अस्ताए आशालाग्दा युवानेता, पर्यटनमन्त्री भएपछि रवीन्द्र अधिकारीका मुख्य उपलब्धि

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, ०७ : १३
अस्ताए आशालाग्दा युवानेता, पर्यटनमन्त्री भएपछि रवीन्द्र अधिकारीका मुख्य उपलब्धि

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिक हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबै सातजनाको निधन भएको छ । तेह्रथुमको चौहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा एयर डाइनेस्टी हेली सर्भिसको ‘९एन–एएमआई (एएस ३५०–बी३ई)’ हेलिकोप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख धु्रवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसी छन् ।

चौहानडाँडामा विमानस्थल बन्ने क्षेत्रको निरीक्षणसँगै छोटो कार्यक्रम गरेर मन्त्रीसहितको टोली दर्शनका लागि ताप्लेजुङको पाथिभरा मन्दिर पुगेको थियो । त्यहाँबाट काठमाडौं फर्किने क्रममा केहीबेरमै हेलिकोप्टर दुर्घटनामा परेको हो ।
 यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

पर्यटनमन्त्री भएपछि रवीन्द्र अधिकारीका मुख्य उपलब्धि

१. मन्टियल सन्धि संसद्बाट पास गरी कार्यान्वयनमा ल्याए । यसले अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा नेपालको बिमा २० लाख रुपैयाँबाट डेढ करोडभन्दा माथि पुग्यो ।

२. राष्ट्रिय गौरवका रूपमा घोषित भैरहवा, पोखरा, निजगढ विमानस्थल निर्माणमा तीव्रता, अल्झन फुकाउने काममा उनको सक्रियता विशेष थियो ।

३. उनको कार्यकाल अवधिमा नेपालमा सर्वाधिक पर्यटक नेपाल भित्रिए, सन् २०१८ मा ११ लाख ७३ हजार ३२ जना पर्यटक नेपाल आए ।

४. नेपाल भ्रमण वर्ष २०२० को आधार तयार पार्ने काम गरे । पर्यटन व्यवसायीमा आत्मविश्वास बढाउन उनको ठूलो भूमिका छ ।

५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घन्टा सञ्चालन, त्रिभुवन विमानस्थलको स्तरोन्नतिमा रहेका गाँठा फुकाउन सहजीकरण गरे ।

६. धनगढी र चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान सुरु गरे । आन्तरिक नेपाली वायुसेवा कम्पनीले रात्रिकालीन विमान उपत्यकाबाहिर बस्ने गरी काम सुरु गरे । यसले त्रिभुवन विमानस्थलको चाप घटाउन भूमिका खेलेको छ ।

 -तेह्रथुमको चौहानडाँडामा मन्त्री अधिकारीको १० मिनेट सम्बोधन प्रधानमन्त्रीज्यूको चाहनाबमोजिम नै विमानस्थल निर्माणका लागि अनुगमन गर्न आएको हुँ । यो पाखोमा दुई वर्षपछि विमानस्थल बन्छ, अनि यहीँबाट जहाज चढ्नुहोला ।

-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारी भन्छन्– उडेको १ मिनेटमै दुर्घटना
पाइलटले दिउँसो १ बजे पाथिभराबाट उड्न नसक्ने बताउनुभएको थियो, त्यसपछि कुनै सम्पर्क भएन । उडेको १ मिनेटमै दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
 

-बिहीबार जर्मनी उड्ने तयारीमा थिए मन्त्री अधिकारी
जर्मनीमा २ देखि ५ मार्चसम्म आयोजना हुने युरो–एसियन माउन्टेन टुरिजम कन्फरेन्समा भाग लिन नेपालबाट पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली सहभागी हुने कार्यक्रम थियो । बिहीबार टोली जर्मनी उड्ने तयारीमा थियो । दुर्घटनापछि नेपालबाट सम्मेलनमा जाने कार्यक्रम स्थगित भएको छ ।

-अहिलेसम्म नेपालमा ३२ हेलिकोप्टर दुर्घटना
बुधबार ताप्लेजुङमा भएको दुर्घटनासँगै नेपाली आकाशमा ३२ हेलिकोप्टर दुर्घटना भएका छन् । प्राधिकरणका अनुसार पहिलोपटक २७ डिसेम्बर १९७९ मा लाङटाङमा भएको दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए । नेपालमा अहिलेसम्म हेलिकोप्टर दुर्घटनामा ६५ जनाले ज्यान गुमाएका छन् ।

दरबारलाई चुनौती दिने जोसिला विद्यार्थी नेता
रवीन्द्र अधिकारी पिता इन्द्रप्रसाद र माता लक्ष्मीदेवीको जेठो छोराका रूपमा २२ वैशाख ०२६ मा कास्कीको भरतपोखरी–९ जामुनाबोटमा जन्मिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका अधिकारी १२ वर्षको उमेरमै विद्यार्थी राजनीतिमा होमिएका थिए । ०३८ मा ७ कक्षा पढ्दै गर्दा अनेरास्ववियुमा संगठित भएका उनी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबहरूमा संलग्न थिए । विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शनलगायत माध्यमबाट राजनीतिक जागरण सिर्जना गर्थे । स्कुलेजीवनमा विद्यालयका जेहेनदार, लगनशील, अध्ययनशील र अनुशासित विद्यार्थीका रूपमा परिचित थिए । ०४५ मा अनेरास्ववियु कास्कीको अध्यक्ष, ०४७ मा गण्डकी अञ्चल अध्यक्ष हुँदै अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्वाचित अधिकारी ०४९ मा पृथ्वीनारायण क्याम्पस पोखरा तथा ०५३ मा त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । अनेरास्ववियुको महासचिव हुँदै तत्कालीन मालेनिकट अनेरास्ववियुमा अधिकारी ०५६ मा केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए ।

शाहाज्यादा पारसलाई चुनौती दिने चर्चित विद्यार्थी नेता
दुई दशकभन्दा बढी समय विद्यार्थी आन्दोलनमा बिताएका रवीन्द्र अधिकारी तत्कालीन शाहाज्यादा पारस शाहलाई चुनौती दिएर चर्चामा रहे । शाहको गाडीले ठक्कर दिएर संगीतकार प्रवीण गुरुङको मृत्यु भएपछि उनलाई कारबाहीको माग गर्दै रवीन्द्रको नेतृत्वमा ५ लाख २३ हजार हस्ताक्षर संकलन गरेर राजदरबारमा बुझाइएको थियो ।

त्यस्तै, बहुचर्चित ‘कालापानी मार्च’को समेत नेतृत्व गर्दै अधिकारीले लक्ष्मणपुर बाँधको विरोधमा सीमा सुरक्षा अभियान चलाएका थिए । यातायातलगायत सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिने आन्दोलनको अगुवाइ पनि उनैले गरेका थिए ।

विद्यार्थी आन्दोलन र जेल
०४६ को जनआन्दोलनमा क्रियाशील रवीन्द्रले पञ्चायतकालमा पटक–पटक गरी ६ महिना जेल र हिरासतमा बिताए । ०४६ मा आन्दोलनको केन्द्र पोखरामा उनले क्याम्पस, जिल्ला र संयुक्त आन्दोलन परिचालन कमिटीको संयोजककै हैसियतमा नेतृत्व गरेका थिए । शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरण, प्राविधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षाजस्ता आन्दोलनमा पनि उनले नेतृत्वदायी भूमिका खेलेका थिए ।

सांसद, सभापति हुँदै मन्त्रीको जिम्मेवारी
कास्कीबाट ०६४, ०७० मा संविधानसभा तथा ०७४ प्रतिनिधिसभा सदस्य निर्वाचित रवीन्द्रले आफूलाई राजकीय क्षेत्रमा पनि अब्बल राजनीतिकर्मीका रूपमा स्थापित गरेका थिए । दुई कार्यकाल संविधानसभा सदस्य, संसद् सदस्य, विकास समितिको सभापति बनेका उनी ३ फागुन ०७४ मा बनेको केपी ओली नेतृत्वको सरकारमा संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारीमा पुगे ।

मन्त्रीका रूपमा उनी विमान सेवा विस्तार, विमानस्थल सुधारका साथै २० लाख विदेशी पयर्टक नेपाल भित्र्याउने महत्वकांक्षी योजना पूरा गर्न भिजिट नेपाल–२०२० कार्यान्वयन गर्न क्रियाशील थिए ।

दुईपटक कास्की जिल्ला कमिटी सचिव निर्वाचित उनी अञ्चल कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय पार्टी स्कुल विभाग र संसदीय विभागको सदस्य हुँदै ०७१ मा एमाले केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए । पार्टी एकीकरणपछि उनी नेकपा केन्द्रीय सदस्य मनोनीत भए । उनका ‘संविधानसभा : लोकतन्त्र र पुनर्संरचना’ तथा ‘समृद्ध नेपाल’ दुई पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस