काठमाडौं । मानिस सिधा उभिन ‘ब्याक बोन’ अर्थात् मेरुदण्डको भूमिका ठुलो हुन्छ । यदी मेरुदण्ड बलियो नभए जीवनमा अघि बढ्न त परे जाओस्, बाँच्न पनि गाह्रो पर्छ । यस्तै दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीको सफल हुनुमा उनकी धर्मपत्नी विद्या भट्टराई मुख्य पात्र हुन् ।
विद्या भट्टराई र रविन्द्र जोडिदाँ उनी पनि लगभग विद्यार्थी राजनीतिको एउटै उचाईमा थिए । विद्याले चाहेको भए अहिले नेकपाकै महिला नेतृत्वको मुठ्ठी भरमा गन्निथिईन् । तर यो सबै छाडेर उनले आफ्नो पतिको सफलताका लागि दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिएकी थिइन् । कास्कीका रविन्द्र र सिन्धुपाल्चोककी विद्या तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ताका रुपमा करिव तीन दशकअघि भेटिएका थिए । संगठनमा रविन्द्र सिनियर थिए । दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरे । ०५५ सालमा बिहे भएपछि रविन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निश्कृय भइन् ।
अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा ध्यान दिइन् । समाजशास्त्रमा एमफील उनी अहिले रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापन गरिरहेकी छन् ।
विद्याले राजनीतिक करिअर अगाडि बढाउन चाहेको भए उनी यतिबेलासम्म सांसद र पार्टी केन्द्रीय सदस्य बनिसक्ने थिइन् । शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रविन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख थिइन् ।
उनी ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी थिइन् । उनीपछि ममता गिरी र रामकुमारी झाँक्री पद्मकन्याको स्ववियु सभापतिका उम्मेवार बनेका थिए । भलै, त्यसबेला त्यो क्याम्पसमा नेविसंघको पकड रह्यो ।
समकालीन भए पनि विद्यार्थी राजनीतिमा विद्या भट्टराई आफूहरुभन्दा एक कार्यकाल अघि नै केन्द्रीय कमिटीमा पुगेको ममता बताउँछिन् । दोस्रो संविधानसभामा तत्कालीन एमालेबाट सभासद र पार्टी केन्द्रीय सदस्य रहेकी ममता अहिले नेकपा केन्द्रीय सदस्य छिन् ।
दुई छोरा जन्मिएको अवधिमा रविन्द्र अधिकारी धमाधम पार्टी राजनीतिको खुटकिला चढिरहेका थिए । अनेरास्ववियुको नेतृत्वबाट पार्टी राजनीतिमा आएसँगै उनले कास्कीको कमाण्ड सम्हाल्न पाएका थिए । त्यो अवस्थामा विद्याले घरपरिवार सम्हालेर उनलाई पूरा समय राजनीतिमा सक्रिय हुन सघाइन् । रविन्द्रले पनि पत्नीलाई अध्ययन र प्राध्यापनमा प्रेरित गरेको रविन्द्र अखिलका अध्यक्ष हुँदाका उपाध्यक्ष शिव गुरुङ बताउँछन् ।
अहिले प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रहेका नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराईकी बहिनी हुन, विद्या भट्टराई । ०५४ सालमा एमाले विभाजन हुँदा राजन एमालेतिर र विद्या मालेतिर लागे । रविन्द्र पनि मालेमै थिए । त्यही समयमा उनीहरुको प्रेम विवाह भएको थियो ।
प्रतिक्रिया दिनुहोस