निर्मला हत्या प्रकरण : १०५ दिनमा धर्ना तोड्दै अभिभावक ,न्यायको आन्दोलनमा एकको मृत्यु

पत्रपत्रिकाबाट

शुक्रबार, १० फागुन २०७५, ०७ : ५५
निर्मला हत्या प्रकरण : १०५ दिनमा धर्ना तोड्दै अभिभावक ,न्यायको आन्दोलनमा एकको मृत्यु

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका आमाबाबुले धर्ना तोड्ने भएका छन् । नागरिक संघर्ष समितिको बैठकबाटै शुक्रबार १२ बजे निर्मलाका बाबु यज्ञराज र सौतेनी आमा लक्ष्मीले धर्ना तोड्ने भएका हुन् ।

 उपचारका लागि काठमाडौं जाँदै
यसअघि दुईपटक बिरामी परेर त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराएर फर्किएका यज्ञराजको स्वास्थ्यमा पुनः खराबी आउन थालेपछि धर्ना स्थगित गरिन लागेको हो । निर्मलाकी सौतेनी आमा लक्ष्मीको स्वास्थ्य दिनप्रतिदिन बिग्रन थालेपछि श्रीमान्–श्रीमती उपचारका लागि काठमाडौं जाने भएका हुन् ।

निर्मलाका बाबु यज्ञराजले आफ्नो र कान्छी श्रीमतीको स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने र धर्नामा बस्ने कोही नभएका कारण स्थगित गर्न लागिएको बताए । ‘मलाई माघमै डाक्टरले चेकचाँजका लागि बोलाएका थिए,’ यज्ञराजले भने, ‘पैसा नभएका कारण जान सकिनँ ।’ आफूले सेवन गर्दै आएको औषधि पनि सकिएको उनले बताए । यज्ञराजकी कान्छी श्रीमती लक्ष्मीलाई टाउको दुख्ने, शरीर फुल्नेजस्ता समस्या देखिएको छ । लक्ष्मीले आफ्नो परिवारलाई सरकारले न्याय दिन आलटाल गरेको गुनासो गरिन् । काठमाडौंमा उपचार गराएपछि फर्केर पुनः आन्दोलन थाल्ने उनले जानकारी दिइन् ।

न्यायको आन्दोलनमा एकको मृत्यु  आशंकित कसैको डिएनए मिलेन
प्रहरीले ४ भदौमा सार्वजनिक गरेका ४१ वर्षीय दिलीप विष्टको डिएनए नमिलेपछि घटनाले नयाँ मोड लिएको थियो । निर्दोषलाई फसाउन खोजिएको भन्दै भदौ पहिलो सातादेखि चलेको आन्दोलनमा १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियो । यस्तै, महेन्द्रनगरका १९ वर्षीय अर्जुन भण्डारा, १७ वर्षीय उमेश देउवा, १६ वर्षीय चेतन भट्ट, ४१ वर्षीय चेतराज भट्टलगायत घाइते भएका थिए । भण्डाराको अहिले पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै २० जना बढीको डिएनए परीक्षण गरिसकेको छ, तर कसैको पनि मिलेन ।

निर्मला हत्याबारे सरकारले सहसचिव हरि मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो । प्रहरी प्रधान कार्यालयले प्रहरी अधिकारीबाट भएको कमीकमजोरी पत्ता लगाउन एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन टोली गठन गरेको थियो । विभिन्न छानबिन टोली एवं समिति गठन हुँदा पनि निर्मला हत्याकाण्डको यथोचित प्रमाण फेला परेको छैन । अहिले पनि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सहित प्रदेश र स्थानीय प्रहरी टोली परिचालन गरिएका छन् । कञ्चनपुर प्रहरीका अनुसार निर्मला हत्याकाण्डको अनुसन्धान जारी छ ।

 राहत बुझ्ने विषयले परिवारमै विवाद
निर्मलाको परिवारलाई सरकारले १८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो । जुन विषयले परिवारमै विवाद सिर्जना गरेको थियो । निर्मलाकी आमा दुर्गाले प्रहरीलाई डिएनए परीक्षणका लागि रगतको नमुना दिएपछि र सरकारले घोषणा गरेको राहत बुझ्ने बताएपछि उनीमाथि श्रीमान् यज्ञराजले हातपात गरेका थिए । आफूमाथि कुटपिट भएपछि निर्मलाकी आमा दुर्गा धर्नास्थल आउनसमेत छाडेकी थिइन् ।

 उपचार गरेर फर्केपछि  फेरि आन्दोलन थालिने
नागरिक संघर्ष समिति कञ्चनपुरकी संयोजक मीना भण्डारीको अध्यक्षतामा गत ३ फागुनमा बसेको बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउँदै अनिश्चितकालीन धर्ना तोड्ने निर्णय गरेको थियो । निर्मलाका अभिभावककै आग्रहमा नागरिक समाजले धर्ना तोड्ने निर्णय गरेको प्रवक्ता नरबहादुर साउदले बताए । उनका अनुसार धर्नामा विभिन्न सामान खरिद गरेको २२ हजार तीन सय ४५ रुपैयाँ तिर्न आर्थिक संकलन गर्ने निर्णय भएको छ । कञ्चनपुरकी अधिकारकर्मी शारदा चन्दले सरकारले निर्मलाको परिवारलाई न्याय नदिएपछि धर्ना तोडेर उपचारका लागि काठमाडौं जाने र आएपछि फेरि आन्दोलन हुने बताइन् । ‘सरकारले लाज पचायो, हामीले न्याय पाएनौँ,’ उनले भनिन्, ‘निर्मलाका अभिभावक उपचारका लागि जानेछन् ।’ यो समाचार मोहन विष्टले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस