विप्लवले मलाई मार्ने सूचीमा राखेको पाएँ, दया लाग्योः प्रचण्ड

विहीबार, ३० फागुन २०७५, १५ : ५४
विप्लवले मलाई मार्ने सूचीमा राखेको पाएँ, दया लाग्योः प्रचण्ड

फाईल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एव्म पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अवस्थामा क्रान्तिको नक्कल गरेर सफल हुन नसकिने बताउनु भएको छ । 
वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उहाँले दश वर्षे जनयुद्धको कालखण्ड र अहिलेको अवस्थामा आकाश जमिनको फरक भएकाले क्रान्ति सफल नहुने दाबी गर्नुभयो ।
‘एक युगमा एउटा मात्र प्रचण्ड हुन जन्मिन सक्छ, उहाँले भन्नुभयो,‘प्रचण्ड त्यसै बनेको हैन,’ उहाँले विप्लवतर्फ लक्षित गर्दै भन्नुभयो, ‘जनताको काम गर्दै बनेको हो ।’ विप्लव समुहले आफुलाई मार्ने सूचीको पहिलो नम्वरमा राखेको भन्दै उनीहरुप्रति दया लागेको उहाँले बताउनुभयो । ‘मलाई आज विहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, उहाँले भन्नुभयो,‘प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्यूट गर्नु भएको छ रे । टिम पनि खटाउनु भएको छ रे सुनाउनुभयो ।’ ‘म मारेर यो परिर्वतन बच्ने हो त ? मलाई ती साथीहरुप्रति साँच्चै माया पनि लागेको छ, दया पनि लागेको छ’ उहाँले अघि भन्नुभयो । सरकार कानुन अनुसार अघि बढ्ने भन्दै उहाँले कानुन सबैले मान्नु पर्ने बताउनुभयो । 
उहाँले देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानूनअनुसार कारवाही गर्छ, त्यसैले परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले आफू कसैको धम्कीबाट विचलित नहुनेसमेत बताउनुभयो । सहिद तथा वेपत्ताका परिवारलाई कार्यक्रममा प्रचण्डले सम्मान गर्नुभएको थियो ।
 

प्रतिक्रिया दिनुहोस