मन्त्रिपरिषदद्वारा ठेक्का सम्झौता खारेज भएको भोलिपल्ट युटिएललाई ४० करोड पेस्की भुक्तानी

पत्रपत्रिकाबाट

शुक्रबार, १० फागुन २०७५, ०७ : ५१
मन्त्रिपरिषदद्वारा ठेक्का सम्झौता खारेज भएको  भोलिपल्ट युटिएललाई ४० करोड पेस्की भुक्तानी

सरकारले प्रदेश ४ र ५ मा अप्टिकल फाइबर विस्तार गर्न युटिएलसँग भएको सम्झौता खारेज गर्ने निर्णय लिएको भोलिपल्ट नेपाल दूरसञ्चार प्राधिकरणले उसलाई ४० करोड २० लाख भुक्तानी दिएको छ । सम्झौता अवधि सकिनै लाग्दासमेत परियोजनाको काम अगाडि नबढाएको भन्दै सोमबारको मन्त्रिपरिषद् बैठकले युटिएलसँगको सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । तर, प्राधिकरणले मंगलबार परियोजनाको अग्रिम भुक्तानीबापतको रकम युटिएल र उसको संयुक्त उपक्रम कम्पनीका नाममा निकासा गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले युटिएलसँग भएको परियोजनाको काम नेपाल टेलिकमसँग सम्झौता गरी अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको बताए । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक हुनुअघि नै सम्बन्धित निकायलाई पत्राचार हुने गरेको छ । तर, सरकारले निर्णय गरेको भोलिपल्ट सम्झौता खारेज भएको कम्पनीलाई भुक्तानी दिनु ठूलो बदमासी भएको एक सरकारी अधिकारीले बताए ।

ग्रामीण दूरसञ्चार विकास कोषबाट २ अर्ब १ करोड अनुदानमा प्रदेश ४ र ५ मा अप्टिकल फाइबर विस्तार गर्ने गरी प्राधिकरणले १४ वैशाख ०७४ मा युटिएलसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार युटिएलले १४ वैशाख ०७६ भित्र गोरखाको आरुघाटदेखि बाग्लुङको बुर्तिबाङसम्मको मध्यपहाडी लोकमार्ग तथा प्रदेश ४ र ५ मा पर्ने २१ जिल्लामा दूरसञ्चार पूर्वाधार निर्माण गरिसक्नुपर्ने थियो । तर, परियोजनाको काम अगाडि बढाउनुको साटो युटिएलले संयुक्त लगानीको कम्पनीमार्फत काम गर्ने भन्दै ठेक्का नै बिक्री गरेको थियो । यो समाचार गाेपाल साउदले नयाँ पत्रिकामा लेखेका छन् ।

संसदीय समितिको निर्देशनविपरीत भुक्तानी
संसद्को अर्थ समितिले सरकारलाई तिर्नुपर्ने बक्यौता चुक्ता नगर्ने दूरसञ्चार कम्पनीहरूलाई थप सुविधा र पुँजी वृद्धिलगायतका सेवा विस्तार अनुमतिसमेत नदिन प्राधिकरणलाई निर्देशन दिएको थियो । एक महिनाभित्र बक्यौता असुल गर्न, सो अवधिमा समेत रकम नबुझाए सरकारी बाँकीसरह असुलउपर गर्न र अनुमतिपत्र रद्द गर्नेसम्मको कारबाही प्रक्रियासमेत अगाडि बढाउन समितिले भनेको थियो । युटिएलले सरकारलाई ८० करोड रुपैयाँभन्दा बढी बक्यौता बुझाउन बाँकी छ । तर, त्यसरी बक्यौता नै नतिर्ने कम्पनीलाई खारेजीको प्रक्रियामा लैजानुको साटो प्राधिकरणले उल्टै ४० करोड रकम भुक्तानी गरेको हो ।

रकम भुक्तानी गर्न सर्वोच्चको आदेश
केही समयअघि सर्वोच्च अदालतले युटिएलको संयुक्त उपक्रम कम्पनी टेलिइन्फ्रालाई परियोजनाको अग्रिम भुक्तानी दिन प्राधिकरणका नाममा आदेश दिएको थियो । नियामक दूरसञ्चार प्राधिकरणबाट कोषअन्तर्गतको अनुदान परियोजनामा त्रुटिपूर्ण रूपमा दिइएको जेभी अनुमतिलाई आधार मान्दै उच्च अदालत पाटनले १० वैशाखमा संयुक्त उपक्रमका नाममा युटिएलको ठेक्का बिक्रीलाई वैधानिकता दिएको थियो । उच्च अदालतको उक्त आदेश खारेजीको माग गर्दै प्राधिकरणले १७ असारमा सर्वोच्चमा भ्याकेट दर्ता गरेको थियो । त्यसउपर सुनुवाइ गर्दै हालका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र विमलकुमार श्रेष्ठको संयुक्त इजलासले २९ भदौमा प्राधिकरणको भ्याकेट खारेज गरेको थियो ।

दूरसञ्चार ऐन २०५३ को दफा ३० को उपदफा ६ मा ग्रामीण दूरसञ्चार विकास कोषबाट दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालन गर्न प्राधिकरणले कुनै अनुमतिपत्र प्राप्त भएको व्यक्तिलाई तोक्न सक्ने स्पष्ट व्यवस्था गरेको छ । प्राधिकरणसँगको परियोजना सम्झौताअघि नै अनुमतिपत्र लिइसकेका कम्पनीहरूले मात्रै आपसमा मिलेर संयुक्त रूपमा (जेभी) परियोजना निर्माण गर्न सक्ने आरटिडिएफअन्तर्गतका परियोजनाका लागि तयार पारिएको बोलपत्र आह्वानसम्बन्धी प्रतिवेदन (आरएफए) मा स्पष्ट उल्लेख छ । तर, ऐनमा भएको व्यवस्थाविपरीत लाइसेन्स नै नलिएको कम्पनीलाई आरटिडिएफको काम गर्न पाउने आदेश नै त्रुटिपूर्ण देखिएको छ ।

बोलपत्रअनुसारको परियोजना निर्माणका लागि प्राधिकरण र युटिएलबीच १४ वैशाख ०७४ मा सम्झौता भएको थियो । युटिएलले २ मंसिर ०७४ मा नेपाल इन्फ्रासँग संयुक्त लगानी (जेभी) गरी काम गर्ने भन्दै त्यसको स्वीकृतिका लागि अनुमति माग गरेको थियो । जब कि युटिएलले ठेक्का पाएको वेला नेपाल इन्फ्राले प्राधिकरणसँग कुनै पनि किसिमको अनुमतिपत्र लिएको थिएन । ठेक्का पाएको पाँच महिनापछि मात्रै २५ असोज ०७४ मा उसले नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र लिएको थियो ।

त्यसरी अनुमतिपत्र नै नलिएको कम्पनीसँग जेभी गर्ने युटिएलको प्रयास आफँैमा परियोजनासम्बन्धी बोलपत्र प्रतिवेदन तथा सार्वजनिक खरिद ऐनविपरीत थियो । तर, प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाको निर्देशनमा प्राधिकरणअन्तर्गत कोष परियोजना शाखाका अच्युतानन्द मिश्रले युटिएललाई संयुक्त उपक्रमको रूपमा परियोजना अगाडि बढाउन सहमतिको पत्र थमाए । तर, पछि आएर प्राधिकरणले उपक्रमका रूपमा परियोजना अगाडि बढाउन नमिल्ने भन्दै परियोजनाको अग्रिम भुक्तानी रोकेको थियो ।

उच्च अदालतले प्राधिकरणको त्रुटिको फाइदा उठाउँदै टेलिइन्फ्राले दायर गरेको रिटकै पक्षमा आदेश जारी गरेको थियो । उच्च अदालतको आदेशलाई सदर गर्ने गरी सर्वोच्चले गरेको फैसला कार्यान्वयनका लागि फैसला कार्यान्वयन निर्देशनालयले पछिल्लो समय प्राधिकरणलाई निरन्तर ताकेता गर्दै आएको थियो । निर्देशनालयले पछिल्लो समय सात दिनभित्र फैसलाअनुसार युटिएलको उपक्रम कम्पनीलाई भुक्तानी दिन भन्दै प्राधिकरणलाई निर्देशन दिएको थियो ।

अदालतको मानहानिबाट बच्न प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले बाध्य भएर परियोजनाका लागि अग्रिम भुक्तानीबापत २० प्रतिशत रकम निकासा गरेको प्राधिकरणले जनाएको छ । युटिएल तथा यसको जेभीले ठेक्का सम्झौता हुँदा पर्फमेन्स ग्यारेन्टीबापत १० करोड ५ लाख र मंगलवार नै अग्रिम भुक्तानी लिन ४० करोड २० लाखको बैंक ग्यारेन्टी बुझाएको थियो ।

जानकारी नभएर भुक्तानी दिइएको होला : गोकुल बाँस्कोटा
सञ्चारमन्त्री

सरकारले गरेको निर्णय जानकारी नभएर भुक्तानी दिइएको होला । तर, युटिएलले ठेक्कामा पर्फर्मेन्स ग्यारेन्टी राखेको छ । सम्झौता खारेज भएको अवस्थामा सरकारले त्यसबाट पनि पैसा उठाउन सक्छ । सरकारले गरेको निर्णय कार्यान्वयन हुन्छ ।

अदालतको आदेशअनुसार भुक्तानी दिइएको हो
पुरुषोत्तम खनाल, कार्यबाहक अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण

सर्वोच्च अदालतको निर्देशनअनुसार नै रकम भुक्तानी गरिएको हो । तर, सम्झौता खारेज गर्ने गरी सरकारले निर्णय गरेको कुरा अनौपचारिक माध्यमबाट आज मात्रै थाहा पाएको हुँ । बैंक ग्यारेन्टीका आधारमा २० प्रतिशत अग्रिम भुक्तानी दिइएकाले सम्झौता खारेज भएको अवस्थामा पनि खासै समस्या पर्दैन । सरकारले सम्झौता रद्द गर्ने निर्णय गरेको भए अब उसले जे निर्देशन दिन्छ, सोहीअनुसार अघि बढ्छौँ ।

प्रतिक्रिया दिनुहोस