जलवायु परिवर्तन: भौतिक र आर्थिक प्रभाव तीव्र गतिमा बढ्दै

एजेन्सी

विहीबार, २१ चैत्र २०७५, १२ : ३६
जलवायु परिवर्तन: भौतिक र आर्थिक प्रभाव तीव्र गतिमा बढ्दै

बीबीसी । विश्वव्यापी तापमान वृद्धिका भौतिक र आर्थिक असरहरू तीव्र गतिमा बढिरहेको संयुक्त राष्ट्रसङ्घको मौसमसम्बन्धी निकाय डब्ल्यूएमओले बताएको छ।

उसका अनुसार अहिलेसम्मकै उच्च तहमा पुगेको हरितगृह ग्यासले विश्वको तापमान 'निकै खतरनाक तहमा' पुर्‍याउँदैछ।

यो विवरण डब्ल्ल्यूएमको २५औँ वार्षिक प्रतिवेदन 'स्टेट अफ द क्लाइमेट'मा प्रकाशित भएको छ।

भर्खरै प्रकाशित अन्तर्राष्ट्रिय ऊर्जा निकाय आईईएको अर्को प्रतिवेदनले सन् २०१८ मा कार्बन डाइअक्साइडको मात्रा बढेको देखाएको थियो।
सर्वप्रथम सन् १९९३ मा डब्ल्यूएमओको प्रतिवेदन प्रकाशित हुँदा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ३५७ पीपीएम थियो। अहिले बढेर यो मात्रा ४०५.५ पीपीएम पुगेको छ र थप बढ्ने अनुमान गरिएको छ।

कार्बन डाइअक्साइडको बढ्दो मात्राले तापमान वृद्धि भएको छ।

सन् १८५० देखि १९०० को अवधिमा भएको तापक्रमभन्दा अहिलेको तापक्रम एक डिग्री सेन्टिग्रेडले बढी छ।
उक्त अध्ययनका अनुसार सन् २०१५ देखि २०१८ का वर्षा सर्वाधिक गर्मी भयो। अभिलेख राख्न थालेदेखि सन् २०१८ चौथौ सर्वाधिक गर्मी वर्ष हो।
सन् २०१८ मा समुद्री सतह पनि पहिलाको विश्वव्यापी रूपमा औसत ३.७ मिलिमिटरले बढिरहेको छ।

सन् २०१८ मा भएका मुख्य मौसमी असर
प्रतिवेदनका अनुसार सन् २०१८ मा छ करोड २० लाख मानिसहरूलाई प्रभाव पार्ने घटना मौसमी विपद् चरम मौसम र जलवायुसम्बन्धी घटनासँग सम्बन्धित थिए
साढे तीन करोड मानिसहरू बाढीबाट प्रभावित भए
फ्लोरेन्स समुद्री आँधी र माइकल समुद्री आँधी सन् २०१८ मा अमेरिकामा भएका १४ मध्ये सर्वाधिक क्षति पुर्‍याउने घटना हुन्। तिनलाई 'अर्बौँ डलरका विपद्' मानिन्छ
म्याङ्कुट आँधीका कारण खासगरी फिलिपिन्समा मात्र २४ लाख मानिस प्रभावित भए, कम्तीमा १३४ को ज्यान गयो
युरोप, जापान र अमेरिकामा १६ सयभन्दा बढी व्यक्तिको मृत्यु तातो वायुलहर र भीषण डढेलोका कारण भयो
भारतको केरलामा ठूलो वर्षाको हुँदा झन्डै एक शताब्दीको सबैभन्दा नराम्रो बाढी आयो
विश्व मौसम सङ्गठनका प्रमुखका अनुसार विश्वव्यापी तापमानका असर सन् २०१९ मा समेत निरन्तर देखिएको छ।

"मोजाम्बिक, जिम्बाब्वे र मलावीमा आएको इडाई समुद्री आँधी र त्यसले ल्याएको बाढीले ठूलो जनधनको क्षति पुर्‍यायो जुन दक्षिणी गोलार्धमा भएको मौसमसम्बन्धी सबैभन्दा ठूलो विपद् हुनसक्छ," सङ्गठनका महासचिव पेटेरी तालसले भने।
मार्च अन्तिम साता अन्तर्राष्ट्रिय ऊर्जा निकायले प्रकाशित गरेको अर्को तथ्याङ्क चिन्ताजनक छ।

सो तथ्याङ्कका अनुसार छ वर्षभित्र ऊर्जा खपत तीव्र गतिमा बढेकाले सन् २०१८ मा कार्बन उत्सर्जन १.७ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस