‘क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउन पूर्वाधार पुग्छ’

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०७५, १५ : १४
‘क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउन पूर्वाधार पुग्छ’

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा स्वदेशका मात्र होइनन्, विदेश भारतबाट समेत उपचार गराउन आउँछन् । यो अस्पतालमा दैनिक ६०० जना बिरामीले उपचार गराइरहेका छन् । यस अस्पतालमा २५६ वेड थपेर ४५० वेडमा विस्तार गरिएको छ । 
पछिल्लो समय प्रभावकारी उपचार पद्धति अँगालेको क्यान्सर अस्पताल भरतपुरलाई प्रतिष्ठान बनाउन पहल सुरु गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक क्यान्सर रोग विशेषज्ञ डाक्टर विजयचन्द्र आचार्य प्रतिष्ठान बनाउन सबै खालका पूर्वाधार क्यान्सर अस्पतालमा रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अब क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउन आवश्यक छ, हामीसँग जनशक्ति, जग्गा र अन्य खालका पूर्वाधारहरु सबै पुग्छन् ।’ 
यसका लागि स्वास्थ्य मन्त्रालय र नेपाल सरकारसँग प्रतिष्ठानको विषयमा छलफल भइसकेको उहाँले बताउनुभयो । क्यान्सर  अस्पताललाई प्रतिष्ठान बनाएको खण्डमा क्यान्सरको अध्ययन अनुसन्धानको कामलाई अघि सार्न सकिने निर्देशक आचार्यको भनाइ थियो । 
क्यान्सर अस्पताल केन्द्रस्तरको अस्पताल हो । सरकारले विनियोजन गर्ने हरेक कार्यक्रममा अन्य अस्पताललाई भन्दा क्यान्सर अस्पताललाई कम बजेट पठाइरहेको निर्देशक आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केन्द्रको अन्य अस्पतालजसरी क्यान्सर अस्पताललाई हेरिएको छैन, हेरिनुपर्छ ।’
क्यान्सर अस्पतालले देशको आधाभन्दा बढी क्यान्सर रोगीको उपचार गर्दै आइरहेको उहाँले बताउनुहुन्छ । क्यान्सर परीक्षणदेखि अप्रेसन, किमोथेरापी र रेडियोथेरापीलगायतको सेवा प्रदान गर्दै आइरहेको यस अस्पताललाई अब प्रतिष्ठान बनाउनुपर्ने उहाँले माग गर्नुभयो ।   

बजेट घट्यो
क्यान्सर अस्पताललाई दिँदै आएको बजेट घट्दै गएको अस्पतालले जनाएको छ । ‘बजेट बढ्नुपर्ने हो, तर कटौती हुँदै गयो’ निर्देशक आचार्यले भन्नुभयो, ‘ गत वर्ष क्यान्सर अस्पतालको भागमा २७ करोड ५० लाख परेको थियो । यो वर्ष क्यान्सर अस्पतालले २५ करोड रकम करकोषबाट परेको छ ।’
अस्पतालका अनुसार अर्थमन्त्रालयले उठाउँदै आएको सुर्तीजन्य पदार्थ र मादक पदार्थको हेल्थ ट्याक्स सबै क्यान्सर अस्पतालले पाउने गरेको थियोतर अहिले सरकारले सो नियमलाई मिचेर कर कोषमा उठेको रकम सुर्तीजन्य पदार्थबाट हुने रोगलाई उपचार गर्ने अस्पताललाई दिने भन्ने नयाँ निर्देशिका बनायो । जसको प्रत्यक्ष मार क्यान्सर अस्पतालमा परेको छ । 
आम्दानी नै तलबभत्तामा 
अस्पतालको वार्षिक आन्तरिक आम्दानी ३० करोड छ । ७०० कर्मचारी छन् । ३५ करोड त तलबभत्तामा नै सकिन्छ । ‘हाम्रो आम्दानी नै तलबभत्तामा जान्छ, यो वर्ष अस्पतालको पूर्वाधार र उपकरण थपिएको हुँदा आउँदो वर्षमा ४० करोड आम्दानी हुने अनुमान छ’ निर्देशक आचार्यले भन्नुभयो ।  कर्मचारीको तलब भत्ता शीर्षकमा बजेट नआउने हँुदा अहिले अस्पतालको आन्तरिक स्रोतबाट तलब भत्ता खुवाइने गरेका अस्पतालले जनाएको छ । 
खानामा कम्तीमा डेढ करोड
क्यान्सर अस्पतालले बिरामीलाई बिहान र बेलुका खाजा र खाना निःशुल्क गरेको छ । कार्यकारी निर्देशक आचार्यका अनुसार खाना र खाजामा वार्षिक कम्तीमा डेढ करोड खर्च हुन्छ । 
अस्पतालको आम्दानीको १० प्रतिशत अस्पतालमा उपचार गर्न जाने विपन्न नागरिकले पाउँछन् । यसबाहेक नेपाल सरकारले प्रदान गरेको १ लाख सहयोग पनि विपन्न नागरिकलाई प्रदान गर्दै आएको छ ।
एक वर्षमा २० करोड रुपियाँ बराबरको विपन्न नागरिकले औषधि उपचार खर्च गर्दै आएका छन् । तर क्यान्सरका बिरामीलाई सरकारले उपलब्ध गराएको १ लाख बराबरको उपचार खर्च भने निकै कम भएको निर्देशक विजयचन्द्र आचार्य बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘क्यान्सर रोग लागे पनि बाचुन्जेल नियमित स्वास्थ्य परीक्षण गरिरहनु पर्छ । यस्तो खर्चिलो रोगलाई एक लाख सहयोग एकदमै कम भयो ।’
सबै क्यान्सरका उपचार सम्भव 
क्यान्सर अस्पतालमा सबै खालका क्यान्सरका उपचार सम्भव हुने कार्यकारी निर्देशक बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘९० देखि ९५ प्रतिशत बिरामीको उपचार नेपालमा नै हुने सम्भावना हुँदाहुँदै पनि ठूलो सङ्ख्यामा नेपालीहरू उपचारका लागि विदेश गइरहेका छन् ।’ पछिल्लो समय खानपानमा भएको परिवर्तनले क्यान्सरका बिरामी बढेको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस