स्थानीय तहले वृक्षारोपणको जिम्मा पाएपछि वन कार्यालयद्वारा कम बिरुवा उत्पादन

के गर्दैछन् त स्थानीय तह ?

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, १३ जेठ २०७६, १४ : २२
स्थानीय तहले वृक्षारोपणको जिम्मा पाएपछि वन कार्यालयद्वारा कम बिरुवा उत्पादन

– हिरालाल आचार्य
चितवन । स्थानीय तहले वृक्षारोपणको जिम्मा पाएपछि डिभिजन वन कार्यालय चितवनले गत वर्षभन्दा कम बिरुवा उत्पादन गरिरहेको छ । 
गत वर्ष ३ लाख ५० हजार बिरुवा उत्पादन गरेकोमा यस वर्ष २ लाख १० हजार बिरुवामात्र उत्पादन गरिएको कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक वनमा २० हजार, कबुलियत वनमा २० हजार र बाँकी डिभिजन वन कार्यालय चितवनमा बिरुवा उत्पादन गरिएको हो । 

बिरुवा उत्पादन र वृक्षारोपण वातावरणसँग सम्बन्धित विषय भएकाले यसको अधिकार र उत्पादनका लागि चाहिने बजेट स्थानीय तहमा गएपछि वन कार्यालयले बिरुवाको उत्पादन संख्यामा कमी गरेको हो । ‘हामीले गत वर्षभन्दा थोरै बजेट पायौं । त्यसैले बिरुवा पनि कम उत्पादन ग¥यौं’ सूचना अधिकारी पौडेल भन्नुहुन्छ । यस वर्ष जम्मा ६ लाख ३० हजार रुपैयाँ बजेट डिभिजन वन कार्यालयलाई प्राप्त भएको पौडलले बताउनु भयो । 

डिभिजन वन कार्यालयसँग २० लाख बिरुवा उत्पादन गर्ने क्षमता भए पनि बजेट अभावका कारण उत्पादन गर्न नसकिएको उहाँको भनाइ छ । प्रतिबिरुवा उत्पादन गर्न ठाउँ हेरेर ९ देखि १० रुपैयाँ लाग्ने पौडेल बताउनु हुन्छ ।
विगत वर्षहरुमा वन कार्यालयले नै बिरुवा उत्पादन गरेर वृक्षारोपणका लागि बिरुवा उपलब्ध गराउँथ्यो । तर यस वर्ष सामुदायिक वनमा रोपेर बाँकी रहेका बिरुवामात्र अन्य क्षेत्रका लागि उपलब्ध गराइने सूचना अधिकारी पौडेल बताउनु हुन्छ । सामुदायिक वनबाहेक अन्य क्षेत्रका लागि बिरुवा उत्पादन गर्ने काम स्थानीय तहमा पुगेको छ । स्थानीय तहलाई आवश्यक पर्ने प्राविधिक सहयोग भने डिभिजन वन कार्यालयले उपलब्ध गराउँछ ।


अहिले वन कार्यालयले उत्पादन गरेको बिरुवा रोप्न जमिन खोज्ने काम गरिरहेको छ । कुन कुन वनमा वृक्षारोपण गर्ने र कति क्षेत्रफलमा वृक्षारोपण गर्ने भनेर पत्ता लगाउन सर्भे भइरहेको पौडलले जानकारी दिनुभयो । गत वर्ष ३४ दशमलव ९३ हेक्टरमा वृक्षारोपण भएको थियो ।

के गर्दैछन् स्थानीय तह ?

भरतपुर महानगरपालिका
बिरुवा उत्पादनका लागि भरतपुर महानगरले नर्सरी निर्माण गर्न लागेको जानकारी दिएको छ । वडा नम्बर ८ मा रहेको गौरीगञ्ज स्वास्थ्य चौकीको ३ कठ्ठा १० धुर जग्गामा नर्सरी निर्माणका लागि पूर्वाधार तयार पार्न टेण्डर आह्वान गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उक्त नर्सरीको पूर्वाधार निर्माण असारभित्र सकिने र साउनबाट बिरुवा उत्पादन गर्न सुरु गरिने उहाँको भनाइ छ । उक्त नर्सरीमा सिजनल फलफूल, अर्नामेन्टल प्लान्ट लगायतका बिरुवा उत्पादन गरिने छ । ती बिरुवा उत्पादन भएपछि वृक्षारोपण सुरु गरिने प्रमुख दाहालले बताउनु भयो । 
स्मार्ट सिटीको अवधारणमा अघि बढेको महानगरले एक घर दुई फलफूलका बिरुवा भन्ने अभियान अघि सारेको छ । आवश्यक फलफूलका बिरुवा उपलब्ध गराउन राष्ट्रिय फलफूल विकास केन्द्रलाई पत्राचार गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो । केन्द्रले स्रोत केन्द्र तोकेपछि बिरुवा किनेर ल्याई प्रत्येक घरमा निःशुल्क वितरण गरिने उहाँको भनाइ छ । महानगरको आन्तरिक बजेटबाट यी सबै कार्यक्रम गरिएको प्रमुख दाहालले बताउनु भयो । गतवर्ष महानगरले विरुवा वितरण गर्न नसके पनि वडाहरुले गाउँघरमा विरुवा वितरण गरेका थिए । 

माडी नगरपालिका
माडी नगरपालिकाले वृक्षारोपण गर्ने काम अब थालिने जानकारी दिएको छ । नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले मध्यवर्ती क्षेत्रबाट बिरुवा किनेर वृक्षारोपण गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार वृक्षारोपण गरेर माडी नगरपालिकाले उद्यान बनाउने योजना बनाएको छ । 
वडा नम्बर ८ र ९ का आवश्यक स्थानमा यसपालि वृक्षारोपण गर्ने योजना बनाइएको ढकालको भनाइ छ । बाटोको छेउछाउमा पनि बोटबिरुवाहरु लगाइने नगर प्रमुख ढकालले बताउनु भयोे । उहाँले भन्नुभयो, ‘वृक्षारोपण गर भनेर बजेट आएको छैन, तर तराइ मधेस राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट वृक्षारोपणका लागि अनुदान भने आएको छ ।’ गत वर्ष पनि माडी नगरपालिकाले केही स्थान र बाटोघाटोमा वृक्षारोपण गरेको थियो । 
रत्ननगर नगरपालिका
रत्ननगर नगरपालिकालाई ग्रीन सिटी बनाउने गरी वृक्षारोपणको काम भइरहेको नगर प्रमुख नारायण वनले जानकारी दिनुभयो । नगरपालिकालाई चाहिने बिरुवा सामुदायिक वनले उपलब्ध गराउने गरी समन्वय भएको उहाँले बताउनु भयो । ‘हामीले पनि वनलाई आवश्यक सहयोग गरेका छौं । त्यसैले वनले पनि हामीलाई आवश्यक बिरुवा निःशुल्क दिने भनेको छ’ प्रमुख वन भन्नुहुन्छ । 
उहाँका अनुसार, सार्वजनिक जग्गा संरक्षण गरी त्यसमा वृक्षारोपण भइरहेको छ । त्यस्तै नगरपालिकाभित्र पर्ने पूर्वपश्चिम राजमार्गको बीचमा बिरुवा लगाउने तयारी भएको प्रमुख वनले जानकारी दिनुभयो । नगर प्रमुख वनले बिरुवा उत्पादन र वृक्षारोपणका लागि भनेर छुट्टै बजेट नआएको जानकारी दिनुभयो । गत वर्ष पनि नगरपालिकाले विभिन्न स्थानमा वृक्षारोपण गरेको थियो । 

राप्ती नगरपालिका 
राप्ती नगरपालिकाले सामुदायिक वनहरुसँग समन्वय गरी बिरुवा उत्पादन गरिरहेको जनाएको छ । नगरपालिकामा सामुदायिक वनहरु धेरै भएकाले उनीहरुसँग नै सहकार्य गरेर आवश्यक पर्ने बिरुवा उत्पादन गरिरहेको नगर प्रमुख प्रभा बराल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले आफ्नै नर्सरी बनाएर बिरुवा उत्पादन नगरे पनि बिरुवा उत्पादन गर्नेलाई सहयोग गरिरहेको छ । 
‘बिरुवा उत्पादन र वृक्षारोपण गर्नका लागि भनेर ५ लाख बजेट आएको थियो । जसबाट केही स्थानमा वृक्षारोपण गरिसक्यौं । अब बाँकी स्थानमा पनि वृक्षारोपण गर्ने तयारीमा छौं’ प्रमुख बरालले भन्नुभयो । उहाँले सार्वजनिक जग्गा संरक्षण गरेर त्यसमा वृक्षारोपण गरिने बताउनु भयो । उहाँले पहाडका पाखाहरुमा चिउरी र हलुवावेदको बिरुवा रोप्ने कामलाई प्राथमिकतामा राखेर केही स्थानमा बिरुवा रोपेको र अझै पनि रोपिने जानकारी दिनुभयो । गत वर्ष नगरपालिकाले विशेषत पहाडका पाखाहरुमा वृक्षारोपण गरेको थियो । 

खैरहनी नगरपालिका
खैरहनी नगरपालिकाले यसपालि १० हजार बिरुवा रोप्ने योजना बनाएको छ । नगर प्रमुख लालमणि चौधरीले असारको अन्तिसम्ममा वृक्षारोपण गरेर सकिने जानकारी दिनुभयो । सार्वजनिक जग्गामा तारबार गरिएको र अब त्यसमा फलफूल लगायतका बिरुवा लगाइने उहाँको भनाइ छ । फलफूलको बिरुवा रौतहटबाट र अन्य बिरुवा वनहरुसँग किनेर ल्याउने नगरपालिकाको योजना छ । 
जग्गा नभएकाले आफूले नर्सरी बनाउन नसकेको प्रमुख चौधरीले बताउनु भयो । सर्वसाधारणलाई बिरुवा चाहिएमा नगरपालिकाको प्रतिबिरुवा ८० प्रतिशत अनुदान दिने उहाँले बताउनु भयो । उहाँले नगरपालिकामा वृक्षारोपणका लागि भनेर छुट्टै बजेट नआएको बताउनु भयो । गत वर्ष पनि नगरपालिकाले १० हजार बिरुवा वृक्षारोपण गरेको थियो । 

कालिका नगरपालिका  
कालिका नगरपालिकाले असारको पहिलो साताबाट वृक्षारोपण गर्ने बताएको छ । नगर प्रमुख खुमनारायण श्रेष्ठले असारको पहिलो हप्ताबाट रोप्न सुरु गर्ने भए पनि कति बिरुवा र कहाँ रोप्ने भन्ने छलफल गरेर निष्कर्षमा पुग्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुुसार नगरपालिकाले आफैले दुई कठ्ठा जगामा नर्सरी बनाएर बिरुवा उत्पादन गरिरहेको छ । 
पिच बाटोको छेउमा वृक्षारोपण गर्ने कामलाई पहिलो प्राथमिकतामा राखिने श्रेष्ठको भनाइ छ । उहाँले नगरपालिकामा वृक्षारोपणका लागि भनेर छुट्टै बजेट नआएको बताउनु भयो । गत वर्ष पनि सर्वसाधारणलाई निःशुल्क बिरुवा वितरण गर्नुका साथै केही स्थानमा नगरपालिकाले वृक्षारोपण गरेको थियो । 

इच्छाकामना गाउँपालिका
इच्छाकामना गाउँपालिकाले सामुदायिक वन र कबुलियत वनहरुसँग समन्वय गरिरहेको जनाएको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङले बिरुवा उत्पादन र वृक्षारोपण गर्न भनेर अहिलेसम्म बजेट नआएको बताउनु भयो । ‘यहाँ भएका वनहरुमा असार, साउनमा वृक्षारोपण गरिन्छ । यसबारेमा वनलाई सिकाएका छौं’ गुरुङ भन्नुहुन्छ । 
वनहरुमा तारबार लगाउन गाउँपालिकाले बजेट छुट्याएको उहाँले बताउनु भयो । अन्य स्थानमा वृक्षारोपण गर्नेबारे छलफल गर्न बाँकी रहेको उहाँले बताउनु भयो । गत वर्ष एक हजार वटा बिरुवा ल्याएर गाउँपालिकाले सर्वसाधारणलाई वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस