नेपाललाई एसीसी यू–१६ क्रिकेटको उपाधि

सफल खबर संवाददाता

आइतबार, १५ बैशाख २०७६, १५ : ३४
नेपाललाई एसीसी यू–१६ क्रिकेटको उपाधि

काठमाडौं । एशियाली क्रिकेट काउन्सिल ९एसिसी० यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। 

थाइल्याण्डमा भएको फाइनलमा मलेसियालाई  ५९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ४० रन बनायो । एक सय ४१ रनको विजय लक्ष्य पछ्याएको मलेसियाले ३४ दशमलव ५ ओभरमा मात्र ८१ रन बनायो ।

ब्याटिङतर्फ नेपालका प्रशान्त महतले ४०, दिपक बोहराले २३, विशालविक्रम केसीले २३ र निखिलकुमार सिंहले १३ रन बनाए । बलिङतर्फ मलेसियाका सचिनु हेटीजले तीन र जिनेन्द्र मुरलेले दुई विकेट लिए ।
 
यस्तै मलेसियाका लागि ब्याटिङ गर्दै मोहमद हजिक एैमानले १८, मोहमद आजमले १६ तथा जिनेन्द्र मुरलेले १४ रन बनाए । बलिङतर्फ नेपालका लागि विशालकुमार पटेलले चार, दिपक बोहराले तीन तथा निखिलकुमार सिंह र कृश कार्कीले एक-एक विकेट लिए ।
यसभन्दा अघिल्लो संस्करणको उपाधि पनि नेपाललेनै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस