उद्योगीहरुले भने, ‘सरकार आयातीत वस्तुको भन्सार दर बढाऊ’

सफल खबर संवाददाता

सोमबार, ०२ बैशाख २०७६, १७ : ४२
उद्योगीहरुले भने, ‘सरकार आयातीत वस्तुको भन्सार दर बढाऊ’

चितवन । उद्योगीहरुले आयातीत वस्तुको भन्सार दर बढाउन माग गरेका छन् । आज भरतपुरमा पूर्व बजेटबारे भएको छलफलमा प्रदेश नं ३, गण्डकी प्रदेश र प्रदेश नं ५ का उद्योगीहरुले विदेशबाट आयातीत वस्तुको भन्सार दर उच्च बनाउन माग गरेका थिए । 
अर्थमन्त्री डा युवराज खतिवडा, अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीसहितको उपस्थितिमा भएको छलफलमा उद्योगीहरुले आफना समस्याहरु राखेका थिए । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले नेपालमा आयातीत वस्तु गुणस्तरहीन भएको र नेपालको गुणस्तरीय वस्तु निर्यात हुन नसकेको बताउनुभयो । 
कार्यक्रममा चितवन उद्योग संघका सदस्य युवराज ओस्तीले समग्र उद्योगीहरुको समस्यासहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले औद्योगिक शिक्षालाई प्राथमिकता दिन, बैंकको व्याजमा एकरुपता ल्याउन, केरा, माछा र महमा भन्सार दर बढाउन माग गर्नुभएको थियो । 
कार्यक्रममा चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले विदेशबाट आयातीत केराको भन्सार बढाउनुपर्ने बताउनुभयो । नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिव पौडेलले भारतबाट आउने मह र महजन्य सामग्रीमा जम्मा एक प्रतिशत भन्सार लागेको बताउनुभयो । 

नेपाल मन्त्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र महतोले फर्मालीन हालेको माछा विदेशबाट आयात भइरहेको गुनासो गनुभएको थियो । कार्यक्रममा रुपेन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले उद्योग खोल्न भूमिको अभाव भएको बताउनुभयो । 
पोखरा उद्योग संघका अध्यक्ष बलभद्र नकर्मीले यस पटकको बजेटमा औद्योगिक क्षेत्रलाई प्राथमिकता दिन सुझाव दिनुभएको थियो । नेपाल अण्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कँडेलले आत्मनिर्भर भएको पोल्ट्री क्षेत्रलाई प्राथमिकता दिनुुपर्ने बताउनुभयो ।
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द विष्टले उद्योगमैत्री वातावरण बनाउन माग गरेका थिए ।  
कार्यक्रममा नेपाल इँटा उद्योग महासंघका उपाध्यक्ष नारायण सापकोटा, उद्योग संघका मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतले उद्योगीहरुको समस्या राखेका थिए । 
कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले नेपालमा आयात हुने सीसाको डरलाग्दो अवस्था भएको बताउनुभयो । 
अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले सरकारले उद्योगमा वर्षको २५ खर्ब छुट दिएको बताउनुभयो । 
 

प्रतिक्रिया दिनुहोस