कोदालोले खनेरै सडक

पत्रपत्रिकाबाट

विहीबार, ०९ फागुन २०७५, ०७ : ५०

रोल्पा । सरकारले करोडभन्दा कमका योजनामा डोजर लगाउन नपाइने निर्णय गरेको छ। यो निर्णयअघि नै रोल्पा हाङवाङ, गोलवाङ र गुन्थालवासीले आफैंले खनेर गाउँमा मोटरबाटो पुर्‍याएका छन्। 
गाउँलेको पहलमा गाउँमा मोटरबाटो मात्रै पुगेन, स्थानीयले राम्रो ज्यालासमेत पाए। रोल्पा नगरपालिका–९ हाङबाङ, गोलबाङ र गुन्थालवासीले कोदालोले खनेर गाउँमा सडक पुर्‍याएका हुन्। कुटो, कोदालो, साबेल र बेल्चाले पहाडको भित्ता खनेर गाउँमा बाटो पुर्‍याएपछि गाउँले दंग परेका छन्।
सदरमुकाम लिबाङ–ह्वामा लिउन सडकखण्डको चंकुपासाबाट गाउँलेले सडक खनेका हुन्। सडक खनेबापत ज्याला पाएपछि उनीहरूमा झन् उत्साह थपिएको छ। घरेलु हतियार प्रयोग गरी खनेरै गाउँलेले ३ किलोमिटर ७ सय मिटर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष कमल बुढामगरले जानकारी दिए।  

जहाँतहीँ डोजरले सडक खनिरहेका बेला यहाँका बासिन्दा भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सडक खन्न व्यस्त हुन्थे। ‘गाउँमा सडक ल्याउन बच्चा बोकेरै खनियो’, हाङबाङकी २५ वर्षीया राधा बुढाले भनिन्, ‘गाउँको विकास पनि हुने, ज्याला पनि पाइने भएपछि सबै गाउँलेले हौसिँदै सडक खनेका हौं।  ’ गाउँका प्रायः सबै जना दिनहुँ सडक खन्न आएका थिए।  

६१ वर्षीया बागमती घर्तीमगर पनि सडक खन्न गइन्। घर र गाईवस्तुको हेरचाह गर्न पतिलाई जिम्मा दिएर पहाड खन्न गएको उनले सुनाइन्। सडक खनेको पैसाले घरव्यवहार चलाउन सजिलो भएको उनले बताइन्। ‘छोराछोरीको कापी, कलम र ड्रेस किन्न सहज भयो’, उनले भनिन्।  

सडक खनेर पाएको ज्यालाको सदुपयोग गरेकामा दंग पर्दै ४० वर्षीय संगीता बुढामगर भन्छिन्, ‘बचेको पैसाले ३ वटा बाख्रा किनेर पालेकी छु।  ’ १ सय ३ घरधुरी रहेको हाङबाङ, गोलबाङ र गुनथालवासीले ५० हजारदेखि १ लाखसम्म कमाए। सडक निर्माण उपभोक्ता समितिले प्रत्येक घरबाट एक जना अनिवार्य हुनुपर्ने उर्दी लगाएको थियो। घरको ढिँडो सिस्नो खाएर ज्यालामा सडक खन्न पाएपछि कतिपय घरबाट ३/४ जनासमेत आए। गाउँलेले यो सडक खण्डको नाम ‘रिस्बाङ–हाङबाङ–उपल्लो सहिद मोटर बाटो’ राखेका छन्।  author-image अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस