धरहरा निर्माण तीव्र गतिमा

पत्रपत्रिकाबाट

मंगलबार, २१ जेठ २०७६, ०६ : ४३
धरहरा निर्माण तीव्र गतिमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’ को रूपमा रहेको धरहरा निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । 
अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा निर्माण गर्ने अठोट गर्नुभएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रधानमन्त्री ओलीले गत पुस १२ गते धरहरा निर्माणको शिलान्यास गर्नुभएको हो । लभध(मजबचबजबचब(ज्ञ
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्धारित समयभित्र नै धरहराको निर्माण कार्य सकिने लक्ष्यसहित काम भइरहेको बताउँदै तालिका अनुसार नै निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिनुभयो । धरहरा निर्माणमा अहिलेसम्म ४० करोड रुपियाँ खर्च भइसकेको छ ।
अहिले धरहराको टावर ठड्याइने क्षेत्रको ‘राफ्ट फाउन्डेसन’ को काम भइरहेको छ । यही फाउन्डेसनमा नै धरहराको टावर निर्माण हुने भएकाले ‘राफ्ट फाउन्डेसन’ निर्माण कार्य महत्वपूर्ण मानिने गरिन्छ । त्यसैगरी, ‘अन्डरग्राउन्ड’ निर्माण गरिने दुई तल्ला भवनको समेत फाउन्डेसन निर्माणको कार्य भइरहेको छ । 
स्थानीयद्वारा वैकल्पिक मार्गको माग
स्थानीयद्वारा गरिएको वैकल्पिक मार्गको माग तथा धरहरा क्षेत्रमा परेका गोश्वरा हुलाक कार्यालय भवन स्थान्तरण हुन नसक्दा अहिले ‘फुल फेज’ मा काम गर्न केही कठिनाइ भइरहेको जानकारी प्राधिकरणका निर्माणविज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो । धरहराको निर्माण कार्य सुरु भएसँगै धरहरा क्षेत्रको बीच भागमा रहेको बाटो बन्द भएपछि स्थानीयले वैकल्पिक मार्गको माग गरेका हुन् । उहाँले भन्नुभयो, “धरहराको निर्माण कार्य रोकिएको छैन तर अहिले ‘फुल फेज’ मा काम हुन सकेको छैन ।”
अहिलेको गोश्वरा हुलाक कार्यालय भवनको पछाडिपट्टीबाट बाटो निर्माणको अवधारणासहित प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रस्ताव पेस गरिसकिएको जानकारी निर्माणविज्ञ मानन्धरले दिनुभयो । धरहरा निर्माण क्षेत्रमा यसअघि घेरिएको जस्तापता अहिले हटाइएका कारण सो क्षेत्रमा सर्वसधारणको आवतजावत बढेको जसका कारण निर्माण कार्यमा समेत बाधा पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार, स्थानीयहरूको माग अनुसारको बाटो खुलेपछि फेरि चारैतिरबाट घेरिएर ‘फुल फेज’ मा काम सुरु गरिने छ ।
हुलाक कार्यालय बबरमहलमा स्थान्तरण
पुनःनिर्माण भइरहेका धरहरा क्षेत्रमा परेका गोश्वरा हुलाक कार्यालय र टक्सार कार्यालय स्थान्तरणको अन्तिम तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । निर्माणविज्ञ मानन्धरका अनुसार गोश्वरा हुलाक कार्यालय बबरमहलस्थित वाणिज्य विभाग परिसरमा र टक्सार कार्यालय बबरमहलमा नै रहेको नेपाल औषधि लिमिटेड परिसरमा स्थान्तरण गरिने छ । अबको तीन महिनाभित्र गोश्वरा हुलाक कार्यालय स्थान्तरण गर्नका लागि भवनको निर्माण कार्य सम्पन्न भइसक्ने जानकारी समेत उहाँले दिनुभयो ।
संस्कृति धरोहरको रुपमा ‘टक्सार’ भित्र रहेका सांस्कृतिक र पुरातात्विक महत्वका सामग्रीहरुलाई सङ्ग्रहालयका रूपमा व्यवस्थित गर्नुपर्ने, अहिले बन्द गरिएको टक्सारको बाटो खुलाउनुपर्ने लगायतको माग स्थानीयको छ । इतिहासलाई जिवन्त राख्ने उद्देश्यसहित अहिले टक्सार कार्यालयमा रहेका पुराना मेसिन, मुद्रालगायतका ऐतिहासिक वस्तुहरुको सङ्ग्रहालय समेत निर्माण गरिने प्राधिकरणले जनाएको छ । टक्सारभित्र मानन्धर समुदायको कुलदेवता रहेको बताउँदै आइएको छ ।
जमिनमुनि दुई र जमिनमाथि २२ तला गरी जम्मा २४ तलाको हुने धरहराको डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एन्ड एसोसिएट्सले तयार पारेको हो । तीन अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० रुपियाँ लागतमा जीआईईटिसी–रमन (जेभी) कम्पनीले धरहराको निर्माण गरिहेको छ ।
धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी लिफ्ट हुने प्राधिकरणले जनाएको छ । नयाँ बन्ने धरहरा अपाङ्गमैत्री समेत हुनेछ । धरहराको अठारौँ तलामा १७ जना क्षमताको मिनी थिएटर बनाइने छ जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको भिडियो डिस्पले गरिने छ । २४५ फिट अग्लो धरहराको टपमा सिसाले घेरेको ‘भ्यु डेक’ निर्माण गरिने र काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ । 
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्माण गरिएको धरहरा १९९० सालको भूकम्पमा केही भाग ध्वस्त भए पनि २०७२ साल वैशाख १२ गतेको भूकम्पमा पूर्ण रुपमा ध्वस्त भएको थियो । 
वि.सं.१९९० को भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस