सिके राउत गठबन्धनको बैठक लहानमा सुरु, बैठक हलमा मोबाइल समेत लान नपाइने

सफल खबर संवाददाता

आइतबार, ०३ चैत्र २०७५, १४ : १४
सिके राउत गठबन्धनको बैठक लहानमा  सुरु, बैठक हलमा मोबाइल समेत लान नपाइने

काठमाडौं  । सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा सुरु भएको छ । रातो साडीचोलोमा सजिएका पञ्चकन्याले ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएपछि बैठक शुरु गरिएको थियो ।  बैठक सिरहाको लहान मरवारी सेवा आश्रममा बसिरहेको छ । 

मूलधारमा आएपछि गठबन्धनको अगामी रणनीति कस्तो हुने, पार्टी दर्ता गराएर अगाडि बढ्ने कि नबढ्ने, मधेशमा कुन–कुन एजेण्डा उठाउने लगायतका विषयमा छलफल हुने गठबन्धनका नेता सुदीपराज कुवाहाले जानकारी दिए । 

स्वतन्त्र मधेशको एजेण्डा छाडेको भन्दै सहमतिपछि गठबन्धनभित्र केही नेताले असन्तुष्टि जनाइरहेका छन् । कतिपय कार्यकर्ताले त धोका भएको भन्दै यो कुरा सिके राउत समक्ष राखिसकेका छन् । 

गठबन्धनले राममनोहर यादवलाई सहिद घोषणा गराउन नसकेकोमा पनि थुप्रै कार्यकर्ताहरुले चित्त दुखाएका छन् । यी सबै विषयमा सिके राउतले दुई दिनसम्म चल्ने बैठकमा चित्त बुझाउने प्रयास गर्ने स्रोतको दावी छ । 

बैठकमा उपत्यका सहिद २३ जिल्लाका कम्तीमा २०० जनाको सहभागिता रहेको बताइएको छ । बैठक भोलिसम्म चल्नेछ । बैठकपछि राउतलाई लहानमै शक्ति प्रदर्शन सहित नागरिक अभिनन्द गर्ने कार्यक्रम रहेको छ । 
बैठक वरिपरी सुरक्षा व्यवस्था कडा पारिएको छ । यहाँसम्म कि परिषद्का सदस्यहरुको मोवाइल समेत बैठकस्थलभित्र निषेध गरिएको छ । उनीहरुको नागरिकता वा अन्य पहिचान खुल्ने प्रमाणपत्र हेरेर मात्र भित्र छिर्न दिइएको छ । 

सरकारले गठबन्धनसँग फागुन २२ गते ११ बुँदे सम्झौता गरेको थियो । सो सम्झौतापछि गठबन्धनका संयोजक राउत फागुन २६ गते जनकपुर पुगेका थिए । सरकारसँग भएको ११ बुँदे सम्झौताबाट मूलधारमा आएपछि गठबन्धनको यो पहिलो बैठक हो । 

प्रतिक्रिया दिनुहोस