साढे सात करोड  नक्कली भारुसहित युनुस अन्सारीको समूह पक्राउ

पत्रपत्रिकाबाट

शनिबार, ११ जेठ २०७६, ०६ : ३६
साढे सात करोड  नक्कली भारुसहित युनुस अन्सारीको समूह पक्राउ

काठमाडौं । नक्कली भारु कारोबारकै आरोपमा दुईपटक जेल परिसकेका युनुस अन्सारी शुक्रबार सात करोड ६७ लाख ९४ हजारसहित फेरि पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार दरका नक्कली भारुसहित ६ जनाको समूह पक्राउ परेको हो । 

बरामद नक्कली भारु सुटकेसमा राखेर कतार हुँदै नेपाल भित्र्याइएको हो । भारत सरकारले पुराना नोट हटाएर पाँच सय र दुई हजार दरका नयाँ नोटको प्रयोग सुरु गरेपछि नेपालमा भारु तस्करी रोकिएको थियो । तीन वर्षपछि नेपालमा नक्कली भारु बरामद भएको हो ।

‘नक्कली नोट लिन गएका युनुस अन्सारीसहित तीनजनालाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरेका हौँ,’ महानगरीय प्रहरी आयुक्त डिआइजी शैलेश थापा क्षेत्रीले पत्रकार सम्मेलनमा भने, ‘पाकिस्तानी र युनुसबीच कुराकानी भएको प्राविधिक अनुसन्धानबाट समेत देखिन्छ ।’ पक्राउ पर्ने पाकिस्तानीमा मोहम्मद अख्तर, नदिना अनवार र नासिर उद्दिन छन् । उनीहरू दुई दिनअघि मात्र पाकिस्तानबाट कतार गएका थिए ।

त्यस्तै प्रहरीले युनुसका साला सुयल खान र चालक सुदन रानाभाटलाई समेत विमानस्थलबाटै पक्राउ गरेको छ । सुयल यसअघि पनि नक्कली भारु कारोबारमा युनुससँगै जेल परेका व्यक्ति हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूमाथि अनुसन्धान अघि बढाएको छ । यो समाचार आजको नया पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस