विप्लवका गोप्य कागजात प्रहरीद्वारा जफत

बुधबार, ०६ चैत्र २०७५, १५ : ५५
विप्लवका गोप्य कागजात प्रहरीद्वारा जफत

चितवन । भरतपुर महानगर २३ बस्ने विप्लव कार्यकर्ता बिरू तामाङ गिरफ्तार भएका छन् । चितवन प्रहरीले बिरूको घर खानतलास गर्ने क्रममा विप्लव समूहसँग सम्बन्धित थुप्रै कागजपत्र जफत गरेको छ ।

तामाङ जिल्ला तहका नेता हुन् । यसअघि चितवन सेक्रेटरी रहेका लालबहादुर बिसीलाई प्रहरीबाट भगाउने क्रममा उनले इँटा प्रहार गरेका थिए । सो बखत तामाङ र बिसी दुवै प्रहरीको नियन्त्रणबाट फुत्कन सफल भएका थिए ।

‘विप्लव समूहसँग सम्बन्धित विभिन्न कागजात रहेको पाइयो, चितवन प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले भने, कागजातका विषयमा अनुसन्धान भइरहेको छ ।’ तामाङलाई खोज्ने क्रममा उनको घरआसपास र बारी क्षेत्रमा पनि खानतलास गर्ने क्रममा माटोमा गाडेर राखेको अवस्थामा बोरामा कागजपत्र फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार जफत गरिएका कागजपत्रहरुमा जनसत्ताका निर्णय, तमसुक, चन्दा संकलनका रेकर्ड, लिखत, पार्टी प्रशिक्षणका कागजात, योजना सबै बोरामा पोको पारेको अवस्थामा माटोभित्र फेला परेको हो । भ्रष्टाचारीलाई कारबाही गर्ने, कोकोबाट चन्दा संकलन गर्ने भन्ने कागजपत्र जफत भएको प्रहरीले जनाएको छ ।

कतिपय मानिसले न्याय पाऊँ भनी विप्लवको जनसरकारलाई सम्बोधन गरेको पत्रहरु समेत फेला परेका छन् । जग्गा किचलोको विषयमा भएका विवादहरु पनि फेला परेका छन् । चितवन प्रहरीले बिरू तामाङसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको छ । राजकुमार तिमिल्सिना, गणराज श्रेष्ठ र विक्रम न्यौपाने तथा बिरूविरूद्ध आगजनी, बम विस्फोट, संगठित अपराधअन्तर्गत मुद्दा चलाएको छ । विप्लव समर्थक अन्य नेता कार्यकर्ता भने अहिले फरार छन् । आफूहरुसँग सूचना भएका र यसअघि उश्रृंखल गतिविधिमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस