेरोजगारहरूको सूचीकृत भएको र अब स्थानीय तहमा हुने विकास निर्माण लगायतका काममा सूचीकृत भएका व्यक्तिहरुले नै काम पाउने उहाँले बताउनुभयो ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको संयोजकत्वमा भएको कार्यक्रममा सांसद महेश बस्नेत, प्रदेश सभा सदस्य रजनी जोन्छे लगायतले प्रधानमन्त्री रोजगार कार्यक्रमले युवामा उत्साह छाएको बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत भक्तपुरको चारवटा नगरपालिकामा गरी एक हजार छ सय बेरोजगार युवा सूचीकृत भएका छन ।
चारवटा नगरपालिकामा गरी प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा दुई करोड ८६ लाख रूपियाँ सरकारले प्रदान गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २५ जेठ २०७६, ०८ : ४२
लेखकबाट थप