पाँचथर हत्याकाण्ड : 'एक जना मात्र’ संलग्न

‘घटनास्थलमा भेटिएका प्रमाण र बालिकाले दिएको बयानका आधारमा एक जनाबाहेक अरुको संलग्नता रहेको शंका गर्ने अवस्था छैन ।’

पत्रपत्रिकाबाट

शुक्रबार, १० जेठ २०७६, ०७ : ५४
पाँचथर हत्याकाण्ड : 'एक जना मात्र’ संलग्न

–माधव घिमिरे, लीलाबल्लभ घिमिरे
विराटनगर । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा चार दिनअघि ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको प्रारम्भिक अनुसन्धानबाट एक जना मात्र संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलको अध्ययन, स्थानीय बासिन्दासँग सोधपुछ, प्राप्त प्रमाण संकलन गरेको छ । 

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार घटनास्थलमा भेटिएका वस्तु संकलन गरी प्रयोगशाला परीक्षणका लागि काठमाडौं मगाइएको छ । ‘घटना बीभत्स र ठूलो भए पनि हत्यामा संलग्न पहिचान भइसकेको छ,’ पोखरेलले बिहीबार साँझ फोनमा भने, ‘घटनास्थलमा भेटिएका प्रमाण र बालिकाले दिएको बयानका आधारमा एक जनाबाहेक अरूको संलग्नता रहेको शंका गर्ने अवस्था छैन ।’

सोमबार राति बमबहादुर फियाकसहित उनको परिवारका चार जनाको हत्या भएको थियो । बमबहादुरका ज्वाइँ धनराज सेर्मासहित परिवारमा पाँचजनाको हत्या भएको थियो । सबैलाई धारिलो हतियारले टाउको र शरीरमा क्षतविक्षत हुने गरी काटिएको थियो ।
हालसम्मको अनुसन्धानमा देखिएअनुसार घटनाको एक मात्र प्रत्यक्षदर्शी १२ वर्षीया सीता खजुम हुन् ।
उनी घटनाका बेला भाग्दै छिमेकी घरमा शरण लिएर बाँच्न सफल भएकी थिइन् । भाग्ने क्रममा लडेर घाइते भएकी उनको झापा, दमकस्थित अस्पतालमा प्रहरीको सुरक्षामा उपचार गरिएको छ । उनले प्रहरीमा दिएको बयानअनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएको एक जना व्यक्तिले धारिलो हतियारले पालैपालो परिवारका सबैलाई प्रहार गरेका थिए ।

हत्यामा संलग्न आशंका गरिएका व्यक्ति बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम हुन् । उनी घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दूरीमा पर्ने मिक्लाजुङ–७ लिम्बा गाउँमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

केही स्थानीय बासिन्दाले मानबहादुर ‘डिप्रेसन’ बाट ग्रसित रहेको बताएका छन् । उनले औषधि सेवन गर्ने गरेको भनिए पनि कुन औषधि भन्ने खुलेको छैन । मिक्लाजुङका एक जनप्रतिनिधिका अनुसार उनी केही समययता अनौठो व्यवहार गर्ने, निराशजस्तो देखिने गरेका थिए ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले धरानबाट आएको एसएपीसहितको टोलीले प्रारम्भिक अनुसन्धान गरेर फर्केको बताए । ‘मसहितको टोली एक रात घटना भएको गाउँमा बसेर फर्केका हौं,’ वस्तीले भने, ‘अहिलेसम्मको अनुसन्धानमा बाहिर चर्चामा आएका व्यक्ति (मानबहादुर) नै संलग्न भएको अनुमान छ ।’ घटनास्थलमा भेटिएका कतिपय वस्तुको ल्याब परीक्षण गर्नुपर्ने उल्लेख गर्दै वस्तीले तीन दिनभित्र सबै रिपोर्ट बाहिर आउने जानकारी दिए ।

पाँचथरको प्रदेशसभा ‘ख’ का सांसद एवं प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्क्री इन्द्रबहादुर आङ्बोले अनुसन्धानमा सबै  शत्ति  लगाइएको बताए । उनले स्थानीय जनता, जनप्रतिनिधि सबैसँग समन्वय गरी अनुसन्धान अघि बढिरहेको जनाए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस