भरतपुर महानगरको बजेट समग्र विकासमा : प्रमुख दाहाल

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, १६ : ५८
भरतपुर महानगरको बजेट समग्र विकासमा : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिकाको आगामी बजेटसमग्र विकासमा लगाउने बताउनु भएको छ । आज भरतपुरमा महानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को प्रि बजेट अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले गएका वर्षहरुमा पूर्वाधार विकासमा अझ विशेष गरी सडकमा बढी बजेट लगाइएको बताउँदै भन्नुभयो, ‘विगतका वर्षहरुमा पूर्वाधारमा बढी बजेट केन्द्रित गरियो, अब समग्र विकासमा बजेट केन्द्रित हुनेछ ।’
कार्यक्रममा महानगर प्रमुख दाहालले अबको बजेटमा शिक्षा र कृषिलाई विशेष प्राथमिकता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजेट महानगरको दिगो र सन्तुलित विकासका लागि बजेट केन्द्रित हुनेछ ।’ तीव्र विकासमा होमिएको महानगरलाई देशकै नमुना महानगर बनाउने अभियानमा लागिरहेको प्रमुख दाहालले बताउनुभयो । 
कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्यालले सबै स्थानीय तहलाई असार १० भित्रै बजेट ल्याउन र असार मसान्तभित्र पास गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा उहाँले भन्नुभयो, ‘बजेट उत्पादनमूलक काममा खर्च गरौँ, छर्ने तरिकाले खर्च नगरौँ ।’

उहाँले कृषिमा उत्पादनसँग जोडेर बजेट विनियोजना गर्न जोड दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘बजेट कार्यान्वयनमा कठोर हुनैपर्छ, नत्र कार्यान्वयन हुँदैन, यसका लागि कठोर बन्न जनप्रतिनिधिहरुलाई आग्रह गर्दछु ।’
बजेट प्लानिङ र प्राथमिकताको आधारमा विनियोजन गर्न उहाँले आग्रह गर्नुभएको थियो । 
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भरतपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा समेट्नुपर्ने विषयमाथि प्रकाश पानुभएको थियो । कार्यक्रममा उहाँले उत्पादन वृद्धि, शिक्षा, स्वास्थ्य र जनशक्ति विकास, सरसफाइ हरियाली तथा विपद व्यवस्थापन, युवा सरोकार खेलकुद तथा रोजगारीमा बजेट केन्द्रित गरिनुपर्ने बताउनुभयो । 
कार्यक्रममा महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, पर्यटन विज्ञ विश्व सुवेदी, उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, शिक्षाविद् रमाकान्त सापकोटा, वडा नं ४ वडाध्यक्ष हरिप्रसाद आचार्य, ६ का वडाध्यक्ष हरिविलास कोइराला, शिक्षा शाखाका रुद्र शर्मालगायतले मन्तव्य दिएका थिए । 


 

प्रतिक्रिया दिनुहोस