काठमाडौ । देशव्यापी जागरण अभियानमा लागेका केन्द्रीय नेताहरुलाई स्थानीय नेताहरुले पहिला आफू गुटबन्दीमा नलाग्ने कुरामा जागृत हुनुहोस्, अनि मात्र हामीलाई जागृत गराउन आउनुस् भनेका छन् ।
जागरण अभियानबारे प्रतिक्रिया सुनाउँदै नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले भन्नुभयो– ‘सहभागी कार्यकर्ताहरु हामीलाई हैन पहिला नेतालाई जागृत गराउनुस् ।’ जागरण अभियानबारे अन्य जिल्ला सभापतिहरुको पनि त्यस्तै अनुभव छ । कार्यकर्ताले नेतालाई गुटबन्दीमा लागेका कारण पार्टी प्रमुख प्रतिपक्षमा पुगेको छ, पहिला नेतामा परिवर्तन आवश्यक छ भन्दै आक्रोश पोख्ने गरेका छन् ।
काभ्रेमा सञ्चालित जागरण अभियानमा सहभागी क्षेत्रीय सभापति रमेश हुमागाईंका अनुसार यहाँका आम कार्यकर्ताले आफूहरु जागृत भएको तर नेताहरु नै जागृत नभएको बताउनुभयो । हुमागाई भन्नुहुन्छ– ‘कार्यकर्ता एकजुट छन्, नेताहरु भने गुटउपगुटमा विभाजित भएका छन् ।’ नेताहरु पहिले एकजुट भएर आउनुपर्ने कार्यकर्ताको भनाई रहेको उहाँ बताउनुहुन्छ ।
‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत पहिलो चरणको एकमहिने कार्यक्रम जेठ २५ गते सकिँदै छ । तीन चरणमा गर्न लागिएको यो अभियानअन्तर्गत दोस्रो चरण भदौ २४ बाट असोज ७ गतेसम्म १५ दिन र तेस्रो चरणको अभियान भने पुस ७ बाट पुस १६ सम्म १० दिन सञ्चालन गर्ने तयारी छ ।
पहिलो चरणको जागरण अभियान जिल्ला केन्द्रित हुनेछ भने दोस्रो चरणमा प्रदेशको ३ सय ३० निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछ । तेस्रो चरणको जागरण अभियान भने ७ सय ५३ गाउँ नगर केन्द्रित हुने कांग्रेसले जनाएको छ ।
७७ वटै जिल्लामा एकसाथ शुरु भएको जागरण अभियानबाट पार्टीको आन्तरिक संगठन सुधार गर्नुका साथै सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्ने बताइएको छ । साथै, संघीय संरचनाअनुसार तयार पारेको पार्टीको नयाँ विधान र नीतिका बारेमा आम कार्यकर्तालाई जागृत गराउने पनि यो अभियानको उद्देश्य छ ।
जागरण अभियान केन्द्रदेखि गाउँ तहसम्म आयोजना गरिएको छ । तर, कांग्रेसको तल्लो तहसम्म सांगठिन संरचना निर्माण भएको छैन । नयाँ विधानअनुसार केन्द्रदेखि गाउँसम्म आठ तहको सांगठनिक संरचना रहने व्यवस्था छ । काभ्रे जिल्ला सभापति मधु आचार्य भन्नुहुन्छ– ‘गाउँ, वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको संरचना भए पनि जिल्ला र केन्द्रबाहेक नयाँ संरचनाअनुसार कांग्रेसको सांगठनिक संरचनाले पूर्णता पाउन सकेको छैन ।’ नयाँ संरचनाअनुसार कांग्रेसले केन्द्र र जिल्लाबाहेक अन्य तहमा सांगठनिक संरचना निर्माणमा ढिलाइ गर्न नहुने कार्यकर्ताको तर्क छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०७ जेठ २०७६, ०६ : ४२
लेखकबाट थप