विप्लव नेकपाद्वारा नयाँ जनमुक्ति सेना निर्माण, भर्नाका लागि आह्वान

सफल खबर संवाददाता

विहीबार, ३० फागुन २०७५, १८ : ०४
विप्लव नेकपाद्वारा नयाँ जनमुक्ति सेना निर्माण, भर्नाका लागि आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्न लागेको भन्दै भाग लिन र क्रान्तिमा सहभागी बन्न नेपाली युवाहरुलाई आग्रह गरेका छन् ।
एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अबको क्रान्तिमा आक्रमण गर्नका लागि चलखेल भइरहेको भन्दै उनले त्यसलाई चिर्न जरुरी रहेको पनि बताएका छन् । यूएन, भारत, कांग्रेस, एमाले र प्रचण्ड–बाबुराम मिलेर जनताको मुक्तिको लागि लडेको जनमुक्ति सेनालाई पूर्व बनाइदिएको भन्दै उनले जनमुक्ति सेना पूर्व हुने सेना नै नभएको दावी गरे ।
“एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अनि अब क्रान्तिमा आक्रमण गर्नका लागि त्यसलाई प्रयोग गर्ने, क्रान्तिलाई आक्रमण गर्न जो खेल चलिरहेको छ अहिले त्यसलाई हामीले चिर्न जरुरी छ ।” 
उनले भने– “जनमुक्ति सेना पूर्व होइन, पूर्व त कसले बनाइदियो भने यूएनले बनाइदियो । पूर्व त भारतले बनाइदियो । पूर्व त काङ्ग्रेस र एमालेले बनाइदिए । पूर्व त प्रचण्ड र बाबुरामले बनाए । हाम्रो त लगातार के छ भने जनमुक्ति सेना पूर्व हुने सेना होइन ।

जनमुक्ति सेना भविष्य बोकेको र भविष्यको जिम्मा लिने सेना भनेको प्रष्ट पार्दै उनले त्यसलाई पूर्व भनेर विषयान्तर गर्न खोजिदा त्यतिबेला नै आफूहरुले विरोध गरेको स्मरण गरे । जनमुक्ति सेनालाई पूर्व भन्ने या नभन्ने बिषयमा तत्कालीन परिस्थितिमा पनि ठूलो बहस पनि चलेको उनले खुलासा समेत गरे ।

“एउटा सेनालाई लिएर अर्कोलाई सम्पूर्ण रूपमा समाप्त पारिदिने कुरा, सिध्याइदिने कुरा हुन सक्दैनथ्यो नि । त्यतिबेलै समायोजनका नाममा जनमुक्ति सेनालाई जसरी विसर्जन गरिँदै थियो त्यसै दिन हामीले विरोध गरेका थियौँ ।” 
उनले भने– “पूर्व हामीले स्वीकार गरेको होइन । पूर्व भन्ने शब्द जो बनाउन खोजेका थिए, त्यो भएन । अहिले पनि जोडतोडले ल्याउन खोजिएको छ । अहिले फेरि मनोवैज्ञानिक रूपमा हमला गर्न खोजिँदैछ भने जनमुक्ति सेना थियो, कुनैबेला त्यो सकियो, त्यो मात्रै होइन ।”

पुँजीवादी, साम्राज्यवादीहरूले पूर्व जनमुक्ति सेनाको ब्याज खानु र खुवाउने उदेश्यले फेरि अर्को खेल सुरु गरेको बताउदै महासचिव विप्लवले नेपालमा क्रान्ति नै सम्पन्न नभएको अवस्थामा जनमुक्तिलाई सेना पूर्व भनेर भन्नै नमिल्ने तर्क गरे । प्रचण्ड–बाबुरामले बीच बाटोमै छोडेर हिडेको अधुरो क्रान्ति पुरा गर्न नेपाल जनमुक्ति सेनालाई थप शशक्त बनाउनुपर्ने समय आएको उनको भनाइ छ ।

“यहाँ त जनमुक्ति सेना बनाउनु पर्नेछ, लड्नुपर्नेछ, ल्याउनुपर्नेछ नि । त्यसकारण वर्तमान जनमुक्ति सेना बनाउने कुराको महत्व छ भन्ने कुरा हामीले चिर्न खोजेको कुरा यो हो । अब जहाँसम्म बनेको छ कि छैन भन्ने कुरा हो, यो विभिन्न ढङ्गले बाहिर गइसकेको हुनाले ढाँट्नुपर्ने जरुरी छैन ” 
उनले भने– “हामी त्यतिबेलै पनि प्रचण्ड–बाबुरामसँग विद्रोह गरेर शिविरबाट जनमुक्ति सेनालाई बाहिर आउनलाई अपिल ग¥यौ । आउनु पनि भो । आएपछि हामीले भन्यौँ– गठन गरौँ । हामीले विभिन्न सुरक्षाका जनस्वयम्सेवक गठन गर्ने कुरा पनि भयो ।

महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा जनमुक्ति सेना अपरिहार्य भएको पनि बताए । “एकीकृत जनक्रान्ति अहिले आफ्नै विशेषतामा अगाडि बढिरहेछ । त्यसभित्र जनमुक्ति सेनाको एउटा अवधारणा र संरचना हामीले बनाएका छौँ, लिएर गएका छौँ र एकदम सुदृढीकरणतिर जाँदैछ । यतिचाहिँ हामीले जनतालाई भन्नुपर्छ किनकि बाहिर भ्रमहरू चलिरहेका छन् । यसलाई चिर्नुपर्नेछ ।” 
उनले भने– “यस हिसाबले जनमुक्ति सेना, जनताको सेना, क्रान्तिको सेना, समाजवाद ल्याउने सेना बनेको छ । सुदृढीकरणतिर जाँदैछ ।” उनले सबै नेपाली देशभक्त, क्रान्तिकारी युवाहरुले अब नयाँ क्रान्तिमा भाग लिनुपर्ने आएको समेत बताएका छन् । 

“हिजो जनमुक्ति सेनालाई विघटन गराउन हिजो भूमिका निर्वाह गरेका तत्वहरूले अहिले फेरि अहिले एनजीओ र आईएनजीओमार्फत माया गरे जसरी जनमुक्ति सेनालाई पूर्व जनमुक्ति सेना भने, त्यसो होइन ।” उनले भने– “तपाईंहरू सबै अब नयाँ क्रान्तिमा भाग लिन आउनुस् । पूर्व भएर, पीडित भएर बस्नु परेन ।”
नेपाल कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गरिरहेको भन्दै महासचिव विप्लवले भाग लिन समेत अपिल गरेका छन् । ” कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्दैछ । यहाँ आएर भाग लिनुपर्यो ।” उनले भने– “अब क्रान्तिमा सहभागी बन्न आउनुपर्यो । अनि केको पीडा रु क्रान्ति त एउटा निरन्तर जीवनको प्रक्रिया हो १”
हिजो पनि क्रान्ति सम्पन्न गर्न र समाजवाद प्राप्तिका लागि आफूहरु लडेको स्मरण गर्दै उनले अगाडि थपे– “जीवन रहुन्जेलसम्म, समाज रहुन्जेलसम्म, साम्यवाद नआउन्जेलसम्म पुँजीवादका विरुद्ध कम्युनिस्टहरूले क्रान्ति छेडिरहनुपर्यो नि । त्यसकारण हामी हिजो थियौँ । दुःख गर्यौँ । त्यहाँ हामीलाई अलिकति पैसा देऊ । हामीलाई अलिकति सुविधा देऊ भनेर भिक माग्न, रुनकराउन जरुरत नै छैन । पूरा गौरवकासाथ इतिहासमा गरेका योगदानमा गर्व गर्दै नयाँ एउटा इतिहासको निर्माणमा जिम्मेवारी बोधकासाथ जुटौँ । यो हाम्रो कुरा हो ।

एकीकृत जनक्रान्ति यो शताब्दीको एउटा नयाँ विचारका रूपमा विकास हुनसक्ने भन्दै उनले समाजवाद मजदुर या किसानको मात्रै नभएर चेतना र श्रमको अभिव्यक्ति भनेको उनको विश्लेषण छ ।
‘समाजवाद पहिले मजदुरको मात्रै, किसानको मात्रै तेसो होइन, समाजवाद भनेको त चेतना र श्रमको अभिव्यक्ति हो । चेतना र श्रम मिलेर प्राप्त हुने एउटा व्यवस्था हो । सभ्य समाज हो नि त । त्यसकारण एउटा श्रमबाट मात्रै व्याख्या गर्नु हुँदैन । चेतनाबाट मात्रै होइन, चेतना र श्रमलाई एकठाउँमा ल्याउँदा वास्तविक एउटा वैज्ञानिक समाजवाद बन्छ भन्ने भएपछि एउटा यो बन्न सक्छ, यसले ल्याउँछ भन्ने हाम्रो विश्वास हो ।’
 

प्रतिक्रिया दिनुहोस