सिटिइभिटीले चितवनमा महिला पोलिटेक्निक कलेज खोल्ने

भरतपुर महानगरपालिकाले उपलब्ध गरायो पाँच बिघा जमीन

बुधबार, ०८ जेठ २०७६, १५ : २३
सिटिइभिटीले चितवनमा महिला पोलिटेक्निक कलेज खोल्ने

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले भरतपुर महानगरपालिका–२३ जगतपुरमा महिला पोलिटेक्निक कलेज खोल्ने भएको छ । कलेज सञ्चालनका लागि महानगरपालिकाले सरस्वती माध्यमिक विद्यालय पछाडि पाँच बिघा जमीन महिला पोलिटेक्निकका लागि उपलब्ध गराएको छ । 

महानगर प्रमुख रेनु दाहालले आउँदो शैक्षिक सत्रबाटै कार्यक्रम सञ्चालन गर्न सक्ने गरी समन्वयको काम महानगरले गरिरहेको बताउनुभयो । प्रमुख र उपप्रमुख महिला भएको महानगरपालिकाले यस कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । सिटिइभिटीका योजना महाशाखा निर्देशक रमेश बखतीका अनुसार महानगरपालिकाले समन्वय गरिरहेकाले आउँदो शैक्षिक सत्रबाट दुई वटा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । 
    
सो स्थानमा रहेको सरकारी विद्यालयमा नयाँ भवन बन्दै गरेको छ । पहिलो वर्षका लागि सोही विद्यालयको भवन प्रयोग गर्न सकिने महानगरले जनाएकाले त्यही ठाउँमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । पहिलो वर्ष होटल व्यवस्थापन र फार्मेसी विषयको पढाइ शुरु गर्ने योजना बनाइएको छ । 
    
कार्यक्रम सञ्चालनका लागि सरकारको बजेट वक्तव्यको पर्खाइमा रहेको बखतीले जानकारी दिनुभयो । खाली जग्गाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी शिक्षा मन्त्रालयमार्फत् बजेटका लागि अर्थमन्त्रालयमा पठाइने बताइएको छ । सिटिइभिटीले देशका छवटै महानगरपालिकामा महिला पोलिटेक्निक स्थापना गर्ने योजना बनाएको छ । आउँदो शैक्षिक सत्रबाट भने भरतपुर, पोखरा र विराटनगरमा मात्र कार्यक्रम शुरु गर्ने तयारी गरिएको बखतीले बताउनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस