काठमाडौँ । अब सवारीसाधन दुर्घटनाबाट मृत्यु भएमा पीडित परिवारले बिमा कम्पनीबाट अधिकतम २८ लाख रुपैयाँसम्म पाउने भएका छन् । यातायात व्यवस्था विभागको अनुरोधमा बिमा समितिले मोटर बिमाको बिमांक रकम ८ लाखबाट बढाएर २८ लाख रुपैयाँसम्म बनाउने तयारी गरेको छ । विभागले मोटर बिमा योजनामा मेरुदण्ड र टाउकोमा लागेको चोटको पनि रक्षावरण गर्न समितिलाई अनुरोध गरेको छ ।
सरकारले यातायात समितिहरूको खारेजी गरेपछि व्यवसायीलाई थप सुरक्षित बनाउन बिमांक रकम बढाउने तयारी गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयपछि विभागले मोटर बिमालाई संशोधन गरी बिमांक रकम बढाउन बिमा समितिलाई अनुरोध गरेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । ‘हामीले हाम्रो आवश्यकताअनुसार बिमांक रकम बढाउन बिमा समितिसँग अनुरोध गरेका छौँ । उहाँहरूले अन्य सरोकार निकायहरूसँग छलफल गरी बिमाशुल्कसहितको योजना बनाउँदै हुनुहुन्छ,’ उनले भने ।
मृत्युबापतको रकम बढाइँदै
यातायात विभागको अनुरोधमा बिमा समितिले मोटर बिमाअन्तर्गत मृत्यु वा उपचारबापतको रकम बढाउने भएको छ । समितिले मोटर दुर्घटनाका कारण मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ तोकिने तयारी गरेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘हामीले विभागको अनुरोधमा मोटर बिमालाई संशोधन गर्ने तयारी गरेका हौँ । बिमा कम्पनी र यातायात व्यवसायीसँग बसेर बिमाशुल्क दर कायम गरिनेछ,’ उनले भने । हालको व्यवस्थाअनुसार मोटर दुर्घटनाबाट मृत्यु भएमा ५ लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था छ । यसअघि विभागले मेडिकल उपचारबापत ६ लाख रुपैयाँ पुर्याउनुपर्ने प्रस्ताव गरेको थियो ।
२८ लाख पाउने अवस्था
बिमा समितिले संशोधन गर्न लागेको मोटर बिमा योजनामा सवारी दुर्घटनाका कारणले मेरुदण्ड र टाउकोमा चोट लागेमा उपचार गर्न १५ लाख रुपैयाँ तोकिएको छ । यो व्यवस्थाअनुसार दुर्घटनाका कारणले मानिसको मृत्यु भएमा अधिकतम २८ लाख रुपैयाँसम्म कम्पनीले भुक्तानी गर्नुपर्नेछ । दुर्घटनाबाट मृत्यु मात्रै भएको अवस्थामा कम्पनीले १० लाख रुपैयाँ भुक्तानी गर्नेछ । त्यस्तै, उपचार मात्रै गर्नुपरेमा ३ लाख रुपैयाँ भुक्तानी गर्नेछ । उपचार गर्दै जाँदा टाउकोमा र मेरुदण्ड चोट लागेको पाइएमा १५ लाख रुपैयाँ भुक्तानी गर्नेछ ।
दुर्घटना बिमाको बिमाशुल्क दर
बिमा समितिका अनुसार मोटरसाइकलबाहेकका सबै प्रकारका सवारीसाधन ९सरकारीबाहेक०को चालकको दुर्घटना बिमाशुल्क दर ७ सय रुपैयाँ छ । त्यस्तै, व्यावसायिक सवारीसाधन ९सकारीबाहेक०को परिचालक, सुरक्षाकर्मी, चेकर हेल्पर वा अन्य कर्मचारी दुर्घटना, निजी सवारीसाधनको यात्री तथा बिमित ९सरकारीबाहेक०को दुर्घटना र व्यावसायिक सवारीसाधन ९सरकारीबाहेक०को यात्रीप्रतिको दायित्व बिमाको बिमाशुल्क दर ७ सय रुपैयाँ तोकिएको छ । साथै, सरकारी मोटरसाइकलबाहेकका सबै सवारीसाधनको चालकको दुर्घटना बिमाशुल्क दर ६ सय रुपैयाँ तोकिएको छ । व्यावसायिक सवारीसाधन ९सरकारी०को परिचालक, सुरक्षाकर्मी, चेकर हेल्परको दुर्घटना, निजी सवारीसाधनको यात्री तथा बिमित ९सरकारी०को दुर्घटना बिमाशुल्क र व्यावसायिक सवारीसाधन ९सरकारी०को यात्रीप्रति दायित्व बिमाको बिमाशुल्क दर पनि ६ सय तोकिएको छ ।
नेपालमा मोटर बिमाको सुरुवात
नेपालमा सवारीसाधन दुर्घटना हुँदा बन्द र हडताल हुने क्रम बढ्दै गएपछि सरकारले मोटर बिमाको तेस्रो पक्ष बिमालाई अनिवार्य गरेको हो । ०६६ साल भदौ १ गतेदेखि तेस्रो पक्ष बिमा अनिवार्य गरिएको थियो । सो व्यवस्थाअनुसार बिमा गरिएको सवारीसाधनका कारण तेस्रो पक्षलाई क्षति पुगेको अवस्थामा कम्पनीले दाबी भुक्तानी गथ्र्यो । ०७३ साउन १ गतेदेखि लागू हुने गरी सरकारले यात्रु पक्षको बिमालाई पनि अनिवार्य गरेको छ । जसअनुसार व्यवसायीले सवारीसाधनको सिटका आधारमा बिमा गर्नुपर्नेछ । त्यस्तै, चालक र सहचालकको पनि बिमा गर्नुपर्नेछ ।
गाडीको स्वामित्वका आधारमा बिमाशुल्क
बिमा समितिले सवारीसाधनको स्वामित्वका आधारमा बिमाशुल्क फरक–फरक तोकिने तयारी गरेको छ । निजी, सरकारी र सार्वजनिक सवारीसाधनको दुर्घटनाको दरमा भिन्नता भएकाले बिमाशुल्क पनि फरक–फरक हुनुपर्ने समितिका कार्यकारी निर्देशक पौडेलले बताए । ‘निजी र सरकारी सवारीसाधनको तुलनामा सार्वजनिक सवारीसाधनको दुर्घटनाको दर बढी छ,’ उनले भने । बिमाशुल्क पनि सोहीअनुसार भएमा अझ व्यावहारिक हुने उनको दाबी छ । समितिका अनुसार बिमांक रकम बढेसँगै बिमाशुल्क दर पनि निश्चित रूपमा बढ्नेछ ।
हालको व्यवस्थाअनुसार सवारी दुर्घटना बिमांक रकम अधिकतम ५ लाख रुपैयाँ छ । दुर्घटनाबाट मृत्यु भएमा ५ लाख र उपचारबापत ३ लाख रुपैयाँ तोकिएको छ । निजी सवारीसाधनको हकमा तेस्रो पक्ष मानव क्षतिको अधिकतम दायित्व ८० लाख र सम्पत्ति क्षतिको अधिकतम दायित्व पनि ८० लाख रुपैयाँ रहेको छ । व्यावसायिक सवारीसाधनको हकमा पनि तेस्रो पक्ष मानव क्षतिको अधिकतम दायित्व ५० लाख रुपैयाँ र सम्पत्ति क्षतिको अधिकतम दायित्वमा पनि ५० लाख रुपैयाँ रहेको छ । मोटरसाइकल दुर्घटना भएको अवस्थामा मानव क्षति र सम्पत्ति क्षतिको अधिकतम २५–२५ लाख रुपैयाँ रहेको छ । यो समाचार आजको नया पत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २४ जेठ २०७६, ०८ : ४६
लेखकबाट थप