नारायणगढ–बुटवल सडक विस्तार : प्रधानमन्त्री ओलीद्वारा भोलि शिलान्यास गरिने

विहीबार, ०७ चैत्र २०७५, १६ : १८
नारायणगढ–बुटवल सडक विस्तार : प्रधानमन्त्री ओलीद्वारा भोलि शिलान्यास गरिने

चितवन । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगतको बुटवल–नारायणगढ सडकखण्ड विस्तारकोे प्रारम्भिक काम सुरु भएको छ । भोलि (शुक्रबार) एक कार्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एव्म प्रधानमन्त्री केपी शर्मा ओलीले सडक खण्डको बुटवलमा औपचारिक रुपमा शिलान्यास गर्नु हुने भएको छ । 

माघ २४ मा निर्माणका लागि सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयले ठेक्कामा सबैभन्दा कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता गरी काम आरम्भ भएको थियो । 

अहिले सडक निर्माणको क्षेत्रमा पर्ने रुख कटानका लागि लगत संकलन गर्ने काम भइरहेको छ । सडक निर्माणका क्रममा बुटवलदेखि गैंडाकोटसम्म सडकको दुवै किनारामा रहेका झन्डै ११ हजार रुख काट्नुपर्ने भएकाले त्यसको प्रक्रियासमेत अघि बढेको आयोजनाले जनाएको छ ।


सम्झौताअनुसार पहिलो चरणको विस्तारको काम २०८० साउन २२ मा सम्पन्न हुनेछ । त्यसपछि २०८४ साउन २१ सम्म निर्माण कम्पनीले नै मर्मत गर्ने सम्झौता भएको भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अघिका निर्माण आयोजनामा मर्मतको समयावधि १ वर्षको हुने भए पनि यो योजनामा मर्मतको अवधि ४ वर्ष राखेर नयाँ परिक्षण गर्न लागिएको छ । विभागले एसियाली विकास बैंकको ३२ वर्षे ऋण सहयोगमा सडक विस्तार हुन थालेको हो । सडक निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ छ । त्यसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ । थप रकम नेपाल सरकारकै हुनेछ । एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको एडीबीको आयोजना निर्देशनालयले जनाएको छ ।

आयोजना निर्देशक दीपक श्रेष्ठका अनुसा निर्माण अवधि साढे ४ वर्षको हुनेछ । निर्देशनालयका अनुसार १ सय १३ किमिलाई दुई खण्डमा विभाजन गरिएको छ । पहिलो खण्ड गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किमि र दोस्रो खण्ड दाउन्नेदेखि बुटवल चौराहासम्म ४८ किमि छ । 

गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको बुटवल–नारायणगढ सडक सुधार आयोजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस