वाह पोखरा, आहा पोखरा, गज्जब पोखरा

शनिबार, १८ फागुन २०७५, १३ : ४४
वाह पोखरा, आहा पोखरा, गज्जब पोखरा

– दीपेन्द्र श्रेष्ठ

पोखरा एकपटक आइसकेकाले प्राय: भन्ने गर्छन्, वाह पोखरा ! आहा पोखरा ! गज्जब पोखरा !!! तर एकपटक पनि पोखरा नआउनु भएकाहरुको जिज्ञासा रहन्छ, कस्तो छ पोखरा ? त्यसका लागि शायद प्रेमप्रकाश मल्लको एउटा गीतको यो दुई हरफ नै काफी हुन सक्छ ।
माछापुच्छ«े फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकै पोखरा पो रैछ

हो, मोटामोटी पोखरा भनेको फेवाताल र माछापुच्छ«े हिमाल नै हो । ताल र हिमाल हटाइदिने हो भने पोखरा फिक्का लाग्नेछ । यसले आकर्षण गुमाउनेछ र गुमनाम हुनेछ । त्यसैले फेवाताल र हिमाल जोगाई राख्नु पोखराको चुनौती बन्दै गइरहेको छ । 
स्वर्गको टुक्रा धर्तीमा झरे जस्तो छ पोखरा
कुमारी हिमाल मुसुक्क मुस्काई हाँसेकी पोखरा

के साँच्चै पोखरा स्वर्गको टुक्रा जस्तै छ त ? पोखरा भम्रण गर्ने पहिलो विदेशी इकाई कावागुचीले आफ्नो पुस्तक ‘थ्रि इयर्स इन टिबेट’ भन्ने पुस्तकमा ‘हिमालको मेरो ठाउँको यात्रामा पोखरामा मलाई लोभ्याउने दृश्य देखेँ, त्यस्तो स्वर्ग जस्तो दृश्य अन्यत्र कहीँ पनि देखिनँ‘ भनि लेखेका छन् । जापानी भिक्षु कावागुची सन् १८९९ मा पोखरा हुँदै तिव्वत गएका थिए । 

अध्ययेता टोनी हेगन लेख्छन्, ‘‘पोखरा क्षेत्रको प्राकृतिक दृश्यमा अत्यन्त ठूलो विरोधाभास पाइन्छ । संसारमा कहीँ पनि ८ हजार मिटर भन्दा उच्च पर्वत शिखरहरुलाई बीचमा कुनै पर्वत श्रेणीद्वारा नहेरिकन यति नजिकै र उष्ण होंचो प्रदेशबाट देख्न सकिँदैन । उनी अगाडि लेख्छन्, ‘समस्त संसारमा पोखरा निश्चय पनि अत्यन्त असाधारण र अत्यन्त मनोहर स्थान हो ।’

अर्का यात्री विलफिड नोयसले त पोखरावाट देखिने माछापुच्छ«ेको दृश्यलाई पत्याउनै नसकिने खालको छ र यो विश्वको सबभन्दा सुन्दर चुलीमध्ये एक हुनुपर्दछ भनेका छन् । त्यसैले त विश्व टुर गाइड म्यागजिन ‘लोन्ली प्लानेट’ले हरेक वर्ष घुम्नेै पर्ने विश्वप्रसिद्ध पर्यटन गन्तव्यमा पोखरालाई राख्ने गर्दछ ।

हो, ती अग्रजले भनेजस्तै पोखरामा मनै लोभ्याउने प्रकृति (हिमाल÷ताल) , लट्ठ पार्ने संस्कृति र मुटु कमाउने साहसिक गतिविधिहरु छन् । त्यसैले पोखरा पर्यटनको राजधानी शहर हो ।

हिमालको शहर
गण्डकी प्रदेशको राजधानी शहर पोखरा मूलतः हिमाल र तालको शहर हो । विश्वमै ८ हजार मिटर अग्ला ८ मध्ये ३ वटा गण्डकी प्रदेशमा पर्दछन् । अन्नपूर्ण, धौलागिरी र मनास्लु ती तीन हिमाल हुन् । अन्नको पूर्ण जस्तो माना, पाथी, धानको राश जस्ता श्रृंखला मिलेर बनेको अन्नपूर्ण हिमाल यसको प्रमुख विशेषता हो । यो पूर्व पश्चिम लामो रेञ्जमा लमतन्न परेर सुतेजस्तो कलात्मक देखिन्छ । 

अन्नपूर्ण नै पहिलो ८ हजार मिटर अग्लो हिमाल हो, जसमा विश्वमै पहिलोचोटि हिमाल आरोहणको इतिहास रचियो । फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ मा अन्नपूर्णको शिखरमा मानव पाइला टेकेका थिए । यो टेकाई नै विश्व हल्लाउने एउटा साहसिक र अविश्वसनीय घटना थियो । हिमालमाथि मानव विजयको रुपमा यसलाई व्याख्या गरियो । यही घटना नेपाल र पोखरालाई विश्व समुदायमा चिनाउने एउटा ‘गेट वे’ को रुपमा चित्रित भयो । किनकि हर्जोगले ‘दी अन्नपूर्ण’ भन्ने किताव लेखे । जुन सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ । जसले यो क्षेत्रलाई विश्वजनिन् बनायो ।

कुमारी हिमाल माछापुछ«े 
विश्वमै सुन्दर ४ कुमारी हिमालमध्येमा एक माछापुच्छ«े हिमाल हो । आफ्नो अलग रुप र सौन्दर्यका कारण यो विश्व चर्चित छ । त्यसैले त माछापुच्छ«े पोखराको शान हो । 

यसको अनुपम सुन्दरताकै कारण यसलाई अहिलेसम्म पनि आरोहणको अनुमति दिइएको छैन । अहिलेसम्म मानव पाइला नटेकिएको कारण यो हिमाल भर्जिन अर्थात कुमारी हिमालको नामले परिचित छ । यद्यपि बेलाबेला आरोहण अनुमति दिएर आम्दानीको स्रोत बनाउनु पर्दछ भन्ने आवाज नउठेको होइन । माछापुछ«े गाउँपालिकाले पछिल्लो पटक आरोहणको लागि खुल्ला गर्ने प्रस्ताव पारित गरेपछि फेरि एकपटक पोखरेली त्यस प्रस्तावको विरोधमा एक भए । यसलाई कुमारी नै राख्नु पर्दछ भन्ने आवाज चर्को छ । त्यसपछि त्यो निर्णय गर्ने गाउँपालिका पनि यति बेला चुप छ ।

यसको टुप्पा ‘माछाको पुच्छर’ जस्तो कलात्मक आकारमा देखिन्छ । त्यही कारण यसको नाम नै माछापुछ«े रहन गएको हो । विदेशी पर्यटकको आगमनपछि भने यसलाई अंग्रेजीकरण गरी फिस्टेल भन्न थालियो । आकाश खुलेको दिन, बिहानीको सूर्यको किरण परी टलक्क टल्कँदा यसलाई हेर्नुको स्वर्गीय आनन्दानुभूति बेग्लै हुन्छ । माछापुछ«े हिमालको टुप्पोलाई मात्र सुक्ष्म ढंगले नियाल्ने हो भने त्यहा पूर्वतिर मुख फर्काएर लमतन्न परेर सुतिरहेको बाघ आकार देखिन्छ । यो पनि यसको अर्को आकर्षण हो । 

फेवाताल र बोटिङ 
पोखराको पर्याय भनेको फेवाताल हो । संसारको सुन्दर तालहरुमध्ये यो १३ औं स्थानमा पर्दछ । पोखरा उपत्यकाको पश्चिम दक्षिण खोंचमा अवस्थित फेवाताल नेपालको दोस्रो ठूलो ताल हो । ताल छेउँको किनारलाई पहिले बैदाम भनिन्थ्यो । किम्वदन्तिअनुसार सो क्षेत्र पहिले तालको छेउँमा कुनै आकर्षण र मूल्य नभएको ‘बेदामे’ थियो । त्यही बेदामे क्षेत्र पछि ‘बैदाम’ हुँदै आज लेकसाइडको रुपमा गुल्जार छ । यसले वर्षेनी लाखौंको सँख्यामा पर्यटकलाई स्वागत गरिरहेछ ।

फेवाताल ८ हजार वर्षअघि निर्मित प्राकृतिक ताल हो । पहिले यो १० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको ठूलो ताल थियो । मानवीय र प्राकृतिक अतिक्रमणको कारण अहिले यो ४ वर्ग कि.मी. मा खुम्चिएको छ । सर्वोच्च अदालतले तालको किनाराबाट ६५ मिटर मापदण्ड कायम गरी खाली गर्न, घरटहरा हटाउन, अतिक्रमण गरी दर्ता गरेका जग्गाको लालपूर्जा बदर गर्न र विश्व सम्पदा सूचिमा सूचिकृत गर्न परमादेश जारी गरेपछि भने फेवाताल जोगिने आशा पलाएको छ । 

फेवाताल पोखराको साँस्कृतिक, पर्यावरणीय र पर्यटकीय महत्व बोकेको निधि हो । यसमा डुङ्गा चलाएर गुजारा गर्ने झण्डै १ हजार परिवारको रोजीरोटीको सम्बन्ध छ । माछा पालेर परिवार पाल्नेको कथा जोडिएको छ । त्यतिमात्र हैन पोखरा जलचर प्राणीको बासस्थान पनि हो । यहाँ पर्यटकले आफै वा बोटे लिएर भाडामा नौका विहार गर्न पाउँछन् । फेवातालमा डुङ्गामा शयर गर्दाको आनन्द बेग्लै हुन्छ । तालकै छेउँमा वाराहीघाटदेखि खहरेसम्म ‘फुट ट्रयाक’ निर्माण गरिएको छ । साँझपख फेवातालको किनारमा पैदल यात्रा गर्दै रम्नेहरुको त्यहाँ भीड लाग्छ ।
पहिले पहिले बैदामका रैथानेहरु फेवातालको पानी पिउँथे । तर अहिले पानी प्रदूषित भएको छ । महानगरपालिका फेवाताल बचाउने र पानी शुद्धीकरण गर्ने अभियानमा जुटेको छ । साँझपख खहरेबाट पामे जाने बाटोमा गएर लेकसाइडतिर हेर्ने हो भने साँझको झिलिमिली फेवातालको पानीमा प्रतिबिम्बित हुँदा समुन्द्रको किनारको कुनै विदेशी शहरभन्दा कम प्रतीत हुँदैन ।
 
फेवातालको पानीमा देखिने माछापुछ«े हिमालको छाँया विश्वभरका पर्यटकलाई लोभ्याउने एउटा ‘पर्यटन मिथक’को रुपमा सुविख्यात छ । त्यसैले त फेवाताललाई ‘तालहरुको ताल ः फेवाताल’ भनिन्छ । यो दश तालको शहर हो । लेखनाथमा बेगनास र रुपासहित ७ ताल छन् । जुन पर्यटकीय आकर्षक गन्तव्य हुन् । पोखरा– १२ मा माछापोखरी र पोखरा– १३ मा कमलपोखरी गरी पोखरामा १० वटा ताल रहेका छन् ।

लेकसाइड

सन् १९६० को दशकसम्म सुनसान बैदाम अहिले लेकसाइडको रुपमा गुल्जार छ । । बैदामबाट लेकसाइड नामकरण गराउने श्रेय पर्यटन व्यवसायी योगेन्द्रबहादुर भट्राइलाई जान्छ । उनले सन् १९६८ तिर तालको किनारमा एउटा पर्यटकीय सुविधायुक्त होटेल खोलेका थिए । जसको नाम थियो, होटल लेकसाइड । त्यही होटलको नामबाट ताल किनारको सम्पूर्ण क्षेत्र लेकसाइडको रुपमा परिचित भयो । अहिले लेकसाइड पर्यटनको राजधानी पोखराको ‘लाइफलाइन’ हो । दिनहुँ हजारौं. पर्यटक पोखरा घुम्न, लेकसाइडमा बास बस्न, फेवातालमा बोटिङ गर्न, तालवाराहीको दर्शन गर्न र अन्तर्राष्ट्रिय परिकार चाख्न आइपुग्छन् । लेकसाइडमा अहिले कटेज, भिल्ला र ९÷१० तले भव्य होटल गरी हजारभन्दा बढी होटल, ४÷५ सय रेष्टुराँ र सयौं ट्रेकिङ इक्युपमेन्ट पश्मिना÷क्युरियो सप रहेका छन् ।

तपाई पोखरा आउनु भयो  र लेकसाइड जानु भएन भने पोखरा भम्रण पूर्ण भएको मानिदैन । तर यसको मतलव लेकसाइड पुग्नु नै पोखरा घुम्नु भन्न खोजेको चाहीँ होइन । पोखरामा अरु पनि धेरै गन्तव्य छन्, जहाँ तपाईं पुग्नैपर्छ र घुम्नै पर्छ । साँझपख लेकसाइडमा बरालिनु÷टहलिनुको मज्जै बेग्लै हुन्छ । तनावबाट मुक्ति दिलाउने एउटा ‘बिन्दास‘ ठाउ हो लेकसाइड ।
 
डेभिजफल 
छोरेपाटनको उत्तरतर्फ एउटा आकर्षक छाँगो छ, जुन ‘डेभिजफल’को रुपमा चर्चित छ । पीडादायी कथा बोकेको यो छाँगो हेर्दा मान्छेले एकै साथ आनन्द र अचम्मको अनुभूति गर्छन् ।

घटनाअनुसार वि.सं. २०१८ साउन १५ गते त्यो छाँगोभन्दा केही माथि स्वीस दम्पत्ति खोलामा नुहाउँदै थिए । अचानक फेवा बाँधतिरबाट आएको बाढीले श्रीमती डेभीलाई बगायो र छाँगोमा परी उनको मृत्यु भयो । हेर्दाहेदै आफ्नी श्रीमती छाँगोमा बेपता भएपछि पत्नी वियोगले छट्पटिएका ती स्वीस पर्यटक रुँदै घर फर्किए ।

भनिन्छ त्यही समयदेखि त्यसलाई ‘डेभिज फल्स’ भन्न थालियो । छाँगो करीब एक सय मिटर भूमिगत गहिरो छ । त्यसको पानी भूमिगतरुपमै एक किलोमिटर दक्षिण फुस्रे खोलामा पुगेर मिसिन्छ । फेवातालको पानी नै छाँगोको मुहान हो । स्थानीयहरुले यसलाईं ‘पाताले छाँगो’ भन्छन् । वि.स. २०३१ सालमा तत्कालीन रानी ऐश्वर्यले पोखरा बसाईको क्रममा भ्रमण गरेपछि यो नेपाली नाम सुझाइएको हो ।

गुफाहरुको शहर
पोखरा गुफाहरुको पनि शहर हो । यहाँ चर्चित महेन्द्र गुफादेखि चमेरे गुफा , क्रेजी केभ, गुप्तेश्वर महादेव गुफा लगायतका आकर्षक गुफाहरु रहेका छन् । पर्यटक लोभ्याउने यी रहस्यमय गुफाहरु संस्थागत सामाजिक उत्तरदायित्वका लागि पनि चर्चित छन् । यसबाट प्राप्त आम्दानीबाटै केही विद्यालय, क्याम्पस चलेका छन् । 
क) महेन्द्रगुफा: यो प्राकृतिक गुफा पोखरा– १६ बाटुलेचौरमा अवस्थित छ । यो १२५ मिटर लामो गुफामा भित्रसम्म मज्जाले जान सकिन्छ । यो गुफाभित्र बिजुलीको सुविधा भएकाले टर्च लानु पर्दैन । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेकाले यसको नामै महेन्द्र गुफा राखियो । यो गुफा पिकनिक स्पटको लागि पनि चर्चित छ ।
ख) चमेरे गुफा: गुफामा चमेराको गुँड धेरै नै भएकाले  यो गुफा ‘चमेरे गुफा’को नामले परिचित छ । गुफामा पसेर माथि हेर्ने हो भने चमेराहरु तुर्लुङ्ग झुण्डिएर बसेका भेटिन्छन् । यो महेन्द्र गुफाबाट ७०० मिटर पश्चिममा पर्छ । यो १५० मिटर लामो छ ।
ग) गुप्तेश्वर गुफा : पाताले छाँगोको ठिक बाटो पारि (दक्षिण) पट्टि गुप्तेश्वर गुफा अवस्थित छ । यो पोखरा– १७ छोरेपाटनमा पर्दछ । गुफाकै छेउँमा अहिले गुप्तेश्वर महादेव मन्दिर निर्माण गरी गुफाको संरक्षण गरिएको छ भने धार्मिक पर्यटनको लागि गुफाभित्र  आकर्षक गन्तव्यको रुपमा विकास गरिएको छ । त्यहा एउटा यान्त्रिक कामधेनु गाई छ । जहाँ सिक्का राखिदियो भने दूध झर्ने गर्दछ । यसले पर्यटकलाई निकै नै लोभ्याउने गर्दछ ।

सिटी अफ म्यूजियम् 
पोखरा संग्रहालयको पनि शहर हो । यहाँ पर्यटकलाई घण्टौं भुलाउने हिमाल आरोहणको कथा बताउने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय ( पोखरा– १७ रातो पैरो), पुतलीबारे जानकारी दिलाउने अन्नपूर्ण प्रकृति संग्रहालय ( पि.एन. क्याम्पस परिसर ), लोक संस्कृति झल्काउने क्षेत्रीय संग्रहालय (नयाँ बजार ), गुरुङ जातिको संस्कृति चिनाउने गुरुङ साँस्कृतिक संग्रहालय (तमु प्हे ल्हुँ संघ, शक्तिघाट ) र गोर्खालीहरुको जीवन्त कहानी झल्काउने गोर्खा मेमोरियल संग्रहालय (पोखरा– १६ ) दीप लगायतका छन् ।
 
संस्कृतिको शहर 
पोखरा साँस्कृतिक शहर हो । पर्यटकहरु यहाँको मौलिक संस्कृति हेर्न पाउँदा मख्ख मात्र पर्दैनन्, घण्टौं बितेको पनि पत्तो पाउँदैनन् । पोखरा गुरुङ, मगर, नेवार, क्षेत्री, व्राम्हण बाहुल्य क्षेत्र हो । पोखरा गुरुङको ट्होटे÷ल्होछार, मगरको घाटु÷माघे संक्रान्ति, गाइनेको गन्धर्व संगीत, नेवारको तायमचाः÷भैरव नाच÷बाघेजात्रा, क्षेत्रीको सराङ र व्राम्हणको वालन नाच लगायतका संस्कृतिले समृद्ध शहर हो । यिनै संस्कृतिहरुले पोखरालाई जीवन्त राखेको पाइन्छ । यहाँको अर्को विशेषता भनेको साँस्कृतिक सहिष्णुता र सद्भाव हो । एक जातिले अर्को जाति समुदायको संस्कृति पर्वमा खुलेर सहभागिता जनाइरहेका हुन्छन् ।
 
मन्दिरहरुको शहर
पोखरामा आएका हिन्दू धर्मावलम्वीहरुको अनिवार्य गन्तव्य भनेको विन्दवासिनी मन्दिर हो । यो पुरानो मध्येको एक मन्दिर हो । भारतको विन्ध्याचल पर्वतबाट ल्याइएको मूर्ति थुम्कोमा प्रतिस्थापित गरिएकाले विन्दवासिनी भनिएको मानिन्छ । यो मन्दिर भाकल पूरा गर्न र तन्त्र साधनाका लागि शक्तिशाली मानिन्छ । 

पोखरा शहरको बस्ती विकास विन्दवासिनी मन्दिर र भीमसेन मन्दिरको स्थापना सँगसँगै भएको पाइन्छ । इतिहासविद्हरुका अनुसार सन् १७५२ मा पोखराका तत्कालीन राजा सिद्धिनारायण शाहले भाँडा बनाउन र काम लगाउन भक्तपुर÷पाटनबाट एक हुल शिल्पी नेवारहरुलाई पोखरा भित्राए । उनीहरुलाई यहीं भीमसेन  टोल, नालामुख, तेर्सापट्टी, साँघुमुखमा बसोबास गराए । नेवारहरुको त्यो पहिलो र पुरानो बस्तीलाई ‘२६ कुरिया’ भनिन्छ ।

तिनै नेवारहरुले आफ्नो इष्टदेव भीमसेन मन्दिर बनाए । त्यहीँ आसपासको समयमा विन्दवासिनी प्रतिस्थापित भएको मानिन्छ । उसो त पोखरामा गणेश मन्दिर (गणेशटोल), भद्रकाली मन्दिर, गुप्तेश्वर महादेव मन्दिर (छोरेपाटन), अकला मन्दिर (लामाचौर), तालवाराही मन्दिर (फेवातालको) बीचमा चर्चित मन्दिरहरु हुन् । वर्षेनी हजारौं भारतीय पर्यटक विन्दवासिनीमा दर्शन गर्न र मुक्तिनाथ जान पोखरा आउने गर्दछन् । यिनै मन्दिरहरुको कारण पोखरा ‘धार्मिक पर्यटन गन्तव्य’ को रुपमा पनि विकसित हुँदैछ ।

साहसिक पर्यटनको गन्तव्य 
पोखरा प्रकृति र संस्कृतिको संगम स्थल त हो नै, त्यसका साथसाथै पछिल्ला वर्षहरुमा ‘सिटी अफ द एडभेञ्चर’ को रुपमा पनि विकास हु्रँदैछ । बञ्जी जम्प, कायाकिङ, क्यानोनिङ, जीप फ्लायर, प्याराग्लाइडिङ, ¥याफ्टीङ, स्काई ड्राइभिङ आदि यसका आकर्षक उदाहरण हुन् । भूकम्पअघि मित्रराष्ट्र चीनबाट ठूलो संख्यामा प्याराग्लाइडिङ लगायतका साहसिक गतिविधि गर्न चिनिया पर्यटक आउने गर्दथे । भूकम्पपछि त्यो संख्या घटे पनि हाल बिस्तारै ‘पिक अप’ लिन थालेको छ । 

ट्रेकिङ हब 
पोखरा टे«किङका लागि प्रवेश द्वार हो । यहाँबाट हाफ डे, फुल डे, सेभेन डेज ट्रेकिङ प्याकेजमा जान सकिन्छ । शान्ति स्तुपा, सराङ्कोट, कृस्ती, मट्टिखान हाफ डे ट्रेकिङका लागि चर्चित छन् भने काँडे, नौडाँडा, पञ्चासे, धम्पुस फुल डे र घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प, माछापुच्छ्रे बेसक्याम्प, मर्दी हिमाल टे«क, घोडेपानी, पुन हिल, सिक्लेश, राउण्ड अन्नपूर्ण सर्किट, क्होंलासोंथर, घलेगाउँ लामा दिनका ट्रेकिङ रुटको रुपमा परिचित छन् ।

शान्ति स्तुपा 
पोखरा साहसिक गतिविधि, मनोरञ्जनका साथसाथै ध्यान, शक्ति र योगाका लागि पनि प्रसिद्ध केन्द्र बन्दै गइरहेको छ । फेवाताल माथिको डाँडामा शान्ति स्तुपा छ । त्यहाँ बसेर ध्यान गर्न र पोखरा सहर तथा फेवाताल÷हिमालका दृश्य ‘एम्पीथियटर भ्यू’मा हेर्न लोभलाग्दो ठाउँ बनेको छ । प्यागोडा शैलीमा निर्मित यो स्तुपा उसो त बौद्ध धर्मावलम्वीहरुका लागि पवित्र गन्तव्य र हाफ डे ट्रेकिङका लागि उपयुक्त रुट हो । पोखरामा यस्तै गुम्बाहरु, माटेपानी, हेमजा, रामघाट लगायतका ठाउँहरुमा पनि छन् ।
 
सराङकोट 
समुन्द्र सतहबाट १६ सय मिटर उचाईमा अवस्थित सराङकोट लामो रेञ्जका हिम श्रृंखलाको दृश्यावलोकन गर्न र सूर्यास्त÷सूर्योदयको भर्भराउँदो दृश्य हेर्नका लागि चर्चित छ । उसो त त्यहाँ निर्मित टावरले यसलाई अझ आकर्षण पैदा गरेको छ । अहिले त्यहाँ ठूलो महादेव मन्दिर निर्माण गरिदैछ भने सुविधासम्पन्न होटलहरु धमाधम बन्दैछन् । प्याराग्लाइडिङ ‘टेक अफ’ का लागि उपयुक्त स्थल सराङकोट पर्यटकीय गन्व्यमा स्थापित भएकै बेला फेवाताल किनार सेंदीबाट सराङकोटसम्म अन्नपूर्ण केवलकार निर्माण गरिन थालेपछि यसको आकर्षण झनै बढ्ने निश्चित छ । यो आउदो बैशाखदेखि सञ्चालनमा आउँदैछ । त्यसपछि सेंदीबाट ८÷९ मिनेटमै सरर केबुलकार चढेर सराङकोटमा पुग्न सकिनेछ ।

ऐतिहासिक ठाउँ कास्कीकोट 
यो पोखराको ऐतिहासिक थलो हो । कश्यप ऋषिले तपस्या गरेको ठाउँ भएकाले सो ठाउँ ‘कश्यपी’ भन्दाभन्दै अपभ्रंश भई ‘कास्की’ हुँदै कास्की रहन गएको मानिन्छ । कास्कीकोट शाहवंशीय राजा कुलमण्डन शाहको राजधानी हो । कुलमण्डन शाह वंशका प्रथम राजा थिए । भनिन्छ उनले घले राजालाई लडाईंमा जितेर राज्य बसाले । उनकै सन्तान यशोव्रह्मा लमजुङका राजा भए । र उनकै सन्तान द्रव्य शाह गोरखाका राजा भई पृथ्वी नारायण शाह हुँदै नेपाल राज्यको एकीकरण भएको मानिन्छ । भलै ‘क’बाट शुरु भएको कुलमण्डन शाहको राजसंस्था उनकै सन्तती ज्ञानेन्द्र शाह ‘ज्ञ’ मा आइपुग्दा पतन भइसकेको छ । तथापि यो एक ऐतिहासिक ठाउँ हो । अहिले पनि त्यहाँ पुरानो पोखरी, किल्ला, दरबारका भग्नावशेषहरु पाइन्छ । कुलमण्डन शाहकै ‘विन्टर प्यालेस’का रुपमा ‘बाटुलेचौर’लाई लिइन्छ । बाटुलेचौरमा गन्धर्व जाति र क्षेत्री समुदायको ऐतिहासिक बाक्लो बस्ती हुनु यसका प्रमाण हुन् । उसो त त्यहाँ पनि दरबारकालीन अवशेषहरु अहिले पनि भेटिने स्थानीयहरु बताउँछन् ।

धर्मकाया बुद्ध मण्डला, काहुँडाँडा 
पोखराको पूर्वोत्तरमा अवस्थित यो डाँडा अहिले नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैछ । त्यहाँ ८० मिटर अग्लो बुद्धको मूर्ति, पाँच हजार जना अट्ने मेडिटेसन हल, बौद्ध शिक्षाका पाठशालाहरु भएको ‘धर्मकाया बुद्ध मण्डला’ बन्ने भएपछि यसको ग्ल्यामर्स बढ्दै गएको छ । यो योजनाले मूर्त रुप पाउँदा पोखरा, लेकसाइडबाट साँझपख त्यो डाँडामा झिलिमिली बत्तीसहित राति भर्भराउँदो ठूलो बुद्ध मूर्ति देखिनेछ । त्यसको आकर्षणले विदेशी पर्यटकलाई समेत लोभ्याउने छ । त्यसपछि उनीहरुले धर्मकाया बुद्ध मण्डला काहुँडाँडालाई आफ्नो गन्तव्य बनाउने छन् । काहुँकोटमा धरहरा भएर पनि लामो समयदेखि ओझेलमा परेको यो ठाउँले चाँडै नै मुहार फेर्ने अपेक्षा गरिन्छ । अहिले नै यो ठाउँ पिकनिक र पोखरा दृश्यावलोकनका लागि गन्तव्य बन्न थालिसकेको छ । पोखरा सहर तथा हिमालका दृश्य हेर्न लोभलाग्दो ठाउँ बनेको छ ।

सेती नदी
पोखरालाई पूर्व र पश्चिम दुई चिराको रुपमा छुट्याएर बीचबाट बग्ने सेती नदी कहिले देखिने गरी त कहिले नदेखिने गरी बग्छ । यही नै गण्डकीको विशेषता हो । खासगरी पृथ्वीचोक छेउँको चाइनापुल, भीमसेनचोकको महेन्द्रपुलबाट गण्डकीलाई हेर्दा मनै हराउने दृश्य देखिन्छ । अरु एक किलोमिटर माथि केआइसिंह पुल पुग्ने हो भने त्यस छेउँबाट सेतीको गर्ज देखिन्छ । यो पनि एउटा पर्यटकीय गन्तव्य हो । गण्डकीमा सेतो पानी बग्ने भएकाले यसलाई सेती गण्डकीको नामले पुकारिन्छ । सेतीको डिल (भिर)मा नदीलाई नजिकबाट नियाल्न ठाउँ ठाउँमा सुरक्षित तर साहसिक भ्यू पोइन्ट बनाउने योजनामा पोखरा महानगरपालिका जुटेको छ ।

होम स्टे 
पोखरामा शहरमा मात्र हैन, गाउँगाउँमा पनि पर्यटन बिस्तार भएको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि ‘होम स्टे’ (घरबास) कार्यक्रमले सघाएको छ । होटल, लज, रेष्टुराँ नभएका गाउँहरु पनि पर्यटक पु¥याउन घरघरमा खाने÷बस्ने सुविधा उपलब्ध गराइएको छ । पर्यटकीय नमुना गाउँ स्याङ्जाको सिरुबारी र लमजुङको घलेगाउँबाट प्रभावित यो संस्कृतिलाई पहिले नेपाल पर्यटन वोर्ड र टानले प्रोमोट गरेको थियो भने अहिले गण्डकी प्रदेश सरकारले त यही आर्थिक वर्षमा यो प्रदेशमा ३०० ‘होम स्टे’ पु¥याउने लक्ष्य राखेको छ । यो कार्यक्रम अहिले गाउँगाउँमा लोकिप्रय बन्दै गइरहेको छ भने पर्यटक पनि तान्न सफल भएका छन् ।

जुलोजिकल पार्क 
पोखरा– ३१ पचभैयामा एउटा प्राकृतिक चिडिया घरको निर्माण गरिएको छ । यो अहिले जुलोजिकल पार्कको रुपमा विकसित हुँदैछ । युनाइटेड क्लब पोखराले ‘पोखरा महोत्सव’बाट बचेको पैसाले यसको निर्माण गरेको हो । पछि यसलाई कास्की गौरवको आयोजनाको रुपमा तत्कालीन जिल्ला विकास समितिले स्वीकार ग¥यो । अहिले गण्डकी प्रदेश सरकारले आफनो योजनामा पारी करिब २ करोड बजेट छुट्याएको छ । सामुदायिक वनमा निर्मित यो पार्क १३४ हेक्टरमा फैलिएको छ । मृग, हुँचिल, निल गाई, जरायो, बन बिरालो, चराचुरुङ्गी पाइने पार्क अहिले वन्यजन्तु उद्घार केन्द्रको रुपमा चर्चित छ ।

पोखरेली ब्रान्ड 
पोखरामा अहिले केही ठाउँहरु ब्रान्डको रुपमा स्थापित भएका छन् । जस्तो कि बाहिरका मान्छेको लागि पोखरा भन्नेबित्तिकै ‘लेकसाइड’, ताल भन्नेबित्तिकै ‘फेवाताल’, गुफा भन्नेबित्तिकै महेन्द्रगुफा (वाटुलेचौर ), मन्दिर भन्नेबित्तिकै विन्दवासिनी (मोहरिया टोल) ‘ब्रान्ड’को रुपमा स्थापित छ । खाना खाने कुरा आउनेबित्तिकै थकाली फ्लेभर, अझ त्यसमा पनि माइलीको भान्छाघर, एयरपोर्ट थकाली, मन्त्र थकाली, (न्यूरोड÷हल्लनचोक), होटल मोनालिसा ( ड्यामसाइड ) प्रसिद्ध छन् । सपिङ गर्न भाटभटेनी (न्यूरोड÷पोखरा ट्रेड मल, सेलवेज, निभा÷नेहा÷द नर्थ फेस, सुलभ स्टोर्स (जरेवर) फिल्म हेर्न मिट टाउन ग्यालेरिया ( सभागृह ), सिने प्लेक्स (पोखरा ट्रेड मल) । रेष्टुराँ जानु परेमा बिजी बि, के.एफ.सि., चिल्लीबार, क्लव आम्र्सटरडम, बुमराङ, त्रिसरा, ब्यञ्जन (लेकसाइड), बाजेको सेकुवा, बाजेको माछा महल, मुग्लान रेष्टुरेण्ट (सभागृह), वियाँ, स्काई स्पोर्टस (न्यूरोड) लगायत दर्जनौं रहेका छन् । यहाँ होटल पोखरा ग्राण्ड, सांग्रिला, बाराही, फिस्टेल लज, रानीवन आर्केड, हिमालयन फ्रन्ट, माउन्ट कैलाश रिसोर्ट, अतिथि रिसोर्ट, होटल कान्तिपूर, टेम्पल ट्री, पसि प्लाजा, फूलवारी रिसोर्ट, रुपाकोट रिसोर्ट लगायतका सयौं अन्तर्राष्ट्रियस्तरका होटलहरु छन् । माछा खान पामे, बेगनास, रेन्बो ट्राउट सार्दिखोला प्रख्यात गन्तब्य हुन् । पोखरामा स्ट्याण्डर्ड डिस्को, दोहोरी, गजल रेष्टुराँ, स्पा सेन्टर लगायतको सुविधा छ । र कफि पारखीहरुका लागि पोखरामा अर्गानिक कफिसपहरु छन् । जसमा कफि कल्चर, हिमालयन जाभा, पोखरा जाभा (लेकसाइड), स्टार कफि सेन्टर (न्यूरोड)लगायत कैयन अन्तर्राष्ट्रियस्तरका कफिसपहरु पाइन्छन् ।

सुन्दरी डाँडा 
बेगनास चोकबाट मात्र ४ कि.मि. को दुरीमा सुन्दरी डाँडा पर्छ । यहाँसम्म पुग्नको लागि राम्रो बाटो छ । त्यो ठाउँ बेगनास ताल र रुपातालको सिमाना बाटो हो । त्यहाँ लिवर्डले एउटै फ्रेममा २ वटा अलग अलग तालको सौन्दर्यपान गर्न सुविधा होस् भनी भ्यू टावर बनाइदिएको छ । त्यो भ्यू टावरबाट दायाँतिर बेगनास र बायाँतिर रुपाताल हेर्दा जुन आनन्द आउँछ नि त्यसलाई शव्दमा बयान गर्न सकिँदैन । शायद मानिस कुनै ठाउँमा पुगेर आनन्दित, रोमाञ्चित र खुसी हुन्छ भने सत्य हो ती ठाउँहरुमध्येको एक सुन्दर ठाउँ सुन्दरीडाँडा हो । सोही ठाउँमा हप्ता÷दश दिनको प्याकेजमा मेडिटेशन सेन्टर पनि यहाँ छ । जहाँ बसेर मानिसले पुनर्ताजगी प्राप्त गर्ने गर्दछन् । 

यतिमात्रै होइन, पोखरामा हेर्न लायकका धेरै गन्तव्यहरु छन् जसले पोखरालाई सिंगारेका छन् । यहाँबाट अन्नपूर्ण बेस क्याम्पसम्म ‘हेलिकोप्टर टुर’को व्यवस्था छ । लेकसाइडमा भाडामा साइकल÷मोटरसाइकल पाइन्छ र मनमौजी तरिकाले आफ्नै सुरमा हुइँकिन पाइन्छ । यहाँ पुरानो बजार रामकृष्ण टोल छ । जहाँ अहिले पनि पुराना घरहरु जोगाएर राखिएको छ । पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ । त्यसैको छेउँमा ‘नेवा छेँ (नेवारी घर) छ । जुन नेवारी कला संग्रहालयको रुपमा विकसित हुँदैछ । यो २००७ साल अघिसम्म गुमनाम थियो । बागलुङ र बन्दीपुर बजारको रुपमा विकास भइसक्दा यो आफ्नो परिचयको खोजीमा थियो ।

यो यस्तो शहर हो, जहाँ मान्छेले गाडी भन्दा पहिले जहाज देखे÷चढे । जहाज चढेर जीप पोखरा भित्रियो । ‘उल्टो गतिमा’ विकास भएको पोखरा शहर पहिले औलो लाग्ने उपत्यका र नुन बोक्न भोट जाने ट्रान्जिट थियो ।

साठीको दशकमा ‘हिप्पिइज्म’ले पर्यटनको सुदूर सम्भावना देखाएको यो शहरमा राजा महेन्द्रले आफ्नी प्रिय रानीका लागि बनाएको प्रेमको प्रतीक ‘रत्न मन्दिर’पनि छ । जो यतिबेला सर्वसाधारणका लागि खुल्ला गरिने घडीको पर्खाइमा छ । त्यसकै छेउँमा हिमागृह र रानीवन छ । उसो त यो शहर लोक कवि अलिमिया, कवि शिरोमणि लेखनाथ पौड्याल, जन कविकेशरी धर्मराज थापा, कार्टुनका बादशाह दुर्गा बराल ‘वात्स्यायन’, पागल बस्तीका श्रष्टा सरुभक्त र हरिदेवीको जन्म ठाउँ पनि हो ।
द्रुतगतिमा विकास भइरहेको यो शहरमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ, जसले पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने पोखरेलीको विश्वास छ । यही भरोसाका साथ पर्यटन पूर्वाधारका लागि व्यवसायीहरुले आँखा चिम्लेर लगानी गरिरहेका छन् । उनीहरुलाई आफ्नो लगानीको चिन्ता छैन । किनकि पोखरा पर्यटनको राजधानी हो । अघोषित रुपमा त यो राजधानी हो नै, अब यसको राज्यबाट औपचारिक घोषणा गर्न मात्र बाँकी छ । यसका लागि पर्यटन सम्बद्ध संघ संस्था र राज्यले आन्तरिक गृहकार्य गरिरहेका छन् । सायद त्यसैले होला संघीय सरकारले (केन्द्र) सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरिरहँदा गण्डकी प्रदेश सरकारले भने सन २०१९ लाई आन्तरिक भ्रमण वर्ष र सन २०२२ लाई अन्तर्राष्ट्रिय भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरिसकेको छ ।

मिडियाको भूमिका
बीसको दशकदेखि अहिलेसम्म झण्डै पचास वर्षमा पोखराले आफूलाई पर्यटकको राजधानीको रुपमा उभ्याएको छ । यो उठाउनका लागि पोखरालाई नेचर (प्रकृति), कल्चर (संस्कृति) र एडभेञ्चर (साहसिक गतिविधि)ले जसरी साथ दिएको छ, त्यसरी नै मिडियाले पनि साथ दिएको छ भन्दा अत्युक्ति नहोला । किनकि नेपाली मिडिया पोखरा र पर्यटनप्रति यति ‘मैत्रीपूर्ण’ छन् कि यसले पर्यटनमा असर पर्नेगरी ‘नेगेटिभ रिपोर्टिङ’ कहिले पनि गरेन । यो नै पोखरेली पर्यटनको सुन्दर पक्ष हो । पोखराले पर्यटनमा बाामे सार्न लागेको बेला यसको सुन्दरतालाई अन्तर्राष्ट्रियकरण गर्न हिन्दी चलचित्र देव आनन्दको ‘हरे राम हरे कृष्ण’ले सघायो । यो चलचित्र ‘हिप्पिइज्म’ को कथामा निर्माण गरिएको थियो । हिप्पीहरु पोखराको पहिलो पुस्ताका पर्यटक थिए पोखराको लागि । त्यसपछि धेरै हिन्दी र नेपाली चलचित्रले पोखरालाई सुटिङ्ग स्थलको रुपमा रोजे ।

माओवादी आन्दोलनको उत्कर्षताका (५८÷५९ सालतिर) पोखराको पर्यटन सुस्तायो । पोखरेली पर्यटन व्यवसायीले विश्वशंकर पालिखेको नेतृत्वमा ‘जाउँ है पोखरा‘ अभियान चलाए । यो अभियानमा मिडियाको राम्रो साथ रह्यो । पछि यस्तो अभियान ‘चलिए पोखरा’को नाममा भारतका उत्तरपूर्वी प्रदेश विहार, मध्ये प्रदेश, पश्चिम बंगालमा चलाउँदा पनि साथमा मिडिया छुट्दैनन् । २०७२ सालको भूकम्पले पोखरेली पर्यटनलाई असर पार्दा होस् वा अन्य जुनसुकै बेला मिडियाले नङ र मासुको जस्तो भूमिका निर्वाह गरेको छ ।

अहिले स्थानीय÷राष्ट्रिय सबै खालका मिडियाले पोखराको पर्यटन प्रवद्र्धनका लागि सघाइरहेका छन् । यही नयाँ गन्तव्यको बारेमा रिपोर्टिङ गरेर होस वा रेवान स्ट्रिट फेस्टिभल , फेवा नव वर्ष महोत्सवको न्यूज कभर गरेर । त्यतिमात्र हैन मिडियाले सफल पर्यटन व्यवसायीको सफलताका कथा छापेर, प्रसारण गरेर होस् वा न्यू कभरलाई स्थान दिएर सघाइरहेको पाइन्छ । पछिल्लोपटक फस्टाएको अनलाइन मिडियाले त झन् सघाइ नै रहेको छ । यसको एउटै उदाहरण काफी छ, लोन्ली प्लानेटको गन्तव्य सूचीमा पोखरा नछुट्नु । यसको नेचर, कल्चर र एडभेञ्चरलाई जोगाइराख्नु, पर्यटकीय गन्तव्यको नयाँ क्षेत्र खोज्नु, उच्च व्यवसायिक दक्षता प्रदर्शन गर्नुृ, अर्गानिक आतिथ्यता बचाई राख्नु र गुणस्तरीयतामा बृद्धि गरी शाख जोगाइराख्नु पोखरेली पर्यटन व्यवसायीको चुनौती हो । (पत्रकारिताबाट)

प्रतिक्रिया दिनुहोस