निकास पाउला त मृत्यु मार्गले

सोमबार, २८ माघ २०७५, १३ : ३९
निकास पाउला त मृत्यु मार्गले

बुटवल । बुटवल–पाल्पा सडक खण्ड मृत्यु मार्गको रूपमा चिनिन्छ । यो सडकको निकासको लक्षण देखिएको छ । शिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग बनाउनका लागि भौगर्विक सर्भे सुरू भएसँगै ढिलै भए पनि यो सडकको निकास देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरूङ मार्ग बनाउन पूर्व ‘जियोलोजिकल’ सर्भे थालेको हो । चट्टानको परीक्षण गर्न प्लानेट नेपालले गरिरहेको छ । 
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तल्लो शिद्धबाबादेखि दोभानसम्म झण्डै ३ किलोमिटर सडक अति जोमिखपूर्ण छ । शिद्धबाबा क्षेत्रमा सरकारले सुरूङ मार्ग बनाउने बताउँदै आएको थियो । सोही कामको पहिलो चरण त्यहाँको चट्टान र भौगोलिक अवस्थाको काम थालिएको हो । 
सडकमा हिउँद वा वर्ष जुनसुकै समय चट्टान खसेर प्रत्येक वर्ष यात्रुको मृत्यु हुने गरेको छ ।  प्लानेट टेस्ट प्रालिका जियोटेक्निकल इन्जिनियर दिवाकर ढकाल ६ ठाउँमा ड्रील गरेर चट्टान निकालिएको त्यसको अवस्था परीक्षण गरिएको बताउनुहन्छ  । ‘शुक्रबारदेखि अध्ययन सुरु गरिएको हो । चट्टानमा प्याल पारेर १ सय १५ मिटर भित्रसम्मको अवस्थाको परीक्षण गरिरहेका छौं । भाइब्रेसन दिएर चट्टानको क्षमता परीक्षण गर्ने काम पनि गरिरहेका छौं,’ ढकालले भन्नुभयो । 
अध्ययनका लागि १५ जना टोलीले काम गरिरहेको छ । त्यहाँको नमूना स्वीजरल्याण्ड लागिने र त्यहाँ अध्ययन भएपछि मात्र सुरूङ मार्गका लागि त्यहाँको भौगोलिक अवस्था उपयुक्त छ वा छैन जानकारी हुनेछ । हालसम्मको करीब ८५ प्रतिशत अध्ययनबाट उक्त क्षेत्रको जमिनमा डेढ मिटर गहिराइसम्म माटो तथा त्यसभन्दा तल स्याण्ड स्ट्रोन र मड स्ट्रोनको मिश्रण भेटिएको इन्जिनियर ढकालले बताउनुभयो ।
प्लानेटका प्रबन्ध निर्देशक दिवाकर खड्काका अनुसार सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडिया खोलाको छेउबाट सरू हुनेछ । चिडिया खोलाको सुरुङ प्रवेशद्वारमा करिब २० मिटर सिधा प्वाल पारेर चट्टान निकालिएको छ । दोभान नजिकै रामापिथेकपार्कको उत्तरतर्फ ९० मिटरको ६० डिग्री कोणमा प्वाल पारिएको छ । चट्टानको चुचुरो र सडकबीच भागमा समेत प्वाल पारेर चट्टान निकालिएको छ ।
पाल्पाको सिद्धबाबा सडक खण्डमा पछिल्लो ५ वर्षमा भएको दुर्घटनामा करीब ६० जनाको मृत्यु भएको छ । जुनसुकै समयमा पनि चट्टान खस्ने समस्याले सिद्धबाबा सडक असुरक्षित छ । पाल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य तुलबहादुर घर्तीले सुरुङमार्ग निर्माणको विकल्प नभएको बताउनुभयो  । ‘यो सडक मृत्यु मार्ग बनेको छ । तर समयमा ध्यान पुग्न सकेन, अब ढिलाइ गर्नु हुँदैन,’ उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस