संविधान संशोधन गर्दै मधेसी जनताको अधिकारलाई सुनिश्चित गर्नेछौँ : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, २८ माघ २०७५, १३ : २८
संविधान संशोधन गर्दै मधेसी जनताको अधिकारलाई सुनिश्चित गर्नेछौँ : अध्यक्ष प्रचण्ड

सिरहा l पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्दै मधेसी जनताको अधिकारलाई सुनिश्चित गरिने बताउनु भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर एक महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

‘संविधान संशोधन गर्दै मधेसी जनताको हक, अधिकारलाई सुनिश्चित गर्नेछौँ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सिरहा जिल्ला र यस क्षेत्रका जनताको हितको निम्ति मेरो प्रयास निरन्तर जारी रहने छ । मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको पक्षमा लगातार पहल गरिरहेको छु । संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर केपी ओली मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं ।’

नागरिकताको समस्या सदाको निम्ति अन्त्य गर्ने हिसाबले छलफल गरेको जानकारी गराउँदै उहाँले जन्मसिद्ध नागरिकले नागरिकता नपाउने समस्या अब नरहने बताउनु भयो । ‘नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ उहाँले भन्नुभयो, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’

सिँचाई र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको उहाँको भनाइ थियो । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहने छ । सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो । यहाँको आँपको माग विश्वभरि नै छ । सिरहालाई आँपको जोनको रुपमा विकास गर्न पहल गर्नेछु ।’

धानखेतीमा पनि सिरहा उर्वर जिल्ला रहेको बताउँदै उहाँले यसलाई धानको सुपरजोनको रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने वचनवद्धता प्रकट गर्नुभयो । ‘अहिलेको संविधानले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारका रुपमा राखेको छ’ उहाँले भन्नुभयो, ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रकृया सुरु गरेको छ । उपचार नपाएर गरिबीको कारण अब कोही मर्नु पर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ । नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’

पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा हाम्रो पार्टीको र सरकारको ध्यान गम्भीर रुपमा रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्नुहोस्’ उहाँले भन्नुभयो, ‘मधेसको विकास गरेरमात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस