तीन नम्बर प्रदेशकै ठूलो शीतभण्डार माघबाट सञ्चालनमा आउने

सफल खबर संवाददाता

विहीबार, ०२ जेठ २०७६, १६ : ३७
तीन नम्बर प्रदेशकै ठूलो शीतभण्डार माघबाट सञ्चालनमा आउने

– प्रबिण प्रसाई
चितवन । चितवनमा ३ नम्बर प्रदेशकै ठूलो शीतभण्डार आगामी माघबाट सञ्चालनमा आउने भएको छ । कृषि उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले भरतपुर महानगरपालिकाको वडा नम्बर १८ चनौलीमा शीतभण्डार निर्माण भइरहेको छ । २२ सय मेट्रिक टन क्षमता भएको शीतभण्डार निर्माण भइरहेका सहकारी संस्थाका अध्यक्ष तीर्थराज रेग्मीले बताउनु भयो ।

शीतभण्डार सञ्चालन भएपछि चितवन तथा छिमेकी जिल्लाका किसानले उत्पादन गरेका विभिन्न कृषि उपजहरु खेर जान नपाउने अध्यक्ष रेग्मीको भनाइ छ । मौसमअनुसार उत्पादन हुने कृषि उपजहरुलाई शीतभण्डारमा भण्डारण गरेपछि नष्ट नहुने र किसानले आफ्नो परिश्रम र उत्पादनको सही मूल्य प्राप्त गर्नेछन् । जसमा २२ सय मेट्रिक टनसम्म आलुको बीउ भण्डारण गर्न सकिनेछ । 

शीत भण्डार निर्माण भइसकेपछि २५ जना व्यक्तिहरुले रोजगारी पाउने संस्थाका प्रबन्ध सचिव सूर्यमणि पौडेलले बताउनुभयो । पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको उक्त कोल्ड स्टोर आगामी माघबाट सञ्चालनमा आउने सचिव पौडेलले बताउनुभयो । कोल्ड स्टोर निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।



जिल्लामा आलुको बीउ प्रशस्त मात्रामा उत्पादन हुँदाहँुदै पनि भण्डारण गर्न नसकिएको हुँदा अन्य जिल्लाबाट बीउहरु ल्याउनु पर्ने बाध्यता रहेको छ । तर कोल्ड स्टोर निर्माण भइसकेपश्चात जिल्लामै उत्पादीत आलुको बीउ र विभिन्न कृषि उपजहरुलाई भण्डारण गरी पुनःबीउको लागि प्रयोग गर्न सकिने पौडेलको भनाइ छ । 

शीतभण्डार निर्माण कार्य सम्पन्न भइसकेपछि विशेष गरी मध्यमाञ्चलका जिल्लाहरुमा उत्पादित खाद्यान्न, आलुको बीउ र  फलफूलहरु सञ्चित गर्नको लागि राम्रो अवसर हुनेछ । जसले गर्दा यहाँका किसानहरुले सिजनल उत्पादित कृषि उपजहरुलाई भण्डारण गरेर मुल्यवृद्धि भएपछि विक्री वितरण गर्दा किसानहरुले राम्रो आम्दानी गर्न सक्ने विश्वास लिइएको छ ।
 

प्रतिक्रिया दिनुहोस