ढाट स्थानान्तरण गर्नुपर्छ : प्रदेश सांसद खनाल

सफल खबर संवाददाता

सोमबार, ०६ जेठ २०७६, १८ : २९
ढाट स्थानान्तरण गर्नुपर्छ : प्रदेश सांसद खनाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रदेश नम्बर तीनका प्रदेश सभा सदस्य कृष्णप्रसाद खनालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन् । उनले गोन्द्राङमा रहेको ढाट जिल्लाको शून्य स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
‘जेठ ३ गते मदन–आश्रित स्मृतिसभाको कार्यक्रम सकी दासढुंगाबाट मेरो घर रत्ननगर–१० तर्फ फर्किने क्रममा सो कर संकलन ढाटमा पुग्दा म पुग्नु भन्दाअगावै ढाटमा भेला भएका केही मानिसहरुको समूहले तपाई हाम्रो जनप्रतिनिधि भएकोले बोलिदिनु प¥यो भनी आग्रह गरेपछि एउटा जनप्रतिनिधिको हैसियतले सामन्जस्य ल्याउने उद्देश्यले केही कुरा बोल्दै गर्दा भीडबाट कसैले अकस्मात फालेको पेट्रोलमा लागेको आगोले प्रहरी कर्मचारी असई कल्पना पौडेल घाइते हुनुभएको हो’ प्रदेश सांसद खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाप्रति म अत्यन्त दुःख व्यक्त गर्दछु । घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछु । यस्तो घटनालाई लिएर केही सञ्चारमाध्यमले मेरो भनाइसमेत नराखी ‘सांसदको संलग्नतामा प्रहरीमाथि आगजनी’ भन्नेजस्ता अतिरन्जित, अनर्गल र कपोलकल्पित ढंगले समाचार सम्प्रेषण भएको पाइएकोले म अत्यन्त दुःखी भएको छु ।’ 
पूर्वी चितवनका जनता पटकपटक जिल्ला सदरमुकाम भरतपुर आवात जावत गर्ने क्रममा उक्त ढाटमा विवादहरु सिर्जना हुने गरेको, विगतदेखि नै उक्त ढाट हटाउन माग गर्दै आएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सडक करको नाममा जिल्लाभित्रकै अर्काे नगरका जनतालाई प्रत्यक्ष असर पर्ने गरी ढाट राखिनु सर्वथा उचित होइन । बाहिरी जिल्लाको अवस्था हेर्ने हो भने पनि जिल्लाका शून्य स्थानमा नै ढाट रहेको पाइन्छ ।’ 
ढाट राखिएको स्थान निकुञ्जबाट महाभारततर्फ जाने वन्यजन्तुको प्राकृतिक बाटो (कोरिडोर) भित्र परेको र यसले राष्ट्रिय निकुञ्लाई प्रत्यक्षरुपमा असर पार्ने भएकोले ढाट यथासम्भव जिल्लाको शून्य स्थानमा स्थानान्तरण गर्नुपर्ने खनालको माग छ ।

प्रतिक्रिया दिनुहोस