जेनेभामा उठ्यो मुद्दा : ‘सुगौली सन्धीमा गुमेको भूमि फिर्ता गर्नुपर्छ’

सफल खबर संवाददाता

बुधबार, २९ फागुन २०७५, २० : ३९
जेनेभामा उठ्यो मुद्दा : ‘सुगौली सन्धीमा गुमेको भूमि फिर्ता गर्नुपर्छ’

काठमाडौं । आफ्नो भूमिमा विदेशी सेनाको उपस्थिति कुनै पनि देशको सार्वभौमिकताका लागि ठट्टा हो । म राष्ट्रसंघीय मानवअधिकार परिषदलाई नेपालीको चासो गम्भिररुपमा लिइदिन अनुरोध गर्छु,’ ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा भनेका कुरा हुन् यी ।
सुगौली सन्धीमार्फत भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने माग उनले उठाएका थिए । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहेका नेपालले परिषदको ४० औं सत्रमा सो माग दर्ज गराएका हुन् ।
उनले आजको मितिसम्म भारतले नेपालको १३ सय वर्ग किलोमिटरभन्दा बढी भूमि अतिक्रमण गरेको र ठूलो संख्यामा भारतीय सैनिकले १९६२ देखि नेपालको कालापानीमा ४ सय वर्ग किलोमिटर जमिन कब्जा गरेर बसिरहेका बताए ।
नेपालले आफ्नो मन्तव्यमा भारतले सन् १९४७ देखियता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको बताए । साथै उपनिवेश अन्त्य गर्ने राष्ट्रसंघको घोषणालाई पनि भारतले कुल्चिरहेको उनको भनाइ थियो ।
गैरसरकारी प्रतिनिधिका रुपमा बैठकमा भाग लिन जेनेभा पुगेका नेपालले भने, ‘नेपाल भारत शान्ति तथा मैत्री सन्धीको दवफ १ र ८ ले सुगौली सन्धीलाई नै रद्द गरिदिएको छ । त्यसैले भारतले आफ्नो उपनिवेशका रुपमा रहेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता गर्नुपर्छ ।’
आफूले बोलेका कुरा संयुक्त राष्ट्रसंघको वार्षिक र आवधिक प्रतिवेदनमा लिपिबद्ध हुने नेपालले बताए । वैठकमा करिब १ सय ४० वटा गैरसरकारी संस्थाका प्रतिनिधिले आफ्नो देशको समस्या सुनाएको थिए ।

 

प्रतिक्रिया दिनुहोस