डढेलो नियन्त्रणका लागि व्यापक रुपमा सचेतना कार्यक्रम

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, १४ चैत्र २०७५, ११ : १२
डढेलो नियन्त्रणका लागि व्यापक रुपमा सचेतना कार्यक्रम

चितवन । डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रमलाई व्यापक बनाएको छ । 
वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि उपभोक्ता नै पहिले जागरुक र सचेत हुनुपर्ने भएकाले सचेतना कार्यक्रमलाई व्यापक बनाइएको वन कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार रेडियो, टिभी, पत्रपत्रिका लगायतका सञ्चारमाध्यमबाट निरन्तर सचेतनामुलक सूचना प्रवाह भइरहेको छ । त्यस्तै वन कार्यालयले चैत १ गतेबाट ७ गतेसम्म डढेलो सप्ताह गरेको थियो । सप्ताहभर डढेलोबाट बढी जोखिममा रहेका वन वरपरका गाउँबस्तीमा गएर माइकिङ्ग गर्ने, पोष्टर टाँस्ने, पर्चा बाँड्ने, ¥याली गर्ने लगायतका काम गरिएको उनले बताए । 

विभिन्न वनहरुमा वन रक्षक टोली परिचालन गरिएको र उनीहरुले जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, अग्निरेखा बनाउने, सुकेका पात पतिङ्गरहरु हटाउने कामहरु गरिरहेको उनले जानकारी दिए । सूचना अधिकारी पौडेलका अनुसार आगो निभाउने औजारहरु तयारी अवस्थामा राखिएको छ । वनमा आगो लागेमा त्यसलाई तत्काल नियन्त्रण गर्न जिल्लाभर रहेका सव–डिभिजन वन कार्यालयमा टोलीहरुलाई चौबीसै घण्टा खटाइएको छ । नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना, अग्नि नियन्त्रक, वन रक्षक लगायत सम्पूर्ण सरोकारवालाहरुलाई वन डढेलो रोकथाम तथा नियन्त्रणको पूर्वतयारी गर्न फिल्ड अभ्यास गराइएको उनले बताए ।

डिभिजन वन कार्यालयले डढेलो नियन्त्रणका लागि सुरक्षा निकायका व्यक्तिहरुलाई स्रोतव्यक्ति तोकेको छ । फोन गर्नासाथ उनीहरु तुरुन्तै डढेलो लागेको स्थानमा पुग्छन् । चितवनमा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रहरी निरीक्षक कृष्ण खड्का (९८५५०९०३०५), नेपाल प्रहरीका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङ (९८५६०९०२६८), प्रहरी सञ्चार (९८५५०८२७४४), कालीबहादुर गणका मेजर योगेन्द्र धमला (९८५१०१९१६६, ०५६५२०२२२) र डिभिजन वन कार्यालयका सुबेदार नारायणप्रसाद न्यौपाने (९८४५०४७९८९, ०५६५२०२१५) लाई स्रोतव्यक्ति तोकिएको छ ।

डढेलोको कारण
सूचना अधिकारी पौडेलका अनुसार स्थानीयले वनमा गाइबस्तुका लागि घाँस उमार्न लुकिछिपी डढेलो लगाउने गर्छन् । बाटो सजिलो बनाउन चोरहरुले नियतवश वनमा आगो लगाउने गर्छन् । त्यस्तै बारीमा लागेको आगो वनमा पस्दा, प्रज्ज्वलनशील वस्तु जाथाभावी फाल्दा र वनमा गएका व्यक्तिहरुको हेल्चक्र्याँइका कारण पनि डढेलो लाग्ने गरेको पाइन्छ । 

वन कार्यालयको योजना ‘जिरो फायर’ अर्थात् डढेलो नै लाग्न नदिनु भन्ने छ । तर वन उपभोक्ताहरुको कारणले डढेलो नियन्त्रणमा चुनौती थपिएको छ । वनमा चुरोटको ठुटो फाल्ने, पातहरु पोल्ने लगायतका कामले डढेलोको खतरा बढाइरहेको छ । ‘वनभित्र गएर कसैले नियतवश आगो लगाउँछ भने हामीले के नै गर्न सक्छौं र ? अन्य कारणबाट डढेलो लाग्न नदिन वन कार्यालयले गर्नु पर्ने सम्पूर्ण काम गरेको छ’ उनी दाबी गर्छन् । वनमा आगो लगाउने वा आगलागी हुने कुनै काम गर्ने व्यक्ति पत्ता लागेमा कारबाहीको व्यवस्था रहेको उनले बताए  । 

यस वर्ष अहिलेसम्म फाटफुटबाहेक ठुलो डढेलो नलागेको सूचना अधिकारी पौडेलले जानकारी गराए । गत वर्ष १ हजार ६ सय ७९ हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो । देशभरका अधिकांश वनमा चैत र वैशाख महिनामा डढेलो लाग्ने गर्छ । डढेलोबाट वर्षेनी बहुमूल्य जडिबुटी, काठदाउरा नष्ट हुनुका साथै वन्यजन्तुको मृत्यु र उनीहरुका बासस्थानमा क्षति पुग्ने गर्दछ ।
 

प्रतिक्रिया दिनुहोस