केवल टेलिभिजन र इन्टरनेट सेवा प्रदायकको दादागिरी : प्राधिकरणलाई भाडा नतिर्ने धम्की

सफल खबर संवाददाता

आइतबार, ०५ जेठ २०७६, १३ : ३९
केवल टेलिभिजन र इन्टरनेट सेवा प्रदायकको दादागिरी : प्राधिकरणलाई भाडा नतिर्ने धम्की

काठमाडौं । पछिल्लो दिनमा नेपाल विद्युत प्राधिकरणको साधन र स्रोत प्रयोग गरी अर्बौंको व्यापार गर्ने इन्टरनेट सेवा प्रदायकले प्राधिकरणलाई भाडा नतिर्ने धम्की दिएका छन् । उनीहरुले प्राधिकरणलाई कुनै प्रकारको भाडा समेत नतिर्ने र तार काटे पनि काटोस् भन्दै सार्वजनिक रुपमा आरोप प्रत्यारोप गर्न थालेका छन् । 
प्राधिकरणको पोलमा असाध्यै न्यून मूल्यमा तार तानेर अर्बौंको व्यापार गर्ने केवल टेलिभिजन र इन्टरनेट सेवा प्रदायकको दादागिरी बढेको छ । तर इन्टरनेटको नियमन गर्ने नेपाल दूरसञ्चार प्राधिकरण पनि व्यापारीको पक्षमा लागेर प्राधिकरणको नेतृत्वलाई धम्क्याउन थालेको छ । पछिल्लो समय मुकेश काफ्लेको भूतले प्राधिकरणलाई तर्साउन थालेको जानकारहरुको भनाइ छ । 
आधिकारिक टे«ड यूनिययनको निर्वाचनको समयमा प्राधिकरणको नेतृत्वलाई जानकारी नै नदिई धामाधम उद्योगी तथा व्यवसायीलाई पत्र काटेर केही काँग्रेसी कर्मचारीले समस्यामा पारेका थिए । त्यसो त व्यापारी तथा उद्योगीले समेत प्राधिकरणबाट विद्युत् लिने र तिर्दिन भन्दै हिँडेका छन् । त्यसमा हालैमात्र नेपाल उद्योग परिसंघको अध्यक्ष बनेका सतिश मोरदेखि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका समेतले प्राधिकरणको विद्युत् महसुल तिर्दिन भन्दै निहुँ खोजेर बसेका छन् । 
पछिल्लो समय केबुल टेलिभिजन र इन्टरनेट सेवा प्रदायकले प्राधिकरणको संरचना प्रयोग गर्ने तर पैसा तिर्दिन भन्दै ज्यादती गरेको पाइएको छ । उनीहरुले प्राधिकरणको पोल भाडाका विषयमा चर्किएको विवाद सतहमा आएको छ । विवाद बढेपनि त्यसलाई पछिल्लो दिनमा साम्य पार्ने प्रयास भएको भएपनि अटेर गर्दै आएका छन् । समस्या समाधानका लागि गरिएको प्रयासमा समेत दूरसञ्चार प्राधिकरणले भाँजो हालेको छ । 
इन्टरनेट नागरिकको दैनिकी भएको भन्दै व्यापारीको पक्षमा दूरसञ्चार प्राधिकरण उभिएको र आफूलाई सञ्चारमन्त्री गोकूलप्रसाद बाँस्कोटाको समेत साथ रहेको भन्दै प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले समेत विद्युत् प्राधिकरणलाई पैसा नतिर भन्दै उकासेको जानकार स्रोतको भनाइ छ । पुरुषोत्तम खनाल पूर्व अध्यक्ष दिगम्बर झाकै शैलीमा प्राधिकरणलाई पनि कमाई खाने भाँडोको रुपमा विकास गरिरहेको भुक्तभोगीको दाबी छ । 
इन्टरनेट सेवा प्रदायक प्राधिकरणलाई तार र पोलमा प्रयोग गरे वापतको भाडा तिर्न तयार भएका छैनन् । पछिल्लो पटक प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच भएको छलफलमा १० दिनभित्र समस्या समाधान गर्ने सहमति जुटेको इन्टरनेट सेवा प्रदायकले एकलौटी प्रचार गराएका छन् । तर बढी रकम तिर्न उनीहरु तयार भए मात्रै सहमति हुने विद्युत् प्राधिकरणको भनाइ छ । तर बढी रकम समेत तिर्न तयार नहुने र सहमति भयो भन्दै इन्टरनेट सेवा प्रदायले सहमति भएको, दूरसञ्चार प्राधिकरणले पनि सहमति जनाएको भन्दै हौवा फिलाइएको पाइएको छ । 
प्राधिकरणले पोल भाडा वृद्धि गरेपछि इन्टरनेट प्रदायक कम्पनीले भाडा सम्झौता नै गर्न आनकानी गरेका थिए । प्राधिकरणले भाडा तिर्ने सम्झौंता नगरेपछि तार काट्ने चेतावनी दिएपछि विवाद चर्किएको थियो । प्राधिकरण, नेपाल दूरसंचार प्राधिकरण र संघ बसेर पोल भाडादर समायोजन गर्ने सहमति समेत भएको छ । दश दिनभित्र दुबै पक्ष बसेर समस्या समाधान गर्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस