अन्तर्वार्ता

मानसिक रोगमा धेरैजसो लागूऔषधको समस्या देखिएको छ

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०७५, १४ : ४५
मानसिक रोगमा धेरैजसो लागूऔषधको समस्या देखिएको छ

नेपालमा मानसिक रोग दिन प्रतिदिन बढ्दो अवस्थामा छ । मानिसहरु विभिन्न कारण यसको शिकार भइरहेका छन् । समयमै औषधोपचार नभए अन्ततः मानिसको दिमाग नै काम नलाग्ने हुन सक्छ । चितवनको भरतपुर अस्पतालमा पनि मानसिक रोगको उपचार भइरहेको छ । उक्त अस्पतालको मानसिक (न्यूरो साइक्याट्रिक) विभागमा कार्यरत डा. मोहम्मद ऐनुद्दीन (आठौं तह मेडिकल अफिसर) सँग सफल खबरका अजय गोर्खालीले गर्नुभएको कुराकानी ।

– न्यूरो साइक्याट्रिक (मानसिक समस्या) भन्नाले के बुझिन्छ ? यो कस्तो किसिमको रोग हो ?

न्यूरो साइकोसिस भनेको मान्छेको मानसिक स्वास्थ्य जुन हुन्छ, त्यसको क्षमतामा ह्रास आउनु हो । अनावश्यक डर–त्रास, चिन्ता लागिरहने, उदासीनता हुने, जोश जाँगर हराएजस्तो लाग्ने अनि नभएको आवाज कानले सुन्ने, नभएको दृश्य देख्ने, सोच्ने क्षमता तथा सही–गलत पहिचान गर्ने र काम गर्ने क्षमतामा ह्रास आउने हुन्छ । काम गर्ने लगनशीलता हुँदैन । कामको उत्पादनशीलता राम्रो हुन सक्दैन । 

– यो रोग कति प्रकारको हुन्छ ?

– प्रकार त अब धेरै प्रकारको हुन्छ । मुख्य रुपमा साइकोसिस र न्यूरोसिस भन्न सकिन्छ । सामान्य खाले मानसिक समस्यालाई न्यूरोसिस भनिन्छ । न्युरोसिसमा मन आत्तिनेदेखि अनावश्यक चिन्ता लिने समस्या हुन्छ । साइकोसिस भनेको चाहिँ कडा खाले मानसिक समस्या हो । जस्तै दिमागले काम गर्न नसक्ने तथा व्यक्ति वास्तविकतासँग टाढा भएको हुन्छ । समाज र आफ्नो व्यक्तिगत रुपमा जुन सन्तुलन हुनुपर्ने हो, त्यो गर्न सक्दैन । आवश्यक डर लाग्ने, मुटु ढुकढुक हुने, आत्तिने, छटपटी हुने, कहाँ जाउँ के गरुँ जस्तो हुने, चिन्ता बढी लिने, निन्द्रा कम अथवा बढी लाग्ने, भोक कम वा बढी लाग्ने, काम गर्न मन नलाग्ने, जोश जाँगर हराएजस्तो हुने, डिप्रेसनमा पुग्ने जस्ता लक्षणहरु देखिन्छ । 

– मानसिक रोगका कारणहरु के के हुन सक्छन् ? 

 कारण त धेरै छन् तर मानसिक समस्याहरुमा यही कारण हो भन्न गाह्रो छ । यसमा रोग वंशाणुगत पनि हुन सक्छ । बाबुआमा दुवै जनालाई छ भने छोराछोरीमा हुने सम्भावना निकै बढी हुन्छ । बाबुआमामध्ये एउटामा छ भने सम्भावना कम हुन्छ । मानसिक रोगको खास कारण दिमागमा रासायनिक उथलपुथल हुनु हो । सामाजिक वातावरण, समाजमा विद्यमान सोचाइदेखि प्राकृतिक विपद् वा सङ्कटको कारण पनि मानिसहरु मानसिक रोगको शिकार भएको पाइएका छन् । जस्तै २०७२ सालको भूकम्पको कारण पनि धेरै मानिसमा मानसिक समस्या भएको देखियो ।  

– मानसिक रोगसित लागूऔषधको सम्बन्ध कत्तिको रहन्छ ?

 यो एकदम राम्रो प्रश्न गर्नुभयो । लागूऔषध र मानसिक समस्याबीच प्रत्यक्ष सम्बन्ध हुन्छ । कडा खाले लागूपदार्थहरु जस्तै गाँजा, भाङ, ट्याप एवम् सिरिन्जबाट लिने पेनकिलर औषधिहरु बढी मात्रामा लियो भने त्यो लागूऔषध हुन्छ र त्यसले मानसिक समस्या निम्त्याउँछ । लागुऔषधले एक त खाने बेलामा मादकता गराउँछ र अर्काे नपाएमा झन् गाह्रो हुन्छ । जस्तै उदाहरणको लागि रक्सी नै लिऊँ  । रक्सी खाने मान्छे खान पाएन भने साह्रै गाह्रो हुन्छ, कहिलेकाहीँ ज्यानसमेत जान सक्छ । 

– यसलाई कसरी रोकथाम गर्न सकिन्छ ?

सबैभन्दा पहिले त मानसिक स्वास्थ्य शिक्षा चाहियो । यो मानसिक समस्या हो, यसका लक्षण यस्ता हुन्छन् भनेर चिन्नुप¥यो । आजभोलि हाम्रो समाजमा धेरै मानसिक समस्या छन् तर मान्छेलाई ज्ञान नभएर बढ्दै गएको छ । ज्वरो आयो भन्ने त थाहा हुन्छ । 
तर मानसिक समस्या भयो भने थाहा नहुन सक्छ । जस्तै महिनौं भयो ननिदाएको, दिमागमा एकदम उथलपुथल भइरहेछ, मानसिक तनाव भइरहेछ, नसालु पदार्थ सेवनले गर्दा समस्या भइरहेछ तर उसलाई थाहा हुँदैन । मानसिक रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ, औषधि उपचार गराउनुपर्छ भन्ने थाहा हुँदैन । कतिमा आफूलाई थाहा भए पनि समाजको डरले उपचारमा जाँदैन । 
अस्पतालको मानसिक विभाग तथा मानसिक डाक्टरकहाँ गएँ भने समाजका अरु मान्छेले के सोच्छन्, दिमाग बिग्रेको हो कि खुस्केको हो भन्ठान्छन् कि भनेर ऊ उपचारमा जाँदैन । समाजमा रहेको यस्ता भ्रम तथा विकृतिले गर्दा झन् झन् व्यथा थपिँदै जान्छ र त्यसले कडाभन्दा कडा रुप लिँदै जान्छ । अन्तिम अवस्था भनेको दिमाग काम नलागेर रोडमा पुग्छ मान्छे । न खाने कुराको होस हुन्छ न लुगाको होस हुन्छ । आफ्नै दुनियाँमा पुग्छ मान्छे, आफैं बर्बराउँछ र दिमाग केही काम नलाग्ने हुन्छ । 

– नेपालमा मानसिक रोगको अवस्था के छ ? 

– दिन प्रतिदिन यो महामारीको रुपमा बढिरहेछ । यसमा सबैभन्दा पहिलो कुरा के बुझ्नुप¥यो भने अशिक्षा अर्थात् मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान नभएको कारणले यस्तो भइरहेको हो । सही ज्ञान नभएको कारण समाजमा धेरै भ्रमहरु छन् । अहिलेसम्म विद्यालय शिक्षाको पाठ्यपुस्तकमा मानसिक स्वास्थ्य विषय राखिएको पाइँदैन, यो राख्न अत्यन्त आवश्यक छ । प्रजनन् स्वास्थ्य, यौन शिक्षा जस्तै विद्यालयहरुमा मानसिक स्वास्थ्य शिक्षा पनि अनिवार्य रुपमा राखियो भने धेरै राम्रो हुनेछ ।
कडा खाले समस्या भएको कमै हुन्छन् । सामान्यखाले जस्तै चिन्ता बढी लिने, डराउने, डिप्रेसन भएको प्रायःमा देखिएको छ । अहिलेको हाम्रो समाजलाई हेर्दाखेरि रक्सीले गर्दा मानसिक समस्या भएको धेरै आउँछन् । 
 
– कुन उमेर समूह बढी प्रभावित छन् ?

उमेर समूह निश्चित भन्न सकिँदैन । हरेक उमेरकालाई समस्या हुन सक्छ । सानो बच्चादेखि लिएर वृद्धवृद्धासम्मलाई मानसिक समस्या देखिएको छ । टाउकोमा चोटपटकको कारण पनि मानसिक समस्या हुन सक्छ । टाउकोमा गहिरो चोट लागेको छ भने छारेरोगदेखि मानसिक समस्या पनि हुन सक्छ । 

– कसैलाई छारेरोग लाग्यो भने उसलाई मानसिक समस्या हुन सक्छ कि सक्दैन ?

धेरै सम्भावना हुन्छ । किनभने यहाँ आउने छारेरोगका बिरामीहरुमा प्रायःजसो कुनै न कुनै मानसिक समस्या साथमा भएको देखिएको छ । 

– यो रोग यति समयमा निको हुन्छ भन्ने केही छ ?

मोटामोटी वर्षदिन जति लाग्छ । औषधि खाएको त महिना दिन जतिमा कन्ट्रोल हुन्छ । तर वर्ष दिन जति औषधि राम्रोसँग खायो भने सञ्चो हुने सम्भावना धेरै हुन्छ । तर हाम्रो समाजमा के भ्रम छ भने मानसिक रोगको औषधि खायो भने खाएको खायै गर्नुपर्छ, बाँचुञ्जेल खानुपर्छ भन्ने सोच छ, त्यो गलत हो । डाक्टरको सल्लाह अनुसार औषधि चाहिँ नियमित खानुपर्छ । औषधि झ्याप्प बन्द गर्ने, झ्याप्प सुरु गर्ने गर्दा समस्या झन् बढ्छ । 

– यस रोगबाट बच्न मानिसहरुले के कस्तो सावधानी अपनाउनुपर्ने हुन्छ ? 

सबैभन्दा पहिले त घरदेखि लिएर काम गर्ने ठाउँसम्म तनावरहित वातावरण सिर्जना गर्नुप¥यो । नसालु पदार्थको सेवन गर्नुभएन । किनभने धेरैजसो मानसिक समस्याको कारण नसालु पदार्थ हो । नियमित औषधि सेवन ग¥यो भने मानसिक समस्यालाई निको पार्न सकिन्छ । शतप्रतिशत न नभनौं, एक÷दुई प्रतिशत निको नहुन सक्छ । जस्तै कसैमा जन्मेदेखिकै समस्या छ, बच्चादेखिकै समस्या छ, सुस्तमनस्थितिको समस्या छ भने यस्तोलाई छोडेर अन्य बाँकी मानसिक समस्याहरुलाई धेरै हदसम्म निको पार्न सकिन्छ । 


 

प्रतिक्रिया दिनुहोस