सगरमाथामा मृत्युको व्यापार

पत्रपत्रिकाबाट

मंगलबार, २१ जेठ २०७६, ०६ : ४६
सगरमाथामा मृत्युको व्यापार

काठमाडौं । सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर (करिब २८ लाख) लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन्। आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा हुने ठूलो आम्दानीले आरोहणप्रति नकारात्मक धारणा बढ्ने आशंका यस क्षेत्रका व्यवसायीले गर्न थालेका छन्। आरोहणमा गुणस्तरीय सेवा दिने र दुर्घटना कम गराउन सुरक्षाका उपाय अवलम्बन गर्नसमेत यसमा संलग्न कम्पनीहरू चुक्न थालेका छन्।

पदयात्रा क्षेत्रमा ‘फेक रेस्क्यु’ले पारेको नकारात्मक असरभन्दा ठूलो प्रभाव अब आरोहणमा हुने मृत्यु र घटनास्थलबाट शव ल्याउने क्रियाकलापबाट पर्ने देखिएको छ। यसपटक एकै कम्पनीले लगेका सातजना आरोहीको मृत्यु र तिनको उद्धारमा माग गरिएको ठूलो रकमले पनि यो व्यवसाय अब ‘सगरमाथामा मृत्युको व्यापार’का रूपमा चित्रित हुने अवस्था आएको यस क्षेत्रका जानकारहरू बताउँछन्।

‘पर्वतारोहणका नाममा स्वर्गारोहण त गराइँदै छैन,’ एक आरोहण व्यवसायीले भने, ‘यसमा छानबिन हुनुपर्छ। होइन भने हिजो फेक रेस्क्युका नाममा पर्यटन उद्योगले खेपेको बदनामीजस्तै अब आरोहण क्षेत्रले भोग्नुपर्ने हुन सक्छ। अझ आफ्नो कम्पनीले लगेको आरोही भएकाले मृत्युपछि पनि आफैंले उद्धार गर्न पाउनुपर्ने भन्दै माग गरेको देखिएको समेत भुक्तभोगीहरू बताउँछन्। ‘यसरी भएका सबै मृत्यु भवितव्य होइनन्,’ नाम उल्लेख गर्न नचाहने आरोहण व्यवसायीले नागरिकसँग भने, ‘सस्तो दरमा सेवा दिँदा यस्तो भएको हो। हामीले कस्तो सेवा दिएका छौं भन्नेमा यो निर्भर गर्छ।’

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार यसपटकको वसन्त याममा करिब ६ सय आरोहीले आरोहण पूरा गरेका छन्। आरोहणमा गएकामध्ये आठजनाको मृत्यु भएको छ भने एकजना अझै हराइरहेका छन्। आरोहण क्षेत्रमा क्रियाशील व्यक्तिहरूले यो याममा भएको मृत्युको मुख्य कारण भीडभाड, आरोहणको गति ढिला र लामो समय ८ हजार मिटरमाथि रहनुलाई ठानेका छन्। अन्तर्राष्ट्रिय प्रेसले सगरमाथामा भीडभाड भएको समाचार यसपटक सम्प्रेषित गरे पनि त्यो एक दिन मात्र भएको थियो। ‘यसपटक रोप फिक्सिङ (डोरी टाग्ने काम) मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ढिलाइ गरेका कारण राम्रो मौसम पारेर आरोहण गर्न खोज्दा सबै एकै दिन शिखरमा पुग्न लाम लागेका थिए,’ आरोहण क्षेत्रका एक विज्ञले भने, ‘यसपटक मन्त्री पनि नभएका कारण सीधै सिकायत गर्नसमेत आरोहण आयोजकहरूले पाएनन्। कर्मचारी तहबाट निकै ढिलो मात्र शिविर दुईभन्दा माथि डोरी टाँग्ने र आरोहण अनुमति दिने काम भयो।’

सगरमाथा प्रदूषण नियन्त्रण समितिले आइसफल डाक्टरको सहायता लिएर आधार शिविरदेखि शिविर–२ सम्मको डोरी तान्ने काम चैत १९ मै गरिसकेको थियो। तर शिविर दुईदेखि शिखरसम्म डोरी पु¥याउन करिब १७ दिन लागेको थियो। त्यहीबेला फनी आँधीले शिविर–२ मा रहेका पाल उडाएको थियो। खासगरी हिमाल आरोहणलाई गुणस्तरीय नबनाउँदा र सिकारुहरूका कारण बढी दुर्घटना हुन थालेको हो। ३०–३५ हजार अमेरिकी डलरसम्म लिने गरिएकोमा अहिले प्रतिस्पर्धाका कारण २०–२५ हजारमा आरोहण गराउन थालिएपछि यो व्यवसाय नै धरापमा पर्ने अवस्था आएको छ। अझ हिमाल आरोहणका लागि जुन समूहले आरोही लिएर जान्छ, उसैले शव ल्याउने काम पनि गरिरहेको छ। यसो गर्दा स्वार्थको बझान (कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट) देखिन थालेको छ। ‘आरोहण गराउँदा २५ हजार डलर तर त्यही व्यक्ति बीचैमा मृत्यु हुँदा शव तल झार्न ७५ हजारसम्म लिनु विकृतिबाहेक केही होइन।’

विशेष गरी भारतीय आरोहीहरूको शव ल्याउने बेलामा महँगो रकम माग गरिएको थियो। यसपटक भारतमा निर्वाचन भएका कारण पनि जतिसक्दो चाँडो शव ल्याउन मृतकका राज्य सरकारले भनेजति रकम दिएका थिए। ‘हाम्रो धर्ममा मानिसको मृत्युपछि शव नभई हुन्न,’ यो अवस्थाबारे जानकार एक भारतीय विज्ञले भने, ‘त्यसमा पनि निर्वाचनमा नकारात्मक भावना बढ्ला भनेर पनि हतारहतारमा भनेजति रकम दिएर शव ल्याउनुपरेको थियो।’ यो समाचार आजको नागरिक दैनिकमा खबर  छ । 

 

प्रतिक्रिया दिनुहोस