अख्तियारद्वारा तीन इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दा दायर

पत्रपत्रिकाबाट

बुधबार, २२ जेठ २०७६, ०८ : ०४
अख्तियारद्वारा तीन इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । खेलकुद मैदान निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन इन्जिनियरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कास्कीको मादी गाउँपालिका–६ स्थित शद्धि प्राविमा खेलकुद मैदान निर्माणमा एक लाख ८६ हजार दुई सय ७४ रुपैयाँ अनियमिता भएको भन्दै अख्तियारले उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगले तत्कालीन जिल्ला समन्वय समिति, कास्कीमा कार्यरत भई हाल रूपा गाउँपालिकामा कार्यरत चिप्ली खेलकुद मैदान निर्माण कार्यको साइट इन्चार्ज सबइन्जिनियर ननु राम, तत्कालीन जिल्ला समन्वय समितिमा कार्यरत भई हाल पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत इन्जिनियर हरिबहादुर बस्नेत, जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालविरुद्ध मुद्दा दायर गरेको छ । 

त्यस्तै, तत्कालीन मादी गाउँपालिका–७ का वडासचिव हाल अवकाशप्राप्त पोखरा लेखनाथ महानगरपालिका–११ बस्ने रामकृष्ण बास्तोला, तत्कालीन जिल्ला समन्वय समितिको कार्यालय कास्कीका लेखा अधिकृत पदमा कार्यरत रही हाल पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत झलकप्रसाद आचार्य, तत्कालीन जिल्ला समन्वय समितिका लेखापाल हाल पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत विष्णुप्रसाद बराल, चिप्ली खेलकुद मैदान निर्माण समितिका अध्यक्ष हर्क गुरुङ, सचिव तारामान गुरुङ र कोषाध्यक्ष गौसुवा गुरुङविरुद्ध मुद्दा दायर भएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार दुई लाख १२ हजार तीन सय रुपैयाँको काम भएको देखाएर अनियमितता भएको हो । तर, खेलकुद मैदान निर्माणमा ९८ हजार नौ रुपैयाँ मात्र खर्च भएको थियो । ५१ हजार एक सय ९८ रुपैयाँबराबरको जनश्रमदान भएको थियो । खेलकुद मैदान निर्माणमा झन्डै ७० प्रतिशत बजेट अनियमितता भएको आयोगले जनाएको छ । स्थानीयबाट आएको उजुरीका आधारमा आयोगले छानबिन गरी मुद्दा दायर गरेको हो । 

प्रधानाध्यापकद्वारा आठ लाख अनियमितता 

कालिकोटको जनता माध्यमिक विद्यालय राम्नाकोट, खार्दुमाका पूर्वप्रधानाध्यापक जयलाल न्यौपानेविरुद्धसमेत मुद्दा दायर भएको छ । उनले शिक्षकको तलब, विद्यार्थीको छात्रवृत्ति, दिवा खाजा तथा भवन निर्माणको ज्यामीको ज्याला लेखापालको किर्ते हस्ताक्षर गरेको आयोगले जनाएको छ । ०७० मंसिरदेखि ०७२ भदौसम्मको अवधिमा अनियमितता भएको आयोगले उल्लेख गरेको छ । न्यौपानले आठ लाख ३१ हजार सात सय ३१ रुपैयाँ अनियमितता गरेको जनाएको छ ।  

७८ लाख धरौटी बुझाएर न्यौपाने रिहा
नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपाने ७८ लाख बैंक धरौटी बुझाएर रिहा भएका छन् । उनले प्राइम बैंक ग्यारेन्टी भएको कागज बुझाएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । न्यौपानेले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटमा भएको अनियमितताबारे अख्तियारमा परेको उजुरीलाई मिलाइदिन अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको भिडियो सार्वजनिक भएको थियो । सोही अभियोगमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा खेपिरहेका आयोगका पूर्वआयुक्त पाठक पनि ७८ लाख रुपैयाँ बैंक धरौटी बुझाएर गत १ जेठमै रिहा भइसकेका छन् । गत १२ चैतमा अख्तियारले पाठकविरुद्ध ११ वर्ष कैद र ७८ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । यो समाचार आजको नया पत्रिका दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस