थपिँदै पाँच वटा केबलकार : तीन वटामा चितवन कोईले लगानी गर्ने

सफल खबर संवाददाता

आइतबार, ०५ जेठ २०७६, १८ : ३४
थपिँदै पाँच वटा केबलकार : तीन वटामा चितवन कोईले लगानी गर्ने

चितवन । कुरिनटारमा २१ वर्षअघि मनकामना केबलकार स्थापना गरेको चितवन कोई समूहले नेपालका विभिन्न क्षेत्रमा स्थापना हुन गइरहेका पाँचमध्ये तीन वटा केबलकारमा आफूले पनि लगानी गर्ने भएको छ ।
चितवन कोइ समूहले इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन मोडलमा केवलकार निर्माण गर्न लागेको हो। यही मोडलमा साराङकोटमा अन्नपूर्ण केवलकार निर्माण भइरहेको छ। जग्गा व्यवसायी कालु गुरुङ र जापानी समूहमा टाकासी मियाहराको लगानीमा निर्माण भइरहेको यो केवलकार दशैंसम्म संचालनमा आउने छ।
 पोखरामै पुम्दिकोट केवलकार, ताप्लेजुङमा पाथिभरा केवलकार, काठमाडौंमा दक्षिणकाली(चौकटदेवी केवलकार र हेटौंडा केवलकार निर्माण हुनेछ। यी चार वटा परियोजनामध्ये तीन परियोजनामा भने चितवन कोईको समेत लगानीमा केवलकार निर्माण हुनेछ। 
समूहका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले अन्नपूर्ण वाहेक अरु चार वटा केवलकार निर्माणको चरणमा रहेको बताए। 

‘हामीले इपिसी मोडलमा केवलकार निर्माण गरिरहेका छौं। चार वटा परियोजनामध्ये कतिपय विस्तृत परियोजना प्रतिवेदनको चरणमा छ भने कतिपय निर्माणको चरणमै पुगेको छ’ उनले ुअन्नपूर्ण केवलकारसमेत गर्दा पाँचवटा केवलकारको परियोजनामा सात अर्ब लगानी हुनेछ।’
यति समूहको लगानीमा निर्माण हुन लागेको पाथीभराको डिपिआर सकेर प्रोजेक्ट डिजाइन भइरहेको छ। दक्षिणकाली(चौकटदेवी केवलकारको डिपिआर भइसकेको छ। दक्षिणकाली मन्दिर नजिकैबाट चौकटदेवीसम्म पुग्नेगरि केवलकार निर्माण हुनेछ। 
पोखराको पुम्दिकोट केवलकारको समेत डिपिआर सकिइसकेको छ।  ‘यो केवलकार निर्माण हुने क्षेत्रमा सार्वजनिक जग्गा पर्दैन्। हामीले डिपिआर पछि प्रोजेक्ट डिजाइनमा गइहाल्छौं। यो पोखराको बेस्ट डेस्टिनेशन बन्ने विश्वास हामीले लिएका छौं’ उनले भने। श्रेष्ठले चारवटै परियोजना सकेसम्म चाँडै निर्माणको चरणमा पुर्याउने बताउँदै यो केवलकारले धार्मिक पर्यटनलाई अभिवृद्धि गर्ने दाबी गरे।
नेपालकै पहिलो केवलकार भित्र्याएर सफल रुपमा संचालन गरेको अनुभव यो समूहसँग छ। स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले २०५५ सालमा संचालनमा ल्याएका मनकामना केवलकारमा वार्षिक १० लाख यात्रु चढ्छन्। 

प्रतिक्रिया दिनुहोस