विप्लवको विज्ञप्ति

प्रतिबन्ध हास्यास्पद, केपी–बादलसँग झुकिँदैन : विप्लव

सफल खबर संवाददाता

विहीबार, ३० फागुन २०७५, ०८ : ३८
प्रतिबन्ध हास्यास्पद, केपी–बादलसँग झुकिँदैन : विप्लव

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले  सरकारले  आफ्ना गतिविधिमाथि लगाएको प्रतिबन्ध हास्यास्पद भएको प्रतिक्रिया दिएको छ । 
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्धको निर्णय गरेको थियो ।
प्रतिबन्धपछि बुधबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले आफूहरु  राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको बताएको छ । साथै उसले सरकारसँग कुनै पनि हालतमा नझुक्ने प्रष्ट पारेको छ ।

विप्लव समूहले आफ्नो पार्टीलाई राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो निर्णय गर्नु केपी–बादल कम्पनीको कुकर्म भएको बताएको छ । 

‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो’, चन्दाको औचित्य पुष्टि गर्दै विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’


 

प्रतिक्रिया दिनुहोस