पुस्तक समीक्षा : काँचुली

'मनको कायाकल्पका लागि कॉचुली'

विहीबार, १४ चैत्र २०७५, १६ : १३
पुस्तक समीक्षा : काँचुली

- ऋषिराम पाण्डेय

सर्पले कॉचुली फेर्छ भन्ने कुरा सबैलाई थाहा छ । मनले पनि कॉचुली फेर्न सक्छ भन्ने कुरा कमैलाई थाहा होला । रोशन दाहालको आध्यात्मिक उपन्यास काँचुली नेपाली आख्यान लेखनमा गरिएको नौलो प्रयोग हो । यो उपन्यासले मान्छेलाई आध्यात्मिक ज्ञान त दिन्छ नै त्यसका अलावा यसले मान्छेलाई मानसिक तनावबाट माथि उठ्नका लागि पनि मार्गदर्शन गर्न सक्छ ।

जीवन के हो ? किन हो र कसरी हो ? भन्ने प्रश्न सबैमा उठ्छ । ती प्रश्नको उत्तर पनि यसमा छ । तीर्थ यस उपन्यासको पात्र हो जसको वरिपरि कथा घुम्छ । उसको जीवनमा आएका अनेक उतारचढावहरू जेलिएर कथा बुनिएको छ । यसले मान्छेको जीवनमा आउने जुनजुन घटनाहरू छन् ती सबैको कुनै न कुनै कारण हुन्छ भन्ने निष्कर्ष निकाल्छ । पूर्वजन्म, त्यसको कारण र प्रभावजस्ता चाखलाग्दा बिषयहरू नौला लाग्छन् । तर आध्यात्मिक साधकका लागि नौलो नहुन सक्छ । यो उपन्यास पराभौतिक बिषयमा लेखिएको आधुनिक आख्यान हो ।

अध्यात्ममा कर्म र कर्मको परिणामलाई बिषेश रूपले हेरिन्छ । पूर्वजन्मबाट हाम्रो संस्कार संचित भएर आएको हुन्छ भन्ने संदेश यसमा पाइन्छ । हाम्रा हरेक कर्मसॅगको हाम्रो सम्बन्ध हाम्रो अवचेतन मनमा रहेको हुन्छ । जसले हामीलाई यो जन्ममा मात्र होइन आउने जन्ममा पनि प्रभाव पार्न सक्छ । पहिलेका जन्ममा हामीले हाम्रो अवचेतन मनमा संग्रह हुने खालका कर्म गरेका रहेछौं भने पनि त्यसको प्रभाव अहिले देखिन्छ । पहिलेका जन्ममा भएका सम्बन्धहरू पनि अहिले कुनै न कुनै सम्बन्धको रूपमा स्थापित भएको हुन सक्छ । मान्छेको चेतनालाई अध्यात्मतिर तान्न यसले भूमिका खेल्न सक्छ । मनको कायाकल्पका लागि यो अति उपयोगी छ । यसरी सकारात्म सन्देश दिने उपन्यास कमै हुन्छन् ।

कथाकारले बुद्ध धर्मको अध्ययनमा आफूलाई खारेको देखिन्छ । बुद्धकालीन समयलाई पनि बडो चाखपूर्ण तरिकाले व्यक्त गर्न सक्नु उनको खुबी हो । विषयबस्तु सामान्यझैं लागे पनि उनको कथाचयनको क्षमता अद्भूत छ । भाषिक रूपमा पनि उपन्यास अब्बल देखिन्छ । सरल भाषाले पाठकलाई आकर्षित गर्छ । यो उपन्यास अध्यात्मका बारेमा थोरै पनि थाहा नपाएकालाई नयॉ बिषय बन्छ । पाठकले केही पनि नबुझ्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस