Safal Khabar - ‘थाइराइडको कारणले मात्र मान्छेको मृत्यु हुँदैन’
सोमबार, ०२ भदौ २०७६ (Monday, 19 August, 2019)
आज विश्व थाइराइड दिवस

‘थाइराइडको कारणले मात्र मान्छेको मृत्यु हुँदैन’
शनिबार, ११ जेठ २०७६, १३ : २०
‘थाइराइडको कारणले मात्र मान्छेको मृत्यु हुँदैन’

चितवन । आज विश्व थाइराइड दिवस । थाइराइडको बारेमा आमनागरिकलाई सुसूचित गराएर दिवस मनाउने गरिन्छ । नेपालमा पनि सन् २००७ देखि विश्व थाइराइड दिवस मनाउन थालिएको हो । हरेक वर्षको अंग्रेजी तारिख मई २५ का दिन विश्व थाइराइड दिवस मनाउँदै आइएको छ ।

यसवर्षको विश्व थाइराइड दिवसको नारा ‘थाइराइड र थाइराइड क्यान्सरको असर’ भन्ने रहेको छ । विश्व थाइराइड दिवसको अवसरमा थाइराइट के हो ? यसबाट कसरी बच्न सकिन्छ ? पछिल्लो समय नेपालमा यसको अवस्था कस्तो छ ? यस्ता विविध विषयमा पुरानो मेडिकल कलेजका डा पुकार घिमिरेसँग सफल खबरले गरेको कुराकानी :

थाइराइड के हो ?
थाइराइड यो कुनै रोग होइन यो एउटा विशेष ग्रन्थी हो जुन हाम्रो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो ।

थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म भनिन्छ ।

थाइराइड कति प्रकारका हुन्छन् ?
थाइराइड मुख्य गरी दुई प्रकारका हुन्छन् । पहिलो हो, हाइपो थाइरोडिज्म (हर्मोन कम उत्पादन हुनु) दोस्रो हो, हाइपर थाइरोइडिज्म (हर्मोन बढी उत्पादन हुनु) । 
थाइराइड हार्मोनले शारीरिक शक्ति नियमन गर्न, अरू हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरूलाई वृद्धि तथा परपिक्व गर्न महत्वपूर्ण काम गर्छ । थाइराइड ग्रन्थीको कार्य क्षमतामा गडबडी भएमा कि त प्रशस्त मात्रामा (अनावश्यक रूपमा) हार्मोनको उत्पादन हुन्छ (हाइपरथाइराइडिज्म) कि अत्यन्त न्यून मात्रामा हार्मोन उत्पादन हुन्छ (हाइपोथाइराइडिज्म) । यी दुवै प्रकारको थाइराइड समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ ।

यसका लक्षणहरु केके हुन्छन् ?
यो सुन्निने भएकाले यसलाई सजिलैसँग पहिचान गर्न सकिन्छ । सुरुवाती अवस्थामा खानेकुरा निल्नमा समस्या हुन्छ । कुनै अवस्थामा थायराइड नोड्युल अतिरिक्त मात्रामा थायराक्सिन हर्मोन निकाल्ने गर्दछ । थायराइड नोड्युलका कारण अचानक तौल घट्नसक्छ । मुटुको धड्कन पनि अनियमित हुने गर्दछ । कहिले कम त कहिले बढी हुन्छ । यसका कारण बोल्नमा पनि समस्या हुने गर्दछ । राती सुत्नमा समस्या हुन्छ ।

यस्तो थायराइड नोड्युल बढ्दा हुने गर्दछ । मांसपेशी कमजोर हुने गर्दछ जसका कारण बिरामीलाई कमजोर र थकान महसुस हुने गर्दछ । सामान्यतया कपाल धेरै झर्ने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी आउने वा कम आउने महिनावारी गडबडी हुने छाला खस्रो हुने कब्जियत हुने वा झाडापखाला लाग्नेजस्ता लक्षणहरु पनि देखिन्छ । थाइराइडले बढी सतायो भने आँखाको नानी बाहिर आएजस्तो देखिन्छ । थाइराइडको एउटामात्र लक्षण हुँदैन । 

थाइराइड कस्तो अवस्थामा देखिन सक्छ ?
थाइराइड रोग सामान्यतया शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएकै कारण लाग्ने गर्छ । वंशानुगत रुपमा पनि यो रोगले सताउने गर्छ ।

रुघा लागेमा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थिमा संक्रमण भएर यो रोग देखिन सक्छ । लामो समयसम्म औषधिका प्रयोगले पनि मानिसहरुमा थाइराइडको समस्या देखिने गर्छ । जस्तैः मानसिक रोग, मुटु रोगका बिरामीलाई प्रयोग गरिने औषधिका कारण पनि थाइराइड रोग लाग्न सक्छ । विभिन्न विकिरणको प्रयोगले पनि थाइराइड क्यान्सर हुने सम्भावना रहन्छ ।

थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा हुन्छ । १० मध्ये नौ महिलामा यो रोग लाग्छ । यसको कारण महिलाहरुमा हुने महिनावारीदेखि  हर्माेनमा हुने अनेक खालको परिवर्तन हो । किनभने हर्मोनको समन्वय मस्तिष्क, थाइराइड, पाठेघर, स्तन सबैमा हुन्छ । आयोडिनयुक्त नुनको कमी भएर थाइराइड भएको पाइन्छ, यो बाहेक थाइराइड यही कारणले भयो भन्न सकिने अवस्था छैन । 

विशेषगरी गर्भवती महिनाहरुमा गर्भ रहने कुरामा पनि असर गर्ने र गर्भ बसिहालेपनि बच्चामा बोधोपन आउने हुनाले गर्भ रहनुभन्दा पहिला नै थाइराइड छ कि छैन भनेर परीक्षण गर्नु राम्रो हो । हर्माेन कन्ट्रोलमा छ भने  बच्चा जन्माउन कुनै समस्या हुन्न। बच्चा पेटमा छ भने पनि औषधि छोड्नु हुँदैन ।

उपचार के हुन्छ ?
हर्मोन कमी छ भने हर्मोन दिने । हर्मोन बढी छ भने हर्मोन घटाउने औषधि दिने हो, जसलाई एन्टिथाइराइड भनिन्छ । तर यो औषधि जीवनभर खान मिल्दैन । औषधिले ५० प्रतिशतमा रोग निको पारिदिन्छ, ५० प्रतिशतमा चाहिँ औषधि रोकेपछि रोग फिर्ता आउन सक्छ ।

अर्को अप्सन भनेको एउटा झोल आयोडिन हुन्छ, यसको काम ग्रन्थी सुकाउने हो । यो एक डोज खाने जुन बढी मात्रामा काम गरिरहेको ग्रन्थीलाई नै सुकाइदिन्छ र हर्मोन बढीलाई हर्मोन कमीमा लगिदिन्छ । हर्मोन कमी त सजिलो हुन्छ, तर थाइरोडाइटिस समस्या छ भने चाहिँ कुनै पनि ट्रिटमेन्ट चाहिँदैन । किनकि आफैँ नै हर्मोन नर्मलमा जान्छ ।

थाइराइड हर्मोन गडबडी छ कि छैन भनेर लक्षणको आधारमा डाइग्नोसिस गर्न मिल्दैन । यसको लागि थाइराइड फङ्सन टेस्ट भनेर रगत जाँच हुन्छ । त्यो जाँच नगरी त्यसलाई खाली लक्षणको आधारमा मात्रै थाइराइडको औषधि चलाउन मिल्दैन । त्यो टेस्ट गरेपछि मात्रै तपाईंको थाइराइड ग्रन्थीले कस्तो काम गरिरहेको छ, हर्मोनको लेभल कस्तो छ, बढी छ कि कम त्यो जाँच गरेर मात्रै हामीलाई थाहा हुन्छ ।

थाइराइड इमरजेन्सी रोग होइन । यसले मान्छेको तत्काल ज्यान लिने होइन, तर सचेत हुनुपर्छ । विलासी जीवनशैली, विषादी खानपान, धुमपानबाट थाइराइड थाइराइट लाग्ने होइन, यो त हर्मोनको घडबढले हुने हो । थाइराइडकै कारणले ज्यान जान्छ भन्ने होइन, तर यसको असरले अन्य अंगलाई असर गर्ने हो । थाइराइड बच्चाहरुलाई पनि हुन्छ । 

प्रतिक्रिया दिनुहोस