‘भद्दा कमेन्टले जिमखाना पुर्‍यायो’

सोमबार, २१ माघ २०७५, ०८ : ५६
‘भद्दा कमेन्टले जिमखाना पुर्‍यायो’

अभिनेत्री बेनिसा हमालले फिल्म ‘स्वर’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन्। ‘ज्यान हाजिर छ’, ‘महसुस’, ‘मोक्ष’ लगायत फिल्ममा उनले काम गरेकी छिन्। फिल्म ‘ब्लाइन्ड रक्स’ मा उनको अभिनयको प्रशंसा भएको थियो।

पछिल्लो समय उनी ‘फिटनेस कन्सस’ भएकी छिन्। बेला–बेलामा उनले आफ्नो इन्स्टाग्राममा एक्सरसाइज गरिरहेका तस्बिर पोस्ट गर्ने गरेकी छिन्। आफ्नो घरनजिकको ‘सनसिटी अपार्टमेन्ट’ फिटनेस क्लबमा अभ्यास गर्न जाने उनी बताउँछिन्। बेनिसाले आफ्नो फिटनेस अनुभव अन्नपूर्ण सम्पूर्णका (‘भद्दा कमेन्टले जिमखाना पुर्‍यायो’) लागि आशक्ति फुयालसँग बाँडेकी छिन्।

कमेन्टले डोर्‍यायो जिमतिर
एउटा म्युजिक भिडियोका लागि मोडलिङ गरेकी थिएँ। भिडियो रिलिज भएपछि युट्युबमा धेरैले ‘यस्तो पनि मोडल हुन्छ ?’ ‘फिगर राम्रो छैन’, ‘बडी सेप मिलेको छैन’ जस्ता कमेन्ट गरेका थिए। कतिले त भद्दा कमेन्ट पनि गरेका थिए। ती कमेन्ट पढेर एकदमै पिर पर्‍यो। आफूलाई पनि भिडियोमा मोटी देखिएकी छु जस्तो लाग्यो। ‘ल, अब भएन, जसरी भए नि जिम जानुपर्‍यो’ भनेर जिम जान थालेँ। दुई वर्षयता जिम धाइरहेकी छु। जिम जानुअघि मेरो वजन ५५ केजी थियो। अहिले पनि ५५ केजी नै छ। वजन घटाउनभन्दा पनि फिट हुनका लागि जिम गएकी हुँ। अहिले मेरो ज्यान कसिलो भएको छ। शारीरिक बनावट मिलेको छ।

जिममा पहिलो दिन
जिम जानुअघि घरमै योगको भिडियो हेरेर विभिन्न आसन गर्थें। तर, जिम गएपछि  नयाँ–नयाँ कसरत सिकेँ। पहिला जिम भन्नेबित्तिकै केटाहरूका लागि मात्र हो, केटीहरूका लागि होइन भन्ने सोच्थेँ। शरीरको वजन घटाउनका लागि हो भन्ने लाग्थ्यो। तर, मेरो सोच गलत रहेछ। जिममा केटाकेटी जो पनि जान सक्छन्। वजन घटाउन मात्र होइन, शरीर फिट बनाउनका लागि पनि जिम जानुपर्छ।

जिमका पहिलो दिन त साह्रै गाह्रो भयो। असिनपसिन भएँ। जीउ दुखेर हैरान भयो। गाह्रो भएर अबदेखि आउँदिनँ भन्ने पनि लाग्यो। तर, फेरि ती कमेन्ट सम्झिएँ। जिम नगई जीउ सुडौल बनाउन सकिन्न भनेर त्यहाँ धाइरहेँ।

सिक्स प्याकको रहर
मलाई सिक्स प्याक बनाउने रहर छ। त्यसका लागि दिनको दुई घण्टा स्वाँस्वाँ गर्दै एक्सरसाइज गर्छु। भरसक दिनहुँ जिम जाने कोसिस गर्छु। कहिलेकाहीँ सुटिङमा व्यस्त हुँदा भ्याइँदैन। त्यसैले आफ्नो सिक्स प्याकको सपना पूरा गर्न पाएकी छैन। पहिला त अलि–अलि प्याक देखिन थालेको थियो। काममा व्यस्त भएपछि व्यायाम गर्न पाइनँ। जिम पनि गइनँ। त्यसैले देखिएको अलि–अलि प्याक पनि हरायो।

२४ घण्टामा दुई घण्टा मैले जिमका लागि छुट्याएकी छु। कहिलेकाहीँ व्यस्त हुँदा जिम गइँदैन। सातामा दुई–तीन दिन चाहिँ नछुटाई जिम जान्छु। जिम बिहान र बेलुका मात्र खुल्ने भएकाले पनि अप्ठ्यारो भएको हो। दिनभरि खुला हुने भए त जतिखेर पनि जान सकिन्थ्यो। आफू दिनमा फुर्सदिलो भइन्छ, जिम बिहान–बेलुका मात्र खुल्छ।

मेरो डाइट
खानपिनको सोखिन हुँ। जिम जान थालेपछि खानपानमा नियन्त्रण गर्नुपर्‍यो। जो गर्न मलाई साह्रै गाह्रो भयो। आइसक्रिम, चकलेट भनेपछि भुतुक्कै हुन्छु। तर, फिटनेसका लागि आइसक्रिम, चकलेटबाट टाढिन परेको छ। अहिले खानपिनमा एकदमै ध्यान दिन्छु। बिहान जिममा वर्कआट गर्नुअघि केही न केही खाएर जाने गर्छु। खाली पेटमा एक्सरसाइज गर्न गाह्रो हुन्छ।

बिहान जौको सातु, स्याउ, भिजाएको चना, अण्डा, रोटी, ओट्स, ड्राई फ्रुट्स, जुस आदिमध्ये केही खान्छु। फलफूल खान कहिल्यै छुटाउँदिनँ। चामल, नुन, चिनी सकेसम्म खाँदिनँ। ब्राउन राइस र सेतो चामल मिक्स गरेर हप्तामा एक–दुई पटक खाने गर्छु। रातिको खाना घरमै खान्छु। राति हल्काफुल्का खाना खान्छु। स्वस्थ रहन मासु उसिनेर खान्छु। कहिलेकाहीँ बाहिर घुम्न जाँदा आफूलाई मन परेको जे पनि खाइदिन्छु। ‘स्ट्रिक्ट डाइट’ मा बस्न अलि गाह्रो हुन्छ। दिनमा तीन–चार लिटरसम्म पानी खान्छु।

कलाकारका लागि जिम
कलाकार भएपछि दर्शकले जसरी रुचाउँछन्, त्यसै रूपमा आफूलाई प्रस्तुत गर्नुपर्छ जस्तो मलाई लाग्छ। सेलिब्रिटीलाई सबैले नोटिस गर्छन्। पहिला धेरैले मेरो शारीरिक बनावटकै कारण नराम्रो प्रतिक्रिया दिने गरेका थिए। अहिले तिनै मानिसले मेरो ज्यानको प्रशंसा गर्न थालेका छन्। अरूबाट आफ्नो तारिफ सुन्दा खुशी लाग्छ।

अभ्यासले मानिसलाई स्वस्थ त बनाउँछ नै, छालालाई कसिलो राख्न पनि मद्दत गर्छ। छाला कसिलो भएपछि मानिस यसै सुन्दर देखिन्छ। नियमित व्यायामले शरीरलाई सक्रिय बनाउँछ। त्यसैले कलाकारिता क्षेत्रमा आबद्ध हुने मानिसका लागि जिम, फिटनेस क्लब जानु राम्रो हुन्छ।

कलाकारका लागि मात्र नभई हरेक मानिसका लागि व्यायाम गर्नु राम्रो हो। अभ्यास गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ। व्यायामले शरीरलाई बलियो र फुर्तिलो बनाउँछ। खानाजस्तै व्यायाम पनि स्वस्थ जीवनका लागि आवश्यक छ। कसरतले शारीरिक मात्र नभई मानसिक रूपमा पनि मानिसलाई बलियो बनाउँछ। खानपिनमा ध्यान दिएर, नियमित व्यायाम गरेर अहिले म फिट छु।-अन्नपूर्ण पोस्

प्रतिक्रिया दिनुहोस