यस्तो छ बर्डफ्लुबाट जोगिँदै कुखुराको मासु खाने तरिका

शुक्रबार, २४ जेठ २०७६, ०७ : ३९
यस्तो छ बर्डफ्लुबाट जोगिँदै कुखुराको मासु खाने तरिका

काठमाडौँ । बर्डफ्लु रोग कुखुराबाट कुखुरामा सर्छ, तर सोझै मानिसमा सर्दैन । त्यसैले बर्डफ्लु संक्रमित क्षेत्रमा कुखुराको मासु खानै हुँदैन भनेर अत्तालिनु पर्दैन । यद्यपि, सजगता भने अपनाउनुपर्छ ।

–बर्डफ्लु मानिसमा हत्तपत्त सर्दैन । तर, सरेपछि मानिसको मृत्यु हुने सम्भावना बढी हुन्छ । एक तथ्यांकअनुसार बर्डफ्लु लागेको मानिसमा बाँच्ने सम्भावना ३५ प्रतिशत मात्र रहने देखिएको छ ।
–बर्डफ्लु रोग सन् २००० बाट तीव्र रूपमा फैलिन थालेको हो । त्यसयता ८ सय ६० मानिसमा यसको संक्रमण फैलिएको र चार सय ५४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । यो संख्या हेर्दा बर्डफ्लुबाट मानिसले ठूलो चिन्ता लिनुपर्ने देखिँदैन । अर्कातिर बर्डफ्लु परिवारको एक सदस्यलाई लाग्यो भनेर अरूलाई सर्दैन ।
–कुखुराको मासु खाँदा बर्डफ्लु सर्दैन । कखुराको काँचो मासु हातले चलाउँदा छालामा संक्रमण हुन्छ । त्यस्तो हातले नाक वा आसपास श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा भाइरस पुग्छ र रोग लाग्छ । 
–काँचो मासु खाइयो भने त्यसमा पनि भाइरस हुन सक्छ । भाइरस मुखमा रहेको (याल ग्रन्थी हुँदै फोक्सोमा पुगेर संक्रमण हुन सक्छ । तर, बर्डफ्लु लागेको कुखुरा पकाएर खाएमा कुनै रोग लाग्दैन ।
–बर्डफ्लुको भाइरस सबैभन्दा बढी कुखुराको सुलीमा हुन्छ । र, अन्डामा स्वाभाविक रूपमा सुलीको केही अंश हुन्छ । यस्तो अन्डा पकाउनुअघि फुटाउँदा विशेष ध्यान दिनुपर्छ । अन्डा फुटाएको हातले लगत्तै नाक समात्ने गरियो भने श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुगेर रोग लाग्न सक्छ । तर, पकाएको अन्डा खाँदा रोग लाग्दैन ।
–भान्सामा काम गर्नेले कुखुराको मासु नपाकुन्जेलसम्म नाकमा हात पुर्‍याउनुहुँदैन वा काँचो मासु समातेपछि राम्रोसँग हात पखाल्ने बानी बसाल्नुपर्छ । मासु पखालेको पानी जथाभावी फाल्नुहुँदैन । –नया पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस