खानाको सौखिन मलिना जोशी

शनिबार, १९ माघ २०७५, १९ : २५
खानाको सौखिन  मलिना जोशी

 जिममा नयाँ छु
मैले नियमित व्यायाम गर्न थालेको तीन महिना भयो । त्योभन्दा अघि सामान्य योगा मात्रै गर्थेँ । तर, तीन महिनायता जिममा नै गएर व्यायाम गर्न थालेकी छु । कामको व्यस्तताले समय निश्चित छैन, तर व्यायाम नियमित छ ।  अहिले ‘द फिजिक वर्कसप’मा नियमित व्यायाम गरिरहेकी छु । यो जिम सेन्टरको प्रमोटर पनि भएकाले जिममा जानैपर्ने हुन्छ ।

यसका चारवटा ब्रान्च छन् । त्यसमध्ये मलाई जहाँ सहज पर्छ, त्यहीँ गएर जिम गर्न पाउने भएकाले जसरी पनि समय निकाल्ने गरेकी छु । दिनमा एकपटक जिममा पुग्छु, बिहान, दिउँसो, साँझ जतिवेला समय मिल्छ त्यहीवेला

चार किलोमिटर हिँड्छु
नियमित व्यायामसँगै हिँड्ने पनि गरेकी छु । घरनजिकै ठमेल पर्ने भएकाले घुम्न निस्कन्छु । कम्तीमा पनि दैनिक चार किलोमिटर अनिवार्य हिँड्ने गर्छु । घुम्न भनेर बिस्तारै हिँड्दिनँ, एकदम फटाफट हिँड्छु । त्यसले मेरो खुट्टा बलियो बनाएको छ ।

 साथीसँगै अभ्यास
मलाई जिममा कसरी व्यायाम गर्ने थाहा थिएन । सुरुवातमा जिमका सञ्चालक सुशान्त प्रधानसँगै व्यायाम गरेँ । उहाँले व्यायाम गरेको हेरेर म पनि गर्छु । उहाँजत्तिको कडा अवश्य गर्दिनँ, केही कम वेट उचाल्ने गर्छु । उहाँले सिकाउनु पनि हुन्छ । बानी परेपछि जिम नगरी नसकिने रहेछ भन्ने लागेको छ । पहिलेको तुलनामा मानसिक तथा शारीरिक रूपमा एकदम स्फूर्ति महसुस गरिरहेकी छु । केही दिन छुटे पनि नियमित जान थालेपछि पुनः मेन्टेन हुँदो रहेछ ।

 खानाबारे गलत बुझाइ थियो
जिम जानुअघि खानाबारे गलत बुझाइ थियो । घट्न अथवा मेन्टेन रहनका लागि खाना नखाने अथवा खानामा एकदम धेरै कन्ट्रोल गर्नुपर्छ भन्ने बुझाइ थियो । आफूलाई मेन्टेन गर्नका लागि कति समय भोक लागेर पनि खाने गरेकी थिइनँ । म फुडी भएकाले एकदम गाह्रो हुन्थ्यो । त्यो भ्रम रहेछ, गलत बुझाइ रहेछ भन्ने महसुस भयो । अहिले त्यसबाट मुक्त भएकी छु ।

 खानाको सन्तुलन छ, तालिका छैन
जिम जान थालेपछि खानाको सन्तुलन छ । पौष्टिक तत्व  मिलाएर खाना खाने गरेकी छु । पहिले भातले मोटाइन्छ भनेर खान मन लागे पनि खाने गरेकी थिइनँ । तर, आजभोलि पहिलेभन्दा खाना र तरकारी बढी खान्छु । सबै मात्रा मिलाएर खान थालेकी छु । त्यसले फाइदा पुगेको छ । मन लागेको खानेकुरा ब्यालेन्स राखेर खान जानेकी छु । खानै नखाने बानी छुटेको छ । तैपनि, खानाको निश्चित तालिकाचाहिँ छैन ।

यो समयमा यो खाने, त्यो खाने भन्नेचाहिँ छैन । उपलब्ध भएअनुसारको समय मिलाएर खान्छु । सुटिङमा हिँडिरहनुपर्ने भएकाले तालिका बनाएर खाना खाने सम्भावना कम हुन्छ । स्वस्थ र पौष्टिक खाना खाने बानी परेको छ । झोलामा खानेकुरा बोकेर हिँड्छु । खाना नपाउँदा फलफूलले चलाउँछु ।

मन परेको खाना खान पायो भने आनन्द लाग्छ । तर, शरीर ‘मेन्टेन’ गर्न कहिलेकाहीँ भोकै पनि बस्थेँ, त्यो गलत रहेछ । मन परेको खानेकुरा खानुपर्छ, तर ठिक्क मात्रामा । तितौरा होस् कि मासु, रेस्टुरेन्टमा होस् कि घरमा, ब्यालेन्स मिलाएर खाने भएकाले फिट छु ।

 चिकेन एकदम मन पर्छ
म ननभेज हुँ । चिकेन, मटन सबै खान्छु । तर, मलाई चिकेन एकदम मन पर्छ । मटन खासै खाँदिनँ । प्रायः चिकेन खाने गरेकी छु । तारेको चिकेन पनि हेल्थलाई ध्यानमा राखेर ठिक्कसँग खान्छु । एकदिन अलि बढी खायो भने अर्को दिन थोरै खानुपर्छ । त्यसरी नै ब्यालेन्स गर्दै आएकी छु ।

 तितौरा प्रायः खान्छु
अमिलो–पिरो खाँदैमा स्वास्थ्यमा असर गर्छ भन्ने होइन । खानाको मात्राले फरक पार्छ । मलाई तितौरा एकदम मन पर्छ । खान्छु, खाइरहन्छु, तर दैनिक रूपमा खान्नँ । हप्तामा एकपटक खान्छु । अन्य खानेकुरा पनि त्यस्तै हो । जे चिज पनि दैनिक खान मन लाग्दैन । मिलाएर खानुपर्छ ।

 आठ घन्टा सुत्छु
धेरै समय व्यस्त हुन्छु । स्वस्थ रहनका लागि निद्रा पुग्न जरुरी हुन्छ । मेरो सुत्ने र उठ्ने समय निश्चित हुँदैन । तर, जतिवेला सुते पनि आठ घन्टाचाहिँ सुत्ने गरेकी छु । कुनै दिन थोरै समय सुते पनि अर्को दिन निद्रा पुग्ने गरी सुत्ने कोसिस गर्छु । निद्रा पुगेपछि स्वतः शरीरमा स्फूर्ति आउँछ ।

 पानी पिउने बानी छैन
मेरो नराम्रो बानीमध्ये पानी नपिउने पनि हो । कम्तीमा पनि दैैनिक तीन लिटर पानी पिउनुपर्छ भनिन्छ, तर म कत्ति पनि पिउँदिनँ । बढीमा डेढ लिटर पिउँछु होला । यो बानी सुधार्नु छ । अब जिम जाने बानीजस्तै पानी पिउने बानीलाई पनि नियमित बनाउनु छ, बनाउँछु ।

 समस्या पर्दा मात्रै  स्वास्थ्य जाँच गर्छु
स्वास्थ्य जाँच गर्नका लागि भनेर डाक्टरकहाँ जाने गरेकी छैन । समस्या भयो भने मात्रै जान्छु । मेरो छालासम्बन्धी समस्याले गर्दा त्यसको जाँच गर्न जाने गरेकी छु । चिसोको एलर्जी भएकाले चिसोबाट जोगिनुपर्छ । औषधि नै खान्छु, जाडो मौसममा । तर, नियमित रूपमा स्वास्थ्य जाँच गराउने बानी छैन । महिनावारी हुँदा पेट एकदम धेरै दुख्छ । त्यस्तो वेला ‘पेनकिलर’ नै खान्छु । अरू स्वास्थ्य समस्या छैन । नहोस् भनेर सचेत छु । त्यसैले नियमित व्यायाम गरिरहेकी छु ।

 रेस्टुरेन्ट जाँदा खुसी हुन्छु
मनोरञ्जनका लागि फिल्म हेर्छु, घुम्छु । त्योभन्दा पनि बढी खुसीचाहिँ रेस्टुरेन्टमा खान पाउँदा हुन्छ । म एकदम फुडी छु । त्यसैले खान पाउँदा खुसी लाग्ने नै भयो । चिकेन, राज्मा, जापानिज फुड, रसमलाई धेरै मन पर्छ, खान्छु पनि । नयाँ–नयाँ खाना खाने रुचि हुँदैन, मन परेकै खानेकुरा खाने हो । मेरो मनोरञ्जनको सबैभन्दा उत्तम उपाय हो– मन परेको खानु । म हिन्दी फिल्म एकदम हेर्छु । आफ्नो क्षेत्र पनि फिल्म नै भएकाले रमाइलोका लागि मात्रै नभएर सिक्नका लागि पनि हेर्छु । अर्को, घुमघाम मन पर्छ । धेरै बोर लाग्यो कि समय निकालेर नजिकको रमणीय ठाउँ घुम्न निस्किहाल्छु ।

 क्यामेरामोहले फिट छु
म अहिलेसम्म फिट छु । शारीरिक एवं मानसिक रूपमा आफूलाई एकदम फिट पाउँछु । म फिट हुनुको कारण क्यामेरामोह होला जस्तो लाग्छ । यदि मलाई क्यामेराअगाडि आउने रहर नहुने हो भने त आफ्नो फिट्नेसबारे यत्ति धेरै सजग हुन्नथेँ होला । त्यही रहरकै कारण मैले यो सबै गरिरहेकी छु  जस्तो लाग्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस