Safal Khabar - वातावरण सन्तुलनमा ह्रास आउनुमा यस्ता छन् कारणहरु
शुक्रबार, ०१ कार्तिक २०७६ (Friday, 18 October, 2019)
आज विश्व वातावरण दिवस

वातावरण सन्तुलनमा ह्रास आउनुमा यस्ता छन् कारणहरु
बुधबार, २२ जेठ २०७६, १२ : २५
वातावरण सन्तुलनमा ह्रास आउनुमा यस्ता छन् कारणहरु

चितवन । वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने जिम्मेवारी पनि मानिसकै हो । जनसंख्या वृद्धि, सवारी साधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्यासले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ ।

विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भूक्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखा परी पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ ।
यस्तो किसिमको विकराल समस्याको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नु परको छ ।

यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको लागि चिन्ताको विषय बनेको छ । विश्वमा जनसंख्याको चाप गणितीय रूपमा वृद्धि भएको छ तर, जमिन भने दिनहुँ घट्दो रूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ ।

यी कारणले गर्दा ठूलाठूला महामारी र डरलाग्दा रोगहरूको उत्पत्ति भइराखेको छ । फोहोर मैलाको उचित र वैज्ञानिक रूपले विसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान छ । मानव समाजले विज्ञानको चरम सिमामा पुगेर उल्लेखनीय उपलब्धीहरू हासिल गरेको छ ।

सञ्चारको विकासले गर्दा आजभोली मानिसहरू विश्वलाई ग्लोबल भिलेज पनि भन्ने गर्दछन् । मानवले जति जति उन्नति गर्यो उति उति समस्या र संकटहरू आइलागेका छन् ।

एकातिर सफलता तथा उल्लेखनीय उपलब्धिहरू हासिल भएको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ ।

मानिसले अन्धो भएर एकपक्षीय रूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातिको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरू प्रदूषित भएका छन् ।

पृथ्वीको सिर्जना साढे चार अर्ब वर्ष अघि भए तापनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै बीस लाख वर्ष जति अघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यहि प्रकृति मै हुन्छ । त्यसैले एक अर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ ।

प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो  र, यसको सम्बन्ध प्रकृतिसँग अरूको भन्दा गहिरो र व्यापक छ । आजको २१औँ शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्या बनेको छ ।

यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ । तेश्रो विश्वका ८० प्रतिशत प्राणीहरू फोहोर वासस्थानमा जीवन बिताउन बाध्य छन् भने अर्कोतिर १ अर्ब ३० करोड प्राणीहरू वासविहीन एवं जटिल अस्वस्थामा छन् ।

बर्सेनि १० करोडभन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदूषित गराउँछ । धेरै राष्ट्रहरू कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषित सहरको रूपमा चिनिने कायरोमा प्रतिवर्ष पाँच प्रतिशत मानिसहरू बहिरा हुन पुग्दछन् ।

तसर्थ पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिने स्थिति ब्ल्याक होल, अम्लवर्षा, हिमाल पग्लन थाल्नुजस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तत्वहरूवारे अनुसन्धान हुन थाले ।

यी कुराहरूलाई मध्यनजर गरी सन् १९९२ जुन ५ मा ब्राजिलको रियोडी जेनेरोमा पृथ्वी शिखर सम्मेलन भयो । जसले मौसम परिवर्तनका कारक तत्वहरूको नियन्त्रण जैविक विविधताको संरक्षण र एजेन्डा २१ जस्ता महत्वपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि घोषणा गर्यो ।

वन्यजन्तुको अवैध चोरी शिकारी तथा व्यापार मौलाउँदै गएको भन्दै विश्वभर यस विषयमा चिन्ता बढ्न थालेको छ । यसबाट जैविक विविधता नै खतरामा परेको भन्दै वन्यजन्तुको अवैध चोरी सिकारीलाई न्यूनीकरण गर्न यस्तो कदम चालिएको हो । मानवीय क्रियाकलापका कारण वातारवरणमा परिरहेको असर न्युनीकरणका लागि चेतना जगाउन यो दिवस निकै महत्वपूर्ण अवसर हो ।

विश्व वातावरण दिवसका अवसरमा वातावरण मन्त्रालय सहित सरकोकारवाला अन्य संघसंस्थाहरूको सहभागितामा जनचेतनामुलक कार्यक्रमहरू गरिँदै आएको छ । वातावरणको महत्व झल्काउँदै जिल्ला­जिल्लामा चेतनामूलक याली पनि निकालिन्छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालमा सन् २००० देखि यो दिवस मनाउन थालिएको थियो ।

यसरी ५­१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्नेमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्राप्त भयो । त्यसै अनुरूप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो बर्ष अर्थात् ५ जुन १९७३ मा विश्वमा पहिलोपटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अंगिकार गरिएको थियो ।

विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमिन रूखविहीन भएका छन् । एउटा मनुष्यलाई प्राण वायुका लागि १२ वटा गोब्रे सल्लाका रूखहरूको आवश्यकता पर्दछ । त्यस्तै गरी, एक हुर्किएका सय वर्षका भोजपत्रले करिब आठ सय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्दछ ।

यस क्रममा एक स्वस्थ भोजपत्रका रूखले सात हजार जीवात्मालाई वासस्थान दिन्छ । त्यस्तै अनुसन्धानबाट थाहा भएको छ वायु मण्डलमा भएको करिब २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले स्वास क्रियामा प्रयोग गर्दछन् ।

एक व्यक्तिका लागि स्वास फेर्ने कार्यका लागि मात्र पनि ६ वटा रूखको जरूरत पर्दछ । एउटा स्वस्थ मानिस प्रतिमिनेट १२ देखि २० पटक सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महत्व खाएको भोजनको मात्राभन्दा झण्डै २० गुणा बढ्ता हुन्छ ।

एक वृक्षले सरदर २ दशमलव ७ केजी प्राणवायु वायुमण्डलमा फ्याँक्छ । तर प्रतिवर्ष बिरूवाबाट ८० लाखदेखि २ करोड हेक्टर जंगलको विनाश भएको हुने गरेको छ । प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वर भूमि मरूभूमीकरण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस