नेपालको शेयर बजारमा भारतको अवैध पैसा, जानकारी पाएर पनि भएन कारबाही

सफल खबर संवाददाता

सोमबार, ०६ जेठ २०७६, १४ : २७
नेपालको शेयर बजारमा भारतको अवैध पैसा, जानकारी पाएर पनि भएन कारबाही

काठमाडौं । पछिल्लो समयमा नेपालको शेयर बजारमा भारतको अवैध पैसा लगानी भएको विषय थाहा पाएर पनि सम्बन्धित निकायले कारबाही गर्न सकेको छैन । नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद नै भारतीय अवैध लगानीलाई सुनपानी छर्कने काममा लिप्त रहेको स्रोतको दाबी छ ।
स्रोत भन्छ, नेपाली शेयर बजारमा भारतीय लगानीबारे अर्थ मन्त्रालयलाई थाहा छ । नेपाल धितोपत्र बोर्ड समेत जानकार छ । नेपाल स्टक एक्सचेञ्जलाई जानकारी नहुने कुरै भएन । धितोपत्र दलाललाई त पैसा पाए भैहाल्यो, कारोवार गर्न पाए भइहाल्यो । 
भारतमा निर्वाचन भर्खरै सकिएको छ, नतिजा आउन बाँकी छ । उताको पैसा यता ल्याएर बजार प्रभावित पार्ने चलखेल राम्रैसँग भएको छ । केही कम्पनीको शेयरमा भएको अस्वभाविक वृद्धिले पनि कालो पैसाको चलखेल भयो भन्ने कुरा प्रष्ट देखिन्छ । तर जानकारहरु भने यस विषयमा थाहा पाएर पनि थाहा नपाए जस्तै गरी चुपचाप बसीरहेको छ । उनीहरुलाई अर्थतन्त्रलाई नै प्रभावमा पार्ने गरी आएको अवैध पैसाको बारेमा केही बोलचाल नै गर्ने अवस्थामा छैनन् ।
पछिल्लो दिनमा शेयर बजारमा कालो धन भित्रिएको छ । सेयर बजारमा आफ्नो स्वार्थ पुरा गर्न र नयाँ लगानीकर्तालाई फसाउने खेल पनि सुरु भएको छ । त्यसका लागि के–केसम्म गर्छन भन्ने पनि पछिल्लो दिनमा देखिन थालेको छ । त्यसै क्रममा शिवम् सिमेन्टको शेयरमा भएको अस्वाभाविक वृद्धि तथा ओरियन्टल होटलको सेयरलाई हेरे पुग्ने देखिएको छ । 
अनेकन प्रलोभन देखाएर शिवम् सिमेन्टको शेयरमा चलखेल सुरु गरिएको छ । जसका कारण हरेक दिन जसो शिवम् सिमेन्टको शेयरमा सर्किट ब्रेक लाग्ने गरेको छ । यस्तै ओरियन्ट होटलको शेयर लगानीकर्ताहरुले होटलले चाँडै नै लगानीकर्तालाई हकप्रद सेयर दिन्छ भन्दै हल्ला चलाएर सेयर मूल्य बढाएका छन् । होटलको शाखा उपत्यका बाहिर विस्तार गर्ने र त्यसका लागि बजेट आवश्यक पर्ने भएकोले हकप्रद सेयर जारी गर्ने चर्चा चलाइएको छ । 
स्रोतका अनुसार अहिले बजारमा चलेको हल्ला जस्तो उपत्यका बाहिर जाने कुनै पनि योजना नै बनेको छैन । अझै एक–दुई वर्ष उपत्यका बाहिर जान नसक्ने भएकाले हकप्रदबाट पैसा उठाउनु आवश्यक नभएको होटल स्रोतको भनाई छ । हाल होटलको स्तरोन्नतिमा लागेको र त्यसको लागि ऋण लिने प्रक्रिया अगाडि बढाएको बताएपनि चलखेल गरेर शेयरको मूल्य बढाइएको छ । तर कारवाही गर्ने निकाय चुपचाप बसेर चलखेल गर्न मौका दिइएको छ । 
सफ्टवेयर खरिदमा भ्रष्टाचार 
बजार नराम्ररी प्रभावित भइरहेको बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको भ्रष्टाचार काण्डले पनि शेयर बजार राम्रै गरी तातेको छ । 
नेप्सेमा भ्रष्टाचार भएको तथ्य अरु कोही कसैले होइन त्यसैको नियमक निकाय नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनले देखाएको छ । बोर्डको अध्ययन अनुसार काँग्रेसी कार्यकर्ता साउदले सरकारी स्रोतको चरम दुरुपयोग गरेर नेप्सेलाई काम नै नलाग्ने प्राविधिक उपकरण र सफ्टवेयर खरिद गरेको पाइएको छ । बोर्डले साउदलाई कारवाही गर्न सक्ने सहितको सुझाव दिएपनि अर्थ मन्त्रालयले किन साउदलाई जोगाएर राखेको हो ? बुझ्न सकिएको छैन ।
नेप्सेले गत मंसिर २० गते शेयर कारोबारलाई अनलाइन प्रणाली शुरु गर्दा टालटुल पारेर सुरु गरेको थियो । उक्त प्रणाली कमसल खालको भएको भन्दै गत पुस ९ गते अख्तियारमा उजुरी परेपछि अख्तियार दुरुपयोग आयोगको आग्रहमा नेपाल धितोपत्र बोर्डले छानबिन समिति बनाएको थियो । छानबिन समितिले नेप्सेको सफ्टवेयरमा समस्या रहेको देखाएको थियो । सफ्टवेयर खरिदमा साउदको भूमिका शंकास्पद देखिएको र भ्रष्टाचार गरेको पाइएको बोर्डको अध्ययनले देखाएको छ । 
अख्तियारले बोर्डलाई छानबिन गर्न पठाएको पत्रमा भनिएको छ– ‘नेपाल स्टक एक्स्चेन्जले अनलाइन प्रणाली खरिद गर्दा रु १८ करोड खर्च गरी कमसल सफ्टवेयर खरिद गरेको तथा डिस्प्ले बोर्डको लागि समेत रु ३५ लाख खर्च गरे पनि सञ्चालनमा आउन नसकेको भन्ने समेतको उजुरीका सम्बन्धमा के कसो भएको हो छानबिन गरी यथार्थ विवरणसहित राय प्रतिक्रिया आयोगको अनुसन्धान महाशाखा नं. २ मा पठाउन हुन निर्णयानुसार अनुरोध छ ।’ 
अख्तियारको पत्रपछि बोर्डले साउदको भ्रष्टाचारको विषयमा छानबनि गर्न तीन सदस्यीय छानबिन समिति बनाएको थियो । पुस २३ गते गठित छानबिन समितिमा बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा कामु कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरे र नेप्सेका सूचना प्रविधि उपशाखाका सहायक निर्देशक यमनाथ अर्याल सदस्य रहेका थिए । 
छानबीन समितिले साउदले अनियमितता गरेको प्रष्ट भएको उल्लेख गरी कारवाहीका लागि अख्तियार र त्यसको बोधार्थ अर्थ मन्त्रालयलाई समेत पठाएको थियो । अख्तियारमा पठाइएको उक्त प्रतिवेदन पनि गुपचुप राखिएको र अर्थ मन्त्रालयले समेत चासो नदेखाएका कारण सरकारी स्रोतको रकम डुब्ने अवस्थामा पुगेको छ । 
छानबिन समितिले अध्ययन गरी प्रतिवेदन अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । उक्त प्रतिवेदन बुझाएको पनि महिनौ बितिसकेको छ तर अख्तियार र अर्थ मन्त्रालयले हालसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् । जसका कारण साउद आफूलाई कही कतै पनि कारवाही नहुने र कारवाही गर्ने तागत कोही कसैसँग नभएको भन्दै आफ्ना निकटस्थलाई सुनाउँदै हिँडेका छन् । 
जानकार स्रोतका अनुसार छानबिन प्रतिवेदनमा नेप्सेको अनलाइन सफ्टवेयर खरिदमा भ्रष्टाचार गरेको निष्कर्ष निकाएको छ । उक्त प्रतिवेदनले नेप्सेको अनलाइन सफ्टवेयर खरिदका क्रममा सार्वजनिक खरिद ऐनको पालना नभएको समेत उल्लेख गरिएको पाइएको छ । 
नेप्सेले भने अनलाइन सफ्टवेयर खरिदमा सबै प्रक्रिया प¥ुयाएर खरिद गरेको दाबी गर्ने गरेको छ । अनलाइन सफ्टवेयर निर्माण गर्ने कम्पनी वाईकोले हालसम्म रु ११ करोड ५० लाख भुक्तानी लगिसकेको छ । तर, अनलाइन प्रणालीमा अझै धेरै काम हुन बाँकी भएकाले वाईकोले काम समेत गर्न छाडेको छ । 
साउदलाई देउवा सरकारले निर्वाचनको आचारसंहिता लागिसकेपछि अन्तिम समयमा नेप्सेमा नियुक्त गरेको थियो । नेकपा नेतृत्वको सरकार आएपछि उनलाई हटाए पनि सर्वाेच्च अदालतमा मुद्दा हाले र अदालतले सरकारको बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उनी पुनः नेप्सेमा फर्किएका थिए । जसका कारण उनलाई गलत धन्दा गर्न कोही कसैले पनि रोक्न नसकेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस